हङकङमा कोरोना खोप लगाउन बाँकी आधा जनसंख्याले आफूहरुले कोरोना खोप नलगाउने बताएका छन्। हङकङको सोसाइटी अफ हस्पिटल फर्मासिस्टले गरेको अनलाइन सर्वेक्षणमा अधिकांश मानिसले आफूहरु भाइरससँगै बाँच्ने रणनीतिको लागि तयार रहेको बताएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ५६ सय मानिसमा गरिएको सर्वेक्षणमा ५९ प्रतिशत मानिसले पूरा डोज खोप लगाएको र ३९ प्रतिशतले एक डोज खोप पनि नलिएको बताएका थिए। खोप नलगाउनेमध्ये ४७ प्रतिशतले आफूले कहिले पनि कोरोना खोप नलगाउने बताएका थिए।
२७ प्रतिशतले अहिलेसम्म खोप लगाउन विषयमा निर्णय नगरेको बताएका थिए। त्यस्तै बाँकी २६ प्रतिशतले भने खोप लगाउने तर मिति भने तय नभएको बताएका थिए।
विशेषज्ञहरूले आइतबार सार्वजनिक गरिएको यो सर्वेक्षणको नतिजा हङकङको लागि राम्रो संकेत नभएको बताएका छन्। कोरोना भाइरससँग बाँच्नको लागि पनि खोप सबैभन्दा राम्रो उपाय भएको जानकारहरुले बताइरहँदा यस किसिमको सर्वेक्षण सार्वजनिक हुनु हङकङको लागि राम्रो नहुने उनीहरुले बताएका हुन्।
अहिले हङकङ मेनल्याण्ड चीनसँग सीमा खोल्न कोरोना संक्रमित शून्यमा झार्ने रणनीतिअनुसार अघि बढिरहेको छ।
Shares
प्रतिक्रिया