कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या बढेसँगै हङकङमा चिहानको अभाव देखिएको जसको कारण मुर्दाघरमा लाशहरु थप्रिएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अहिले हङकङको अस्पतालका शवघरहरु लाशले भरिन थालेका छन्।
हङकङको हस्पिटल अथोरिटी इम्प्लोइज एलायन्सका प्रतिनिधि डेभिड चान क्वोक–शिङले केही अस्पतालमा मानिसको मृत्यु भइसकेपछि पनि लामो समयसम्म अस्पतालकै उपचार कक्षमा राख्नुपर्ने अवस्था रहेको बताए।
‘अहिले मेडिकल प्रणाली पूर्णरुपमा धान्न नसक्ने भएको छ’, चानले भने। हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनका डाक्टर अल्बर्ट औ का–विङले सार्वजनिक तीन चिहान ९० प्रतिशत भरिइसकेको बताए। पछिल्लो एक सातामा व्यापक मात्रामा कोरोना संक्रमण बढेसँगै त्यसको प्रत्यक्ष असर चिहानमा देखिएको हो।
हङकङमा आइतबार मात्र कोरोना संक्रमणको कारण ८३ जनाको मृत्यु भएको थियो।
यससँगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ। हङकङका स्वास्थ्य अधिकारीहरुले अहिले आफ्नो तर्फबाट सक्दो प्रयास गरे पनि शवको व्यवस्थापनमा भने समस्या देखिन थालेको बताएका छन्।
केही चिहानहरुले शव ल्याउनमा पनि रोक लगाएका छन्। नियामकहरुले भने यो समस्या समाधानको लागि प्रयास भइरहेको बताएका छन्।
Shares

प्रतिक्रिया