हङकङ सरकारले कोभिड–१९ को संक्रमणको कारण होम क्वारेन्टिनमा रहेका ३ लाख मानिसलाई थप सहयोग उपलब्ध गराउने भएको छ।
पछिल्लो समय ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएसँगै हङकङ सरकारले होम क्वारेन्टिनमा बस्नेहरुलाई सहायताको नयाँ योजना अघि सारेको हो।
हङकङमा कोरोनाका संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि उच्च मात्रामा बढेको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्यामा हङकङ वुहानभन्दा पनि अगाडि देखिएको छ। हङकङमा अहिलेसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ९९३ पुगेको छ।
हङकङ प्रमुख क्यारी लामले आइतबार बेइजिङले दिँदै आएको सहयोग जारी रहने आश्वासन दिएकी छिन्। त्यस्तै हङकङमा उपभोग्य सामग्रीको पनि अभाव नहुने उनको भनाइ छ।
यसअघि शेन्जेनका अधिकारीले हङकङका ट्रक चालकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेका थिए। यसले आगामी दिनमा हङकङमा उपभोग्य सामग्रीको अभाव हुन सक्ने आशंका बढेको हो।
हङकङले दैनिकरूपमा ६० हजार महामारीविरुद्धको किट्स वितरण गर्ने बताएको छ। यससता कोरोना संक्रमितको उपचारको लागि थप ६ ओटा सरकारी क्लिनिक तोकिएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको उपचारको लागि तोकिएका स्वास्थ्य संस्थाको संख्या २३ पुगेको छ।
Shares

प्रतिक्रिया