हङकङमा ७० प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन्। मंगलबार हङकङले कोरोना खोप अभियानमा महत्वपूर्ण कोशेढुङ्गा पार गरेको हो।
कोरोना खोप अभियान सुरु गरेको नौ महिनामा हङकङले आफ्ना ७० प्रतिशत जनसंख्यालाई कोरोना खोप लगाएको हो। यसअघि हङकङले ७० प्रतिशतलाई कोरोना खोप दिने लक्ष्य राखेको थियो।
यद्यपि विशेषज्ञहरुले भने हङकङले कम्तीमा पनि ९० प्रतिशतलाई कोरोना खोप दिने लक्ष्य राख्नुपर्ने बताएका छन्।
हङकङमा संक्रमण फैलिने जोखिम नियन्त्रणका लागि बुस्टर डोज पनि दिन थालिएको छ। विशेषज्ञहरुले कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेकाले सार्वजनिक स्थलमा कोरोना खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम आवश्यक रहेको बताएका छन्।
हङकङ प्रमुख क्यारी लामले जति छिटो धेरै मानिसले कोरोना खोप लगाए, त्यति नै छिटो पूर्णरुपमा सीमा खुला गरिने बताइसकेकी छिन्।
विशेषज्ञहरुले खोप अभियान जति धेरै सफल भयो, ठूलो मात्रामा संक्रमण फैलिने दर पनि त्यति नै कम रहने बताएका छन्। उनीहरुले शत प्रतिशतलाई कोरोना खोप लगाउँदा पनि संक्रमणको जोखिम कायमै रहने भए पनि यसले अस्पतालमाथिको दबाब कम गर्न भने सहयोग पुर्याउने बताएका छन्।
Shares
प्रतिक्रिया