बेलायत सरकारले बेलायती राष्ट्रिय (ओभरसिज) भिसा योजनाको दायरा बढाउने योजना अघि सारेको छ। यससँगै अब सन् १९९७ जुलाई १ पछि हङकङमा जन्मिएका युवाका कम्तीमा एक अभिभावकसँग ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) भिसा छ भने उनीहरुले पनि स्वतन्त्ररुपमा बेलायतमा बसोबासको लागि आवेदन दिन सक्नेछन्।
यो योजना लम्ब्याउन गत डिसेम्बर र फेब्रुअरीको सुरुमा बेलायतको संसदमा दुई पार्टीले संशोधन प्रस्ताव लगेका थिए। उक्त प्रस्ताव पारित गर्न सरकारमाथि दबाब बढेको थियो। सोही अनुसार बेलायत सरकारले बीएनओ भिसा योजनाको दायरा बढाउने निर्णय गरेको हो। यसअघि गत डिसेम्बरमा उक्त संशोधन प्रस्ताव संसदबाट अस्वीकृत भएको थियो। सरकारले उमेर समूह र बसोवासको अन्य आधार समावेश हुनुपर्ने बताएको थियो।
पछिल्लो तथ्यांकअनुसार करिब १ लाख ३ हजार भन्दा धेरै हङकङका नागरिकले बेलायती नागरिकताको लागि योजना ल्याएको १ वर्षभित्र आवेदन दिएका थिए। जसमध्ये ९७ हजारभन्दा धेरैलाई नागरिकता दिइएको छ। पछिल्लो समय हङकङबाट बेलायत जानेको संख्या बढ्दो क्रममा छ।
बीएनओ भिसा योजना अन्तर्गत आवेदन स्वीकृत भएका मानिसले ५ वर्षसम्म बेलायतमा बस्ने, काम गर्ने र पढ्ने अनुमति पाउँछन्। साथै ६ वर्ष पुगेपछि उनीहरुले बेलायतमा नागरिकताको लागि आवेदन दिन पनि पाउँछन्।
यद्यपि अहिलेसम्म यो योजना सन् १९९७ जुन ३० भन्दा अघि हङकङमा जन्मेका नागरिक लागि मात्र लागू हुँदै आएको थियो। यो मिति बेलायतले हङकङ चीनलाई सुम्पिनुभन्दा अघिल्लो दिन हो।
अहिलेको व्यवस्थाअनुसार बीएनओ भिसा भएका नागरिकका वयस्क सन्तानले डिपेन्टेन्ट्समा आवेदन दिन सक्छन्। त्यसको लागि आवेदकको जन्म १९९७ जुलाई १ वा सोभन्दा यता भएको हुनुपर्छ। साथै उनीहरुले पनि एकैसाथ आवेदन दिनुपर्ने हुन्छ।
भिसा योजनाको दायरा बढाउने योजना घोषणा गर्दै बेलायतका आप्रवासन मन्त्री केभिन फोस्टरले अहिलेको योजना केही परिवारको लागि न्यायसंगत नभएको उल्लेख गरेका छन्।
केही मानिसले उनीहरुको अभिभावकले अनुमति नपाएको कारण यसमा जोडिन पाएका छैनन्। अभिभावकसँग नबस्ने सन्तानले पनि एकैपटक आवेदन दिन पाउँदैनन्, त्यसैले पनि धेरै मानिस बीएनओ योजनामा जोडिन नपाएका हुन्।
फोस्टरका अनुसार १८ देखि २४ वर्ष उमेर समूहका मानिसले सोही बाटो अपनाउन सक्दैनन् तर उनीहरुभन्दा बढी उमेर भएका मानिसले भने यसमा सहज पहुँच पाइरहेका छन्।
फोस्टरका अनुसार अहिले अघि सारिएको योजनाअनुसार आगामी सेप्टेम्बरमा आप्रवासन नियम बन्नेछ र अक्टोबरबाट कार्यान्वयनमा आउन सक्छ। योग्य मानिसहरुले अझै पनि अन्य दीर्घकालीन र योग्यताको सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
सुरुमा बीएनओ भिसा योजनामा संशोधनको प्रस्ताव गर्ने संसदीय सदस्यले हङकङ वाच नामक परामर्शदाता समूहबाट तथ्यांक लिएका थिए। उक्त समूहका अनुसार सन् २०१९ मा हङकङमा भएको आन्दोलनमा पक्राउ परेकामध्ये ९३ प्रतिशत मानिसहरु २५ वर्षभन्दा कम उमेरका थिए। यस्तोमा उनीहरु बीएनओ योजनाबाट वञ्चित हुन सक्ने आशंका देखिएको हो।
हङकङ वाचका प्रमुख बेनेडिक्ट रोजर्सले भने, ‘योजनामा नपरेका हङकङका वीर युवाका लागि सरकारले यस किसिमको कठिन र नीतिसंगत कदम चालेकोमा हामी हर्षित भएका छौँ।’
हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू भएसँगै बेलायतले हङकङका नागरिकको लागि बीएनओ भिसा योजना अघि सारेको थियो। गत वर्षको अन्तिम तीन महिनामा यो योजनाको लागि आवेदन दिनेको संख्या १५ हजार ६ सयमा झरेको थियो। अघिल्लो तीन महिनामा २४ हजार मानिसले त्यसको लागि आवेदन दिएका थिए।
पछिल्लो समय क्यानडा र अष्ट्रेलियाले पनि हङकङका नागरिकका लागि सोही किसिमको योजना ल्याएकाले बेलायत जान आवेदन दिनेको संख्यामा कमी आएको केही आप्रवासन परामर्शदाताले बताएका छन्।
२०२० मा गरिएको एक अध्ययनमा करिब १ लाख ५३ हजार मानिस २०२१ मा हङकङबाट बेलायत जान सक्ने देखिएको थियो। तर, नयाँ तथ्यांकले भने अनुमानअनुसारको आवेदन नआएको देखिएको छ।
हङकङका नागरिकलाई क्यानडा र अष्ट्रेलियाले पनि आप्रवासनको थप मौका दिएका छन्। ४० वर्षमुनिका केही आवेदकहरु क्यानडाको योजनातर्फ आकर्षित भएका छन्। उसले तीन वर्षसम्मको लागि वर्कपर्मिट पनि दिएको छ। उनीहरूले अनुमतिप्राप्त पोस्ट सेकेण्डरी लर्निङ शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेको अवस्थामा स्थायी बसोबासको अनुमतिको लगि आवेदन दिन सक्छन्।
हङकङको ७४ लाख जनसंख्या मध्ये ५४ लाख बीएनओ योजनाको लागि योग्य रहेको अनुमान छ। यो योजनाअन्तर्गत आवेदकले आफ्ना परिवारसहित बेलायतमा पाँच वर्षसम्म बस्न, काम गर्न र पढ्न अनुमति पाउनेछन्। साथै त्यसपछि उनीहरुले नागरिकताको लागि आवेदन दिन पाउनेछन्।
बेलायतले सन् १९९७ मा चीनलाई हङकङ सुम्पिँदा त्यहाँको प्रजातन्त्रको रक्षा गर्नुपर्ने शर्त राखेको थियो। चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै हङकङको प्रजातन्त्र खोसिएको बेलायतको बुझाइ छ। त्यसलै त्यहाँका नागरिकको लागि बेलायतमा बसोबासको अनुमति दिन सकिने गरी नयाँ योजना ल्याइएको हो।
हङकङ वाचका नीति निर्देशक जोनी पाटर्सनका अनुसार अहिले बेलायत आउनेमा बालबच्चासहितका युवा परिवार धेरै छन्। यो संख्या गर्मीयाममा उच्च देखिएको थियो।
यद्यपि उनीहरु बेलायत आएपछिको अवस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। गत अक्टोबरमा बेलायतमा रहेका हङकङका नागरिकमा गरिएको अध्ययनमा बीएनओ भिसा भएका करिब आधा मानिसहरु अगष्टको अन्तिमसम्ममा बेरोजगार रहेको पाइएको थियो। जसमध्ये केवल १८ दशमलव ५ प्रतिशतले मात्र पूर्णकालीन काम पाएका थिए।
सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले हङकङ छाड्दा आफूहरुले कम आम्दानी हुने काममा चित्त बुझाउनुपरेको बताएका थिए। साथै आफ्नो दक्षता भएको उद्योगमा काम नपाएको उनीहरुको गुनासो छ। यद्यपि ६९ दशमलव ४ प्रतिशतले वित्तीय हिसाबमा आफूहरु सुरक्षित रहेको उल्लेख गरेका छन्।
२५ वर्षीया बेला हो (परिवर्तित नाम) र उनका प्रेमी २९ वर्षीय पिटर त्सुई (परिवर्तित नाम) २०२० को डिसेम्बरमा बेलायत पुगेका थिए। बेला हो अहिले म्यानचेस्टरमा काम खोजिरहेकी छिन्। उनले व्यापार, मार्केटिङ र कस्टुमर रिलेसनको क्षेत्रमा कामको लागि सयौं स्थानमा आवेदन दिएकी छिन्। यद्यपि धेरै स्थानबाट उनले प्रतिक्रिया भने पाएकी छैनन्। उनले कामको लागि आवेदन दिँदा हङकङका नागरिक र बेलायतीबीच भेदभाव हुने गरेको बताइन्।
‘हङकङमा रोजगारदाताले आवेदकको क्षमतामा बढी ध्यान दिन्छन्। तर, बेलायतमा उनीहरुले व्यक्तिको अनुभव मात्र होइन, व्यक्तित्व र यो मान्छे कम्पनी कल्चरको लागि सुहाउँछ कि सुहाउँदैन भन्ने पनि हेर्छन्’, उनले भनिन्।
साउथ चाइना मर्निङ पोष्टबाट
Shares

प्रतिक्रिया