हङकङमा किन बन्दै छन् एककाेठे अपार्टमेन्ट?

हङकङमा किन बन्दै छन् एककाेठे अपार्टमेन्ट?

म्याक्स ली उनकाे अपार्टमेन्टमा। तस्बिर : ब्लुमबर्ग


नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार १२:८, काठमाडौँ

२६ वर्षीय म्याक्स ली हङकङको एउटा मात्र कोठा भएको अपार्टमेन्टमा बस्छन्। 

उनको कोठा त्यति ठूलो छैन। एउटा खाट। सामान्य आवतजावत गर्न मात्र मिल्ने ठाउँ । 

लीका लागि यो पर्याप्त पक्कै छैन। तर कोठामा उनी सुत्ने, पढ्ने र टेलिभिजन हेर्ने मात्र होइन, ल्यापटपमा पनि व्यस्त हुन्छन्। 

त्यसको लागि उनले एउटा सानो टेबल पनि राखेका छन्। ली बस्ने अपार्टमेन्ट केवल २२० वर्ग फिटको छ। हङकङको निकै व्यस्त स्थानमा भएकाले उनले यो अपार्टमेन्ट लिएका थिए। 

उनी भन्छन्, ‘एक्लै बस्नको लागि यो अपार्टमेन्ट ठीक छ, तर जब मेरी प्रेमिका आउँछिन्, यो ठाउँ निकै सानोजस्तो हुन्छ।’ 

ली बस्ने ठाउँ निकै सानो छ तर यस किसिमको अपार्टमेन्ट हङकङमा बढ्दो क्रममा छ। यसलाई माइक्रोफ्ल्याट पनि भन्न सकिन्छ।

८ हजारभन्दा बढी छन् पार्किङ आकारका अपार्टमेन्ट 
हङकङमा करिब ८५०० यस्ता साना युनिटहरु छन्। यसले हङकङको समग्र भौतिक संरचनाको ७ प्रतिशतको हिस्सा ओगटेको छ। बसोबासको लागि बनाइएको सानो क्षेत्रफलको टावरमा मानिसहरु यस्तै तरिकाले बसिरहेका छन्। 

हङकङ विश्वको सबैभन्दा धेरै जनघनत्व भएको सहरमध्येको एक हो। यहाँ जो कोही मानिसले घरजग्गा किन्न सक्दैनन्। यसले बजार निकै महँगो पनि बनाएको छ। 

घरजग्गाको अभाव भएको कारण घरजग्गाको भाउ सन् २०१० को तुलनामा २०१९ मा झण्डै दोब्बरले बढेको सरकारी तथ्यांक छ। 

हङकङमा औसतमा घरको मूल्य १३ लाख अमेरकी डलर नाघेको छ। जहाँको न्यूनतम तलब प्रतिघण्टा ४.८२ डलर मात्र छ। दक्ष कामदारले पनि औसतको (६५० वर्गफिट)को अपार्टमेन्ट सहरनजिकै किन्न २१ वर्ष कामा गर्नुपर्ने हुन्छ। कोरोना महामारीको समयमा पनि हङकङमा घरजग्गाको भाउ घटेको छैन। 

माइक्रोफ्ल्याटहरुको मूल्य भने औसत घरको तुलनामा आधा जति हुन्छ। कमजोर आर्थिक अवस्था भएका मानिसको पहुँचमा यस्ता फ्ल्याट आउँछन्। 

यसमा पनि केही त केवल १२८ वर्ग फिटका पनि छन्। यस्तालाई नानो फ्ल्याट भन्न सकिन्छ। 

यति क्षेत्रमा त धेरैजसो कार पनि अटाउँदैनन् र मानिसले पार्किङ पनि योभन्दा ठूलो हुन्छ। अपार्टमेन्टको भाउ भने प्रतिवर्गफिट ३९०० देखि ५३०० अमेरिकी डलरसम्म पर्छ। 

पछिल्लो समय सस्तो घरको माग भएसँगै निर्माताले सानो क्षेत्रफलका अपार्टमेन्ट पनि बनाउने क्रम पनि बढ्दो देखएको छ। 

विशेषगरी सन् २०१५ मा हङकङको सरकारले नियम खुकुलो बनाएसँगै हङकङमा सानो क्षेत्रमा घर बनाउने क्रम बढेको हो। 

यस किसिमको टे्रन्डले भान्सामा पनि सबै एकै ठाउँमा साँघुरो गरी राख्ने र बाथरुम निकै सानो हुने गरेका छन्। सानो क्षेत्रमा घर बनाउन दिने निर्णयको कारण यस किसिमका घर निर्माण भइरहेका छन्। 

चिनियाँ शरणार्थी बस्ने स्थल
यसले हङकङको फितलो नियम र नियमनको झल्को दिन्छ। बेलायतको उपनिवेश रहँदा यो ठाउँलाई चीनबाट भागेर आएका शरणार्थी बस्ने स्थलको रुपमा लिइन्थ्यो। त्यसैले पनि सोही मानसिकताअनुसार यहाँका घरहरु निकै साना छन्। 

सन् १९५३ मा हङकङमा क्रिसमसको दिनमा आगलागी हुँदा करिब ५० हजारभन्दा धेरै मानिस घरबारविहीन बन्न पुगेका थिए। त्यतिबेला सरकारले तत्काल उनीहरुका लागि घर बनाइदिएको थियो। 

जतिबेला हङकङमा सार्वजनिक हाउजिङ कार्यक्रम सुरु भएको थियो। बाउहाउस–शैलीका घरहरु प्रत्येक परिवारका लागि १२० वर्गफिटमा बनेका छन्। ३०० भन्दा धेरै मानिसले ६ वटा शौचालय मिलेर प्रयोग गर्नुपर्ने अवस्था छ। 

यहाँका मानिसहरु बाहिरबाट भागेर आएको हुनाले उनीहरुले हङकङको सरकारविरुद्ध बोल्ने आँट नै गर्न नसकेको हङकङ युनिभर्सिटीका एनजी मी–कम बताउँछन्। त्यतिबेला मानिसहरुलाई अन्य सुविधाभन्दा पनि बस्नको लागि वास मात्र चाहिएको थियो। त्यसैले उनीहरुले धेरै ठूलो अपेक्षा पनि नरहेको उनको भनाइ छ। 

यसकारण सानो क्षेत्रमा बढी जनघनत्व
त्यसो त हङकङको ठूलो हिस्सा संरक्षित भू–भाग भएकाले पनि सानो क्षेत्रफलमा मानिसहरु खुम्चिन बाध्य भएका हुन्। हङकङले ठूलो क्षेत्रफलको जंगल र भूभागलाई जल तथा पर्यावरणको लागि भनेर संरक्षित क्षेत्रको रुपमा राखेको छ। यसले पनि हङकङमा घरजग्गाको अभाव देखिएको हो। 

यसको अर्थ हङकङ तथ्यांकमा देखाइएभन्दा नै भीडभाडयुक्त सहर हो। किनकि यहाँको सात प्रतिशत भू–भाग मात्र मानिसको आवासको लागि छुट्याइएको छ। जसमा करिब ७५ लाख मानिसको बसोबास छ। सरकारको नीतिले पनि मानिसहरुलाई सानो क्षेत्रफलमा घर बनाउनको लागि प्रेरित गरेको देखिन्छ। 

घरजग्गाको समस्या समाधानको लागि हङकङको सरकारले गत अक्टोबरमा करिब २५ लाख मानिसको लागि मेनल्यान्ड चीनको सीमानजिकै आवास निर्माणको योजना अघि सारेको छ। 

यसअघि चीनले सन् २०१९ मा हङकङमा आन्दोलन मच्चिनुको कारण अव्यवस्थित आवास भएको निष्कर्ष निकालेको थियो। त्यसैले उसले हङकङलाई यसको समाधानको लागि पनि निर्देशन दिएको थियो। 

यद्यपि यसले हङकङका निकै सानो क्षेत्रफलमा बनेका घरलाई विस्थापित भने गर्न सक्दैन। सन् २०२१ मा मात्र हङकङमा घरजग्गाको भाउ ५ प्रतिशतले बढेको छ। हङकङका अधिकारीले आगामी दिनमा निर्मातालाई २०० वर्ग फिटभन्दा कममा घर बनाउन नदिने नियम ल्याउने तयारी भइरहेको बताएका छन्। 

हङकङमा पछिल्लो समय यस्ता माइक्रो फ्ल्याट खरिद गर्नेहरु खासै खुसी देखिँदैनन्। त्यसैले २०१० देखि २०१९ सम्मको अवधिमा यस्ता घरको भाउ भने ७८ प्रतिशत मात्रै वृद्धि भएको छ। अझ नानोफ्ल्याटको माग त ह्वात्तै घटेको जानकारहरु बताउँछन्। यद्यपि नानोफ्ल्याटको पनि भाउ भने घटेको छैन। 

अधिकारवादीहरु भने अपार्टमेन्ट निर्मातालाई ठूलो क्षेत्रमा एउटा अपार्टमेन्ट बनाउनुको तुलनामा सानो क्षेत्रमा दुईवटा बनाउँदा फाइदा हुने भएकाले उनीहरु पनि यसमा आकर्षित बनेको र सानो क्षेत्रमा अपार्टमेन्टको संख्या बढेको बताउँछन्। 

हङकङका माइक्रोफ्ल्याटमा बस्ने अधिकांश मानिसहरु आफ्नो अवस्था अस्थायी मात्र भएको बताउँछन््। यही सूचीमा ली पनि पर्छन्। उनले अहिले पैसा बचत गरिरहेका छन् र जतिसक्दो छिटो उनी यो सानो अपार्टमेन्टबाट ठूलोमा सर्ने सोचमा छन्। ब्लुमबर्गबाट

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .