हङकङमा सबैको कोरोना परीक्षण गर्न निर्देशन, नेपालसहित ९ देशमाथिको प्रतिबन्ध लम्बियो

हङकङमा सबैको कोरोना परीक्षण गर्न निर्देशन, नेपालसहित ९ देशमाथिको प्रतिबन्ध लम्बियो

नेपालखबर
फागुन ११, २०७८ बुधबार ९:४७, काठमाडौँ

हङकङ सरकारले आगामी महिनामा सबै बासिन्दाको अनिवार्य कोरोना परीक्षण गराउने भएको छ। यसअघि नै सबै मानिसको कोरोना परीक्षण गराउने तयारी भए पनि सरकारले बुधबार मार्चको मध्यमा सबैको अनिवार्य कोरोना परीक्षण गराउन निर्देशन दिएको हो। 

कोभिड–१९ को पाँचौं लहरको सामना गरिरहेको हङकङले कोरोना नियन्त्रणको लागि यो कदम आवश्यक रहेको उल्लेख गरेको छ। हङकङ प्रमुख क्यारी लामले तीन चरणमा सबै मानिसको कोरोना परीक्षण गराइने बताएकी हुन्। 

पछिल्लो समय कोरोना संक्रमण ठूलो मात्रामा फैलिएसँगै हङकङका अस्पताल माग धान्न नसक्ने अवस्थामा पुगेका छन्। सोही अवस्थालाई ध्यानमा राख्दै सबै मानिसको कोरोना परीक्षणको योजना ल्याइएको हो। हङकङको कोरोना नियन्त्रणको अभियानमा बेइजिङले पनि सहयोग गर्ने भएको छ। 

हङकङ सरकारले जारी गरेको निर्देशनअनुसार सबै बासिन्दाले एक साताको अन्तरमा तीनपटक कोरोना परीक्षण गराउनुपर्नेछ। त्यसको लागि सरकारले दैनिक १० लाखभन्दा धेरैको कोरोना परीक्षण गर्ने तयारी गरेको छ। 

हङकङ प्रमुख लामले यसअघि चीनको सहर पूरै लकडाउन गरिँदा पनि आफूहरुले यसले संक्रमण नियन्त्रण गर्न नसक्ने भन्दै त्यसलाई बेवास्ता गरेकाले अहिलेको अवस्था आएको बताइन्। 

हङकङमा पहिलोपटक यति ठूलो संख्यामा मानिसहरुको कोरोना परीक्षण गरिन लागेको हो। परीक्षणको अवधिमा हङकङ सहर पूरै लकडाउन भने नजाने हङकङ प्रमुखले बताएकी छिन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार यो अवधिमा विशेषगरी महामारी नियन्त्रणका लागि खटिने लगायतका धेरै मानिसहरु घरबाट बाहिर निस्किन पाउनेछन्। 

त्यस्तै हङकङले नेपालसहितका ९ मुलुकमाथिको प्रतिबन्ध पनि अप्रिल २० सम्मका लागि लम्ब्याएको छ। हङकङले नेपालसहित अष्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स र अमेरिकाबाट आउने उडान र ट्रान्जिटमा लगाइएको प्रतिबन्ध लम्ब्याएको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .