हङकङमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो चार दिनयता निरन्तर १ सयभन्दा धेरै छ।
यससँगै हङकङको कोरोना मृत्युदर पनि विश्वकै उच्च बनेको छ। विशेषगरी हङकङमा कोरोना खोप नलगाएका ज्येष्ठ नागरिकमा मृत्युदर उच्च देखिएको छ।
हङकङका अधिकारीहरुका अनुसार उनीहरुले कोरोना संक्रमणबाट मानिसहरुलाई आवश्यक स्रोत साधन पनि वृद्ध स्याहार केन्द्रहरुलाई उपलब्ध गराइरहेका छन्।
यद्यपि यो प्रयास उनीहरुलाई कोरोनाबाट बचाउन पर्याप्त हुन नसकेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
यस्तोमा सरकारले ज्येष्ठ नागरिकबारे नयाँ नियम ल्याउनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन्।
उनीहरुले कोरोना खोप नलगाएका ज्येष्ठ नागरिकलाई छिटोभन्दा छिटो खोप दिनुपर्ने बताएका छन्। त्यस्तै संक्रमितलाई छुट्याएर विशेष उपचारको व्यवस्था गरिनुपर्ने आवाज पनि उठिरहेको छ।
हङकङको पछिल्लो ७ दिनको औसतलाई हेर्ने हो भने प्रति एक लाख मानिसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ दशमलव ८ देखिएको छ।
दोस्रो स्थानमा रहेको लाटिभामा यो संख्या १० दशमलव ७१ र तेस्रोमा रहेको जर्जियामा यो संख्या ९ दशमलव ०५ देखिएको छ।
शुक्रबार हङकङमा लगातार तेस्रो दिन कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए।
यससँगै हङकङमा कोरोनाका समग्र संक्रमितको संख्या पनि ४ लाख ३ हजार पुगेको छ।
त्यस्तै शुक्रबार कोरोना संक्रमणको कारण १३६ जनाको मृत्यु भएको थियो। शुक्रबार मृत्यु हुनेमध्ये ९७ जनाले कोरोना खोप लगाएका थिएनन्।
फेब्रुअरी २५ देखि मार्च ४ सम्ममा हङकङमा १ हजार ८६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
त्यसअघि हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ थियो।
हङकङका ७२ प्रतिशत ज्येष्ठ नागरिक स्याहार केन्द्रमा कोरोना संक्रमण फैलिएको छ।
Shares

प्रतिक्रिया