हङकङ सरकारले आगामी सातादेखि ‘घरघरमा खोप’ अभियान सुरु गर्ने भएको छ।
सरकारले १० हजार ज्येष्ठ नागरिक तथा अशक्तलाई कोभिड–१९ विरुद्धको खोप पुर्याउने उद्देश्यका साथ नयाँ योजना अघि सारेको हो।
हङकङमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएसँगै सरकारले नयाँ योजना अघि सारेको हो। सरकारले थप माग भएको अवस्थामा यो कार्यक्रमलाई थप विस्तार गर्न सकिने बताएको छ।
यद्यपि विभिन्न संस्थाहरुले भने यो कार्यक्रमको लागि हङकङलाई थप खोप आवश्यकता पर्ने बताएका छन्।
उनीहरुले यो कार्यक्रमले सहयोगको खाँचो परेका १० मध्ये १ जनाले मात्र राहत पाउने बताएका छन्। यसअघि सामाजिक सेवा एजेन्सी र सांसदहरुले घरघरमा खोप कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए।
प्याट्रिक निप टाक–कुएनका सेक्रेटरीले आइतबार हङकङमा करिब ५० हजार ज्येष्ठ नागरिक तथा अशक्त रहेको र उनीहरुलाई अहिले सरकारको खाँचो रहेको बताएका थिए। यस्तोमा सरकारले अहिले अघि सारेको योजना अपर्याप्त रहेको उनको भनाइ छ।
हङकङको योजनालाई हङकङ काउन्सिल अफ सोसल सर्भिस (एचकेसीएसएस)ले कार्यान्वयन गर्नेछ। साथै मेडिकल सोसाइटिज अफ हङकङले पनि उसलाई साथ दिनेछ।
एचकेसीएसएसले यो कार्यक्रमको लागि आवश्यक तयारी पूरा भइसकेको बताएको छ।
यो कार्यक्रममा आवश्यक पर्ने नर्स, डक्टर र सामाजिक कार्यकर्तालाई आवश्यक स्थानमा खटाइसकिएको एचकेसीएसएसले उल्लेख गरेको छ।
सरकारका प्रवक्ताले मंगलबार घरघरमा खोप अभियान निकै राम्रो योजना रहेको उल्लेख गरेका छन्। हिँडडुलमा समस्या भएका सबै मानिसलाई घरमा नै खोप पुर्याउने विषयमा अहिले सरकारले छलफल गरिरहेको उनले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया