हङकङमा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि बेइजिङबाट ७५ जनाको स्वास्थ्यकर्मीको टोली हङकङ आइपुगेका छन्। चीनले हङकङलाई कोरोना नियन्त्रण गर्न एक हजार स्वास्थ्यकर्मी पठाएको बताएको छ। सोही अनुसार पहिलो चरणमा ७५ जना स्वास्थ्यकर्मीको टोली हङकङ आइपुगेको हो।
अहिले बेइजिङबाट आएका स्वास्थ्यकर्मीहरुले एसिया–वर्ल्ड एक्स्पो स्थित आइसोलेसन केन्द्रमा रहेका कारोना संक्रमित ज्येष्ठ नागरिकको उपचारमा सहयोग गर्नेछन्।
यसै साता बेइजिङबाट थप तीन सय स्वास्थ्यकर्मीको टोली हङकङ आइपुग्ने अपेक्षा छ। हङकङमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेको समयमा बेइजिङले हङकङलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्यकर्मी पनि सहयोगस्वरुप पठाएको हो।
कोरोना महामारीको कारण अहिले समस्यामा रहेको हङकङमा दैनिक मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ। पछिल्लो २४ घण्टामा मात्र हङकङमा २४९ जनाको मृत्यु भएको थियो। यससँगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ४ हजार २७९ पुगेको छ।
यसैबीच हङकङ प्रमुख क्यारी लामले भने कोरोना खोप अभियानलाई तीव्रता दिँदै मृत्युदर घटाउनुपर्ने बताएकी छिन्। यद्यपि अन्य अधिकारीहरुले भने अहिले सरकारले संक्रमितको उपचारमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै आएका छन्।
कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको विषयमा बोल्दै लामले मानिसहरुलाई सुरक्षित राख्न सरकारले सक्दो प्रयास गरेको बताएकी छिन्।
उनले एक वर्षभन्दा लामो समयदेखि मानिसहरुलाई कोरोना खोप लगाउन आग्रह गर्दा पनि धेरै मानिस छुटेको उनको भनाइ छ। त्यसैको असर अहिले कोरोना मृत्युदरमा देखिएको उनको भनाइ छ।
यद्यपि हङकङमा कोरोना संक्रमणको लागि थप कडा नियम भने नबनाइने लामले बताएकी छिन्।
Shares

प्रतिक्रिया