ती गोर्खा सैनिक जो नेपालमा बिहे गर्थे, हङकङमा फिलिपिनी केटीसाथी राख्थे

ती गोर्खा सैनिक जो नेपालमा बिहे गर्थे, हङकङमा फिलिपिनी केटीसाथी राख्थे

सन् १९९७ मा चीनलाई हस्तान्तरण गर्नुअघि हङकङमा बेलीयती गोर्खा सैनिक थिए (एससीएमपी)


जेसन वर्डी
बैशाख २६ , हङकङ

गतसाता हामीले हङकङमा खटिएका बेलायती सैनिकहरुले चिनियाँ महिलासँग गाँसेको विवाहेत्तर सम्बन्धलाई नियालेका थियौँ। सन् १९८० र ९० को दशकमा सम्भवतः हजारौँ गोर्खा सैनिकहरुले हङकङमा फिलिपिनी महिला घरेलु कामदारहरुसँग करिब उस्तै खालको सम्बन्ध राखेका थिए। 

वर्षौंसम्म आफ्नो परिवार, आफ्नो मुलुक र संस्कृति छाडेर यहाँ आएका यी आप्रवासीहरुले हङकङमा अनेक बाधा पार गरेर प्रेम, साहचर्य र स्नेह फेला पारेका थिए। उनीहरुले त्यसबेला आफ्नो अलग्गै दुनियाँ बनाएका थिए, जसका बारेमा सर्वसाधारणलाई थाहा थिएन। जुन दुनियाँ अहिले गायब भइसकेको छ।  

गोर्खा र फिलिपिनीहरुको सम्बन्ध प्रायजसो डिस्को, बार्बिक्युमा भएका जम्काभेट र साथीहरुका माध्यमबाट चिनजानपछि सुरु हुने गर्थ्यो। उनीहरुबीचको माध्यम भाषा थियो– अंग्रेजी। तर, उनीहरुको अंग्रेजीमा एकअर्काले जानेका नेपाली र तागालग भाषाका शब्द मिसिएका हुन्थे। बस वा ट्राममा यस्ता जोडी बसेको सिटपछाडि बस्दा सधैँ बिल्कुल नयाँ भाषाको आनन्द लिन पाइन्थ्यो।  

यस्ता जोडीका कारण हङकङभरिका सस्ता गेस्ट हाउसको व्यापार आइतबारको दिन आकासिन्थ्यो। त्यो दिन गोर्खाहरु र फिलिपिनी कामदार दुवै छुट्टीमा हुन्थे। उनीहरु जाने कुनै एकान्त ठाउँ थिएन। त्यसैले जोडीहरुले खर्च भाग लगाएर गेस्ट हाउस बुक गर्थे। यसरी भागबण्डा गर्दा खर्च कम हुन्थ्यो। जसका कारण किनमेल गर्न, साथीहरुलाई भेट्न र खाना खान पनि पैसा बच्थ्यो।

उनीहरुलाई हेर्ने नजर अवश्य पनि लैंगिक विभेदकारी थियो। मजाक मजाकमा ‘लोग्नेमान्छेको जातै यस्तो’ भनेर गोर्खा सैनिकहरुको क्रियाकलापलाई छुट दिइन्थ्यो भने फिलिपिनी महिलाहरुलाई ‘चरित्रहीन’ मान्ने गरिन्थ्यो। उनीहरुसँग व्यवहार पनि त्यही हिसाबले गरिन्थ्यो।

फिलिपिनी महिलाहरुलाई भद्दा तरिकाले ‘सुन दाँते’ भन्ने गरिन्थ्यो। यसले जसरी पनि पैसा धुत्न सक्ने फिलिपिनीहरुको कथित क्षमतातर्फ संकेत गर्थ्यो।

हरेक गोर्खा सैनिकको बिहे तिनका बाउआमाले नेपालमै टुंगो लगाइदिएका हुन्थे। त्यसमाथि गोर्खा ब्रिगेडको काइदाअनुसार उनीहरुलाई गैरनेपाली महिलासँग बिहे गर्न प्रतिबन्ध थियो। जसका कारण गोर्खाहरुको व्यक्तिगत छनोटको दायरा एकदमै साँघुरो थियो। त्यसमाथि पनि उनीहरुको बिहे जात, थर र कुलले निर्धारण गर्थ्यो।

फलस्वरुप तिनले हङकङमा आफ्नै रोजाइका फिलिपिनी केटीसाथी बनाउँथे। त्यस्तै, फिलिपिनी महिलाहरुले पनि उनीहरुलाई प्रेमीका रुपमा रोज्ने गर्थे।

अधिकांश गोर्खाहरुले १५ वर्ष सेवा गर्थे। त्यसमध्ये हङकङ, ब्रुनाइ र बेलायत जहाँ भए पनि करिब तीन वर्ष मात्र तिनका पत्नी र बालबच्चा साथमा हुन्थे। निश्चित पदमाथि बढुवा भएपछि मात्रै तिनले आफ्नो परिवारलाई सधैँ साथमा राख्न पाउँथे।

यस्तो अस्वाभाविक परिवेशमा त्यति लामो समय बस्दा गोर्खाहरुको अस्थायी–स्थायी पिरती र विवाहेत्तर सम्बन्ध कायम हुनु अपरिहार्य थियो। ‘नत्र उनीहरुको कामेच्छा कम गर्ने दबाइ दिनुपर्यो वा सधैँ खेल खेलाएर थकाउनु पर्यो,’ यस विषयका जानकार एक व्यक्तिले मजाकमा भने।

जब कुनै गोर्खा सैनिककी पत्नी नेपालबाट हङकङ बस्न आउँथिन्, तब ती सैनिकले चुपचाप आफ्नी फिलिपिनी केटीसाथीलाई छाड्नुपर्थ्यो। र, बाहिरी रुपमा वैवाहिक जीवन ठिकठाक रहेको देखाउनुपर्थ्यो– कमसेकम केही वर्षका लागि।

के चलिरहेको छ, सबैलाई थाहा हुन्थ्यो। नत्र यस्ता मामिला संकटको विन्दुमा नपुगुञ्जेल कसैले वास्ता गर्दैनथ्यो। तर, फिलिपिनी महिला अचानक गर्भवती भए, अथवा इष्र्यालु पत्नीले आफ्नो पतिको लामो समयदेखि चलिरहेको विवाहेत्तर सम्बन्धलाई नदेखेझैँ गर्न अस्वीकार गरिदिए वा कुनै सैनिक ऋणमा डुबे संकट आइपर्थ्यो। अन्यथा यसलाई सैन्य अधिकारीहरुले ‘सुन दाँते समस्या’ भनेर पाखा लगाइदिन्थे।

क्लर्क, प्राविधिकजस्ता अलि शिक्षित गोर्खाहरुमा यस्तो भावनात्मक परिवर्तन कहिलेकाहीँ असम्भव हुन्थ्यो। आप्रवासी कामदार, विदेशमा दीर्घकालीन रोजगारजस्ता कारणले यी गोर्खाहरुले नेपालको गाउँमा बाउआमाले खोजिदिएका (कहिलेकाहीँ) निरक्षर महिलाभन्दा आफ्ना फिलिपिनी केटीसाथीसँग धेरै कुरा मिलेको देख्थे। 

अमिल्दो बिहेले कहिलेकाहीँ गम्भीर वैवाहिक समस्या निम्त्याउँथ्यो। दुःखको कुरा घरेलु हिंसा गोर्खा परिवारमा सामान्य कुरा थियो। जसलाई प्रायः नजरअन्दाज गरिन्थ्यो। र, यसको भएजति सबै दोष भने अन्यायपूर्वक फिलिपिनी ‘सुन दाँते’हरुलाई दिइन्थ्यो। एससीएमपीबाट

 

बैशाख २६, २०७९, साेमबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .