हङकङका प्रजातन्त्रवादी नेता कू स्जे–यिउ हङकङको राष्ट्रिय सुरक्षा कानुन उल्लंघनको आरोपमा पक्राउ परेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार बिहान उनलाई तोडफोड तथा विनाशका काममा सहयोग बनेको आरोपमा पक्राउ गरिएको हो।
लिग अफ सोसल डेमोक्रेट्स पार्टीका ७५ वर्षीय नेता स्जे–यिउलाई बिहानै चेउङ शा वानस्थित निवासबाट पक्राउ गरिएको हो।
अहिले उनीमाथि सोधपुछको काम भइरहेको छ।
हङकङको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत तोडफोड तथा विनाशका कार्यमा संलग्न भएको मानिसलाई आजीवन कारावास हुनेसम्मको व्यवस्था छ।
स्रोतका अनुसार यो मुद्दामा सहयोग गर्नका लागि थप तीन जना पुरुष र एक महिलालाई पनि बोलाइएको छ तर उनीहरुलाई पक्राउ भने गरिएको छैन।
स्जे–यिउ सन् २००० को सुरुवातदेखि अहिलेसम्म धेरैपटक पक्राउ परिसकेका छन्।
हङकङमा राष्ट्रिय सुरक्षा कानुन ल्याइनुभन्दा पहिला उनी बेइजिङको सम्पर्क कार्यालयअघि कफिन बोकेर विरोध प्रदर्शन गर्ने प्रमुख नेताको रुपमा थिए।
गत वर्षको अप्रिलमा उनी सन् २०१९ मा अवैध र्याली निकालेको आरोपमा पाँच महिना जेल परेका थिए।
Shares
प्रतिक्रिया