हङकङमा कोभिड–१९ बाट संक्रमित भएका मानिसहरुलाई सामुदायिक आइसोलेसन केन्द्रमा पठाउने व्यवस्था गर्न नयाँ हटलाइन प्रणाली सुरु गरिएको छ।
नयाँ प्रणाली अनुसार आइसोलेसन केन्द्रको लागि सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका र घरमा क्वारेन्टिनमा बस्नु उपयुक्त नभएका मानिसहरुलाई प्राथमिकता दिइनेछ।
हङकङका सुरक्षा प्रमुख क्रिस टाङ पिङ–केउङले आइतबार त्सिङ यीस्थित नयाँ आइसोलेसन केन्द्रको निरीक्षण गरेका हुन्। हङकङ प्रमुख क्यारी लामले यसअघि सामुदायिक आइसोलेसन केन्द्रको व्यवस्था गर्न निर्देशन दिएकी छिन्।
मानिसहरुले ह्वाट्सएप, इमेल र वीच्याटमार्फत नियामकलाई म्यासेज गरेर आइसोलेसन केन्द्रको लागि स्थान सुरक्षित गर्न सक्छन्। सुरक्षा प्रमुख टाङले सोमबारसम्ममा यो प्रणालीअन्तर्गतका पहिलो चरणका संक्रमितलाई आइसोलेसन केन्द्रमा पठाइने बताएका छन्।
यो प्रणालीको माध्यमबाट संक्रमितलाई जतिसक्दो छिटो आइसोलेसनमा पठाउन सकिने अधिकारीहरुले बताएका छन्। आइसोलेसन केन्द्रमा पठाउनेबारे निर्णय खाली कोठा र मानिसहरुको व्यक्तिगत अवस्थालाई ध्यानमा राखेर गरिने सुरक्षा प्रमुख टाङको भनाइ छ।
यसले आगामी दिनमा हङकङका कोरोना संक्रमितका परिवार पनि सुरक्षित हुन सक्ने विश्वास अधिकारीहरुले व्यक्त गरेका छन्।
बेइजिङको सहयोगमा हङकङमा ३९ सय बेडको आइसोलेसन केन्द्र निर्माण गरिएको हो। हङकङमा अहिले कोरोना संक्रमितको लागि २३ सामुदायिक आइसोलेसन केन्द्र छन्।
Shares

प्रतिक्रिया