हङकङमा ‘हाकिम’ हुन छाडेर जब अमर राई मजदुर बन्न बेलायत आए...

हङकङमा ‘हाकिम’ हुन छाडेर जब अमर राई मजदुर बन्न बेलायत आए...

बेलायतस्थित ‘मुस्ताङ मोटर्स’ र यसका सञ्चालक अमर राई।


मगेन्द्र राई
माघ १९, २०७८ बुधबार १५:२६, बेलायत

इङ्लिस च्यानल समुद्रको गहिराइभन्दा ७५ मिटर गहिरो सुरुङ खनेर बनाइएको ५० किलोमिटर लामो ‘युरोटनेल’लाई आधुनिक युगको सातौं आश्चर्यसमेत मानिन्छ। उक्त सवारी टनेलले बेलायतको दक्षिणी क्षेत्र केन्ट राज्यको फोल्कस्टोन र फ्रान्सको उत्तरी क्षेत्र क्यालासिस जोडेको छ। त्यसो त इङ्लिस च्यानलको काखमा हुर्किएको ‘फोल्कस्टोन’मा पनि दर्जनौं आकर्षण छन्। 

यही बन्दरगाह सहर फोल्कस्टोनको मध्य भागमा ‘पार्क रोड’ छ। अनि यसैकाे छेउमा छ– ‘मुस्ताङ मोटर्स’। बिहानैदेखि साँझसम्म खुल्ने उक्त मोटर्सको हाताभित्र ६/७ जना नेपाली जवान बेलायतको जाडोमा पसिना बगाइरहेका भेटिन्छन्। कोही ग्यारेजमा मर्मत/सम्भारमा व्यस्त छन् त कोही कार्यालयको डेस्कमा ग्राहकको सेवामा। 

सिकिस्त बिरामीलाई समेत सफल उपचार गरेर निको पार्ने अस्पतालजस्तै हो, मोटरहरूका लागि ‘मुस्ताङ मोटर्स’। क्षतविक्षत अवस्थाका सवारीसाधनले पनि मुस्ताङले ‘डाइग्नाेसिस’ गरेर शल्यक्रिया गरेपछि नयाँ जीवन प्राप्त गर्छ। मित्रवत् व्यवहार, गुणस्तरीय सेवाका कारण यहाँ आउने ग्राहक कहिल्यै निराश हुनुपर्दैन। त्यसैले सन् २०१६ मा केही उत्साही नेपाली युवा मिलेर खोलेको ‘मुस्ताङ मोटर्स’ ग्राहकको पहिलो रोजाइमा पर्ने गरको छ। बेलायतस्थित ‘मुस्ताङ मोटर्स

उक्त माेटर मर्मत केन्द्रका मेरुदण्ड हुन्– अमर राई। १८ वर्ष हङकङमा बिताएर सन् २०१२ मा बेलायत बसाइँ सरेका अमर नयाँ ठाउँमा कुनै ठोस व्यवसाय गर्ने सोचमा थिएनन्। मौका मिले केही गरौं भन्ने ताकमा रहेका उनले सन् २०१६ मा साझेदारीमा ‘मुस्ताङ मोटर्स’ खोले। 

‘सुरुवातको समय निकै चुनौतीपूर्ण रह्यो’, उनले आफ्नो अनुभव सुनाए, ‘नेपालीहरूबाटै हाम्रो कार्यक्षमताप्रति नजरअन्दाज गरियो, ब्रान्डेड गाडीहरू पनि बनाउन सक्नुहुन्छ र जस्ता प्रश्न गरिए, तर अहिले उनीहरू नै हाम्रा असल ग्राहक बनेका छन्।’ ​अमर राई। कुनै बेला आफ्नो ग्यारेजछेउछाउ गुडिरहेका गाडी देख्दा मर्मत गराउन यतै पो ल्याउन लागेका हुन् भन्ठान्दै घन्टौं ग्राहकको प्रतीक्षा गर्नुपर्थ्याे। अहिले त्यो कुरा एकादेशको कथाजस्तै भएको छ। 

हाल मुस्ताङ मोटर्समा सवारीसाधन मर्मत गराउन कम्तीमा ३ दिनअघि नै ‘एडभान्स बुकिङ’ गराउनपर्छ। मुस्ताङले सर्भिसिङ, एमओटी रिपेयर्स, ब्रेक, डाइग्नोसिस, टायर, ब्याट्री, एक्जस्ट्स, क्लच, सस्पेन्सनलगायत पाटपुर्जासहित दैनिक दर्जनौं सवारीसाधन मर्मत/सम्भार त गर्छ नै, साथै बेलायतको यातायात मन्त्रालयबाट इजाजत प्राप्त मिनिस्ट्री अफ ट्रान्सपोर्ट (एमओटी) परीक्षण र त्यसको प्रमाणपत्रसमेत प्रदान गर्ने गरेको छ। जसले कम्पनीको प्रतिष्ठा बढेको मात्र छैन, मुनाफा आर्जन गर्न अर्को स्रोत पनि थपेकाे छ। मुस्ताङले फोक्सटोन, आसफोर्ड, डोभर, मैड्स्टोन, क्यान्टबरीदेखि लन्डनसम्मका ग्राहकलाई सेवा दिइरहेको छ। 

व्यवसाय सुरुवात 
बेलायत आउनुअघि अमरसँग कुनै ठोस व्यवसाय गर्ने योजना थिएन। हङकङ छँदा संघर्ष र मेहनतबाट एक निर्माण कम्पनीको ‘साइट म्यानेजर’सम्म बनेका उनलाई बेलायतमा भने शून्यबाटै सुरु गर्नुपर्छ भन्ने राम्रोसँग हेक्का थियो। त्यसैले उनी त्यसका लागि पहिले मानसिक रूपमा तयार थिए। उनी आम नेपालीजस्तै श्रमिकका रूपमा ‘वएर हाउस’मा काम थाले। हङकङमा अरूलाई अह्राउपराउ गर्ने अमरको मन यहाँ अरूको ‘अन्डर’मा काम गर्नुपर्दा अवश्य खुसी थिएन। तर विकल्प पनि थिएन। बेलायत बसेको ४/५ वर्ष नाघ्दा पनि उनले हङकङलाई ठूलो ‘मिस’ गरिरहे। नौलो ठाउँ, त्यसमाथि जाडो उस्तै, मन अड्याउन निकै मुस्किल पर्यो। 

यसबीच उनले पटकपटक हङकङ फर्कने योजनासमेत नबनाएका होइनन्। यसै मेसोमा उनलाई आफ्नै सानिमाका छोरा भाइले मोटर्स मर्मतसम्भार केन्द्र खोलौं भन्ने प्रस्ताव राखे। मोटरिङसम्बन्धी अध्ययन गरेका भाइ प्राविधिक रूपमा दक्ष थिए। अनि अमरसँग थियाे- व्यवस्थापनसम्बन्धी राम्रो अनुभव। नेपाल वा हङकङका लागि कार विलासी साधन मानिन्छ, तर बेलायतमा भने याे ‘आधरभूत आवश्यकता’भित्रै पर्छ। यहाँ हरेक वयस्क व्यक्तिसँग निजी सवारीसाधन हुन्छन्, जसको मर्मत/सम्भार गर्न जरुरी हुन्छ। फेरि आफू बसेको आसपास नेपालीको बसोबास बाक्लो छ। यसर्थ यो व्यवसाय गर्दा घाटामा नजाने ठहर अमरले गरे। र, भाइको कुरामा सहमति जनाउँदै खोले– मुस्ताङ मोटर्स। 

‘कम्पनीको नामले नेपालको पर्यटन प्रवर्द्धन पनि’
कम्पनी खोल्ने भएपछि नाम के राख्ने भन्ने विषयमा उनीहरूले छलफल गरे। नेपालीले विदेशी भूमिमा व्यापार–व्यवसाय गर्दा नेपालसँग सम्बन्धित नाम राख्ने ‘ट्रेन्ड’ नै छ। त्यसो त त्यो ट्रेन्ड देशप्रतिको माया र सद्भाव पनि हो। बेलायतमा अन्य नेपाली व्यवसायीले सगरमाथा, एभरेस्ट, लुम्बिनी, गोर्खालगायत नेपाल जनाउने अनेक नाम राखिसकेका थिए। छलफलका क्रममा अमरकाे समूहले ‘मुस्ताङ’ नाम जुरायाे। 

‘मुस्ताङ’ नै किन? 

नेपालखबरको जिज्ञासामा अमरले भने, ‘बुद्ध, सगरमाथा, गोर्खा आदिले मात्र नेपालको परिचय काफी हुँदैन, नेपाललाई चिनाउने अन्य कैयौं चिज छन्, नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो, तसर्थ मुस्ताङ पनि नेपालको प्राकृतिक सुन्दरताले भरिएको एक मनोरम स्थल हो, हामी मुस्ताङलाई प्रोमोट गरौं भन्ने अभिप्रायले उक्त नाम जुर्यो।’ 

अमरका अनुसार विदेशी ग्राहक मुस्ताङको अर्थ के हो भनी सोध्ने गर्छन्। जवाफमा– यो नेपालको एक सुन्दर स्थान हो, एकपटक घुम्न जानुहोस् भनेर आग्रह गर्ने गरिएको उनले सुनाए। 

‘हामीले यसमार्फत पर्यटन प्रवर्द्धनसमेत गर्ने गरिरहेका छौं’, उनले भने, ‘फेरि फोर्ड कम्पनीको मुस्ताङ कार पनि निकै लोकप्रिय छ।’

सुरुमा ग्राहक पाउने गाह्रो 
सुरुमा ग्राहक पाउन गाह्रो भयाे। प्रचारप्रसारका लागि अमरले विज्ञापन पनि निकाले। तर त्यो जादूको छडी थिएन। यस क्रममा केही नेपालीले ‘बीएमडब्ल्यू, औडी, मर्सिडिज कार पनि मर्मत गर्न जान्छौ र’ जस्ता प्रश्न पनि गरे। तर यसबाट अमरको टिम हच्किएन, बरु यसलाई ऊर्जाका रूपमा लिएर सक्रिय बन्याे।

अमरलाई थाहा थियो– सबै व्यवसायी सुरुमै सफल हुँदैनन्। यो त बस बिसौनीजस्तै हो, एक बस छुटे अर्को आउँछ, जहाँ धैर्यताको खाँचो हुन्छ। फेरि व्यवसाय एक जोखिमपूर्ण पेसा पनि हो। तर यही जोखिमलाई अवसर र आविष्कारका रूपमा लिन सके सफलता प्राप्त नहुने कुरै छैन भन्ने कुरा अमर र उनका सहकर्मीले राम्रोसँग बुझेका थिए।​ बेलायतस्थित ‘मुस्ताङ मोटर्स’ सञ्चालक अमर राईको टिम। व्यवसायमा सफलता हात पार्न लक्ष्य निर्धारण, गुणस्तरीय सेवा, दक्ष जनशक्ति र परिचालन, आर्थिक पारदर्शिता, दीर्घकालीन योजना, नयाँ प्रविधि आवश्यक थियाे। यी कुरामा उनीहरूले कुनै कसर राखेनन्। बिस्तारै ग्राहकको विश्वास जित्दै गए। हाल उनीहरूको नियमित ग्राहक मात्रै २ हजार जनाभन्दा बढी छन्। जसमध्ये ८० प्रतिशत ग्राहक नेपाली नै छन्। बाँकी स्थानीय र युरोपेली नागरिक छन्। 

स्वस्थ प्रतिस्पर्धा
नेपाल वा हङकङमा आफ्ना व्यापारिक प्रतिस्पर्धीलाई खुट्टा तानेर अगाडि जान नदिने गलत प्रवृत्ति छ। सकेसम्म व्यवसाय गर्नै नदिने, कसैले सुरु गरिहाले अनेक तिकडम गरेर भए पनि उसकाे उठीबास लगाउनसमेत पछि नपर्ने! धम्क्याउने, तोडफोड गर्ने, चन्दा असुल्ने, हप्ता उठाउनेहरूले आजित पारेका घटना अमरले देखेका थिए। तर बेलायतमा यस्तो बिलकुल नभएको अनुभव उनको छ। ​बेलायतस्थित ‘मुस्ताङ। आमनेसामने अन्य मर्मतकेन्द्र पनि छन्, तर आपसमा सौहार्दपूर्ण सम्बन्ध रहेको अमर सुनाउँछन्। 

भन्छन्, ‘उनीहरूले गर्न नसके, नभ्याए ग्राहकलाई हाम्रोमा पठाइदिन्छन्, हाम्रो खुलेर प्रशंसा गर्छन्, हामी पनि त्यसै गर्छौं। हप्ता असुल्ने, धम्क्याउनेजस्ता कुनै गतिविधि हुँदैन, जसले गर्दा व्यवसाय सञ्चालन गर्न सहज वातावरण छ।’

महामारीमा झन् ‘मालामाल’
कोरोना कहरले बेलायतमा धेरै व्यवसाय धराशायी भए। कति त बन्द नै भए। तर ‘मुस्ताङ मोटर्स’मा  ग्राहकको लर्को लाग्न छाडेन। लकडाउनका बखत पनि डिपार्टमेन्ट स्टोर, औषधि पसल, मोटर ग्यारेज खुलै रहे। अत्यावश्यक सामान किन्न, यात्रा गर्न निजी सवारीसाधन सञ्चालन भइरह्यो। जसले गर्दा झन् ग्राहकको चाप बढेर आम्दानी राम्रो भएको अमर बताउँछन्। बेलायतस्थित ‘मुस्ताङ मोटर्स’मा सञ्चालक अमर।
‘संघर्ष रहेछ जीवन’
बेलायती सैनिक परिवारमा हुर्किएका अमरलाई आर्थिक समस्या खासै थिएन। बाल्यकाल ‘बिन्दास’ रूपमा बिताएका उनले वयस्क हुँदै गएपछि आफ्नो छुट्टै भविष्यको चाहनाले घचघच्याउन थाल्यो। फलतः धरानस्थित महेन्द्र क्याम्पसमा अध्ययन गर्दागर्दै सन् १९९४ मा उनी ‘भाग्यको खोजी’मा हङकङ हानिए। जहाँ उनको खास संघर्ष सुरु भयो। 

उनले त्यहाँ १८ वर्ष बिताए। मजदुरबाट काम सुरु गरेर उनी ‘साइट म्यानेजर’सम्म बने। तर बेलायत बसाइँ सरेपछि फेरि मजदुरबाटै संघर्ष सुरुवात गरे। 

‘जीवन त संघर्ष पो रहेछ, दुःखका पहाडहरू छिचोलेर शिखर पुग्यो, तर त्यहाँ टिकिरहन नसकिने रहेछ, अनि पुनः आधार शिविर झर्यो, अनि फेरि अर्को शिखर चढ्यो’, उनी भन्छन्, ‘आखिर एक शिखरबाट भुइँमा झरे पनि अरू थुप्रै शिखर चढ्न सकिने अवसर छ भन्ने हिम्मतका साथ संघर्ष गरियो भने जीवनदेखि थाकेर बस्ननपर्ने रहेछ।’

सफलताको शिखर उक्लिँदै 
हुर्किंदै गरेको सन्तानका खातिर गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको सपना र आशा बोकेर हङकङमा ‘साइट म्यानेजर’जस्तो लोभलाग्दो पद र तलबलाई तिलाञ्जली दिएर अमर बेलायत छिरेका थिए। शून्यबाट व्यावसायिक यात्रा थालेका अमर दिनप्रतिदिन सफलताको शिखर उक्लिरहेका छन्। यसबाट उत्साहित अमरले भविष्यमा यसको शाखा खोल्ने योजनासमेत रहेको कुरा नेपालखबरलाई सुनाए। 

आफ्नो व्यावसायिक यात्राले फड्को मारेको देखेर उनी भन्छन्, ‘कहिलेकाहीँ बिनायोजना चालिएका पाइलाले हजारौं माइलको यात्रा तय गर्दो रहेछ।’

उनी अब बिस्तारै बेलायतको माटोमा रम्दै छन्। तर पनि नेपाल र हङकङलाई जीवनमा कहिले भुल्न नसकिने उनी बताउँछन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .