किसन राई मृत्यु प्रकरणमा थप चार संस्थाको पत्र, हिन्स भन्छ– खुशी मनाएको छैन

किसन राई मृत्यु प्रकरणमा थप चार संस्थाको पत्र, हिन्स भन्छ– खुशी मनाएको छैन

मगेन्द्र राई
कात्तिक ३०, २०७८ मंगलबार १५:३, काठमाडौँ

हङकङका पत्रकार किसन राईको मृत्युप्रति खुशी व्यक्त गर्दै सामाजिक सञ्जालको समूहमा हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक विनय शाहले दिएको अभिव्यक्तिमा सो संस्थाले स्पष्टीकरण दिएको छ।

नेपालमा भिरबाट खसेर राईको मृत्यु भएपछि शाहले सो संस्थाको ह्वाट्सएप ग्रुपमा ‘एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए, जसको चौतर्फी आलोचना भएको थियो। किरात राई यायोक्खा हङकङले विज्ञप्ती नै जारी गरी माफी माग्न शाह र हिन्सलाई चेतावनी दिएको थियो। 

दश दिनपछि आएर हिन्सले यसबारे स्पष्टीकरण दिएको हो। 

हिन्सका कार्यबाहक अध्यक्ष यमलाल कँडेलले स्पष्टीकरण पत्रमा भनेका छन्, ‘सामाजिक सन्जालमा अर्थ लगाइएजस्तो हामीबीच किसन राईजीको दुखद निधनलाई लिएर कुनै खुशी व्यक्त गरिएको कदापी छैन।’

कँडेलले ‘केही दुषित मनसाय भएका व्यक्तिहरुले सकिइसकेको कुरालाई जबर्जस्ती फैलाई समाजमा बिखन्डन र अस्थिरता फैलाउन प्रयत्नशिल रहेको’ भन्दै ‘यो विषयलाई शान्तिपूर्ण ढङ्गले निवारण गर्न सक्षम हुनेछौं’ भनेका छन्।

‘किराया हङकङको पत्रको अन्तिम हरफमा उल्लेखित विनय शाहलाई कठोर भन्दा कठोर कारबाही गर्न अगाडि बढ्ने भन्ने वाक्यमा किराया सच्चिनु जरुरी छ’, कँडेलले भनेका छन्, ‘किराया सामाजिक संस्था भएकोले कसैलाई दण्ड दिन मिल्दैन।’

कँडेलको पत्रसँगै विनय शाहको १२ पेज लामो स्पष्टीकरण समेत नत्थी गरिएको छ, जसमध्ये ६ पेजमा पुरै राईप्रति अनेक आरोप लगाइएको बताइएको छ। 

हिन्सको स्पष्टीकरणप्रति किराया हङकङका अध्यक्ष चन्द्रका राईले पूर्ण असन्तुष्टी जनाइन्। 

अध्यक्ष राईले भनिन्, ‘हिन्सको प्रतिउत्तरले हङकङका सम्पूर्ण राई समुदायलाई निराश बनाएको छ। विनय शाहले आफ्नो भनाई किसन राईप्रति नै हो भन्ने बताइसक्दा पनि सत्यलाई ढाकछोप गर्दै उनको बचाउ गर्ने हिन्सको कार्यले सम्पूर्ण राई समुदाय अपमानित भएका छौं।’

किराया हङकङका पूर्व अध्यक्षहरु हेजेन राई र रजिन राईले पनि किरायाको मागप्रति सम्बोधन नगरी हिन्सले इमान्दारिता नदेखाएको बताएका छन्। 

किराया हङकङका महासचिव गंगाराम राईले हिन्सको पत्र गैरजिम्मेवार रहेको भन्दै हिन्सले इमान्दारिता साथ माफी नमागेसम्म पछि नहट्ने बताए।  

यसैबीच किराया बेलायत र मकाउले पनि किराया हङकङप्रति ऐक्यवद्धता जनाउँदै हिन्सलाई माफी माग्न आग्रह गरेका छन्। 

किराया बेलायतका कावा अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईको विज्ञप्तीमा भनिएको छ, ‘विनय शाह बेलायतमै बसेर यस्तो अमानवीय हर्कत गर्दैछन् भन्ने थाहा पाउँदा हामीलाई झनै पीडाबोध भएको छ। हाम्रो शोकमा खुशी मनाउने र मृत्युलाई मजाक बनाउने शाहविरुद्ध दबाब सिर्जना गरौं।’

किराया मकाउका अध्यक्ष राकेश राई र महासचिव सन्जिव कोयीको विज्ञप्तिमा भनिएको छ, ‘किसन राईको मृत्युले विश्वभरका किरात राईहरुले आफ्नो अभियन्ता गुमाउँदा हिन्सका निर्देशक विनय शाहले दिएको अमानवीय अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गर्दछौं।’ 

त्यसैगरी नेपाल पत्रकार संघ हङकङ र नेपाल आदिवासी जनजाति महासङ्घ हङकङले हिन्सका अध्यक्षलाई सम्बोधन गर्दै नोभेम्बर १४ मा एक पत्र पठाएका छन्। 

पत्रमा भनिएको छ, ‘हिन्सको ह्वाट्सएप समूहमा भएको वार्ताका अंश समाजिक सञ्जालहरूमा फैलिइरहेको छ। उक्त संवादमा ‘भाईरस सखाप’ भन्ने शब्दावली किसन राईप्रति लक्षित हो भन्ने ठहरका साथ हाम्रो ध्यानाकर्षण भएको छ। यसको सत्य तथ्य के हो? यस सम्बन्धमा संस्थाको धारणा के छ? यथा सम्भव चाँडै जानकारी गराउन अनुरोध गर्दछौं।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .