‘स्प्रिङ टेनिस टुर्नामेन्ट’को उपाधि तारामान गुरुङले जिते

‘स्प्रिङ टेनिस टुर्नामेन्ट’को उपाधि तारामान गुरुङले जिते

मगेन्द्र राई
जेठ १, २०७९ आइतबार १८:१, बेलायत

बेलायतमा गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘स्प्रिङ टेनिस टुर्नामेन्ट’को उपाधि तारामान गुरुङले जितेका छन्।

शनिबार अल्डरसटस्थित सैनिक छाउनिको टेनिस सेन्टरमा सम्पन्न प्रतियोगिताअन्तर्गत प्रमुख उपाधी मिन्स सिङ्गल्स डिभिजन ए तर्फको फाइनल खेलमा शीर्ष वरीयताका तारामान गुरुङले  दोस्रो वरीयताका कृष्ण थापा मगरलाई ३–५, ४–१, १०–७ को अन्तरमा हराउँदै च्याम्पियन बनेका हुन्।

पहिलो चरणको राउन्ड रोबिनमा कृष्णसँग हार बेहोरेका तारामानले बेस्ट अफ थ्री गेम अफ फाइभको फाइनल खेलमा पहिलो सेट गुमाएका  थिए। तर तारामानको कन्सिस्टेन्ट ग्राउन्ड स्ट्रोकले कृष्णलाई अनफोर्स एरर गराउन बाध्य बनाउँदै दोस्रो सेटमा कमब्याक भएर १–१ बराबर गरे। तारामानले अन्तिम सेटको सुपर ट्राईब्रेक खेलमा कृष्णविरुद्ध पुनः दबाब सिर्जना गरेर अग्रता लिँदै १०–७ को अन्तरमा उपाधि रक्षा गरे।

उनी उक्त प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हुन्। विन्टर टुर्नामेन्टका विजेता शीर्ष वरीयताका वारोक राई चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि गुरुङ शीर्ष वरीयताको स्थान लिएका हुन्।

‘टप सिडको रुपमा प्रतियोगितामा प्रवेश गरेपछि पहिलो सेट गुमाउँदा आफूलाई हार्छु जस्तो लागेन? जित निकाल्न कुनै स्ट्राटेजी र गेम प्लान पनि थियो कि?

नेपालखबरको प्रश्नमा तारामानले भने, ‘खेल निकै प्रतिस्पर्धात्मक हुन्छ भन्ने मेरो अनुमान त थियो, तर पनि म मानसिक रुपमा त्यो दबाब झेल्न सक्छु भन्ने आत्मविश्वास कायम नै थियो, जित निकाल्छु भन्ने लागेको थियो। तर त्यस्तो खासै कुनै गेम प्लान, ट्याक्टिस र स्ट्राटेजी भने थिएन, मैले आफ्नो खेल खेले, त्यही खेलले जित निकाल्न सम्भव भयो।’

तारामान नेपालका पूर्वजुनियर राष्ट्रिय खेलाडी हुन्। तारामान र कृष्ण दुवै बेलायती सेनामा कार्यरत छन्। हालसम्म यी दुई खेलाडीहरुको  हेड टु हेड रेकर्ड  ३–० छ।

तारामान र कृष्ण आगामी जुन ५–११ मा नेपालको पोखरामा सम्पन्न हुन लागेको ‘नवौं राष्ट्रिय खेल’ मा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै टेनिस प्रतियोगिता भाग लिँदै छन्। 

त्यसैगरी डिभिजन बी,  सी र डीतर्फ नमराज गुरुङ, मोती घले र रामकुमार गुरुङले क्रमशः राजन फुँयाल, भीमप्रसाद राई र सहदीप गुरुङलाई हराएर विजेता बनेका छन्।

त्यसैगरी मिन्स डबल्स को डिभिजन ए तर्फ धिरज र अजितको जोडीले ललित र मिलनको जोडीलाई हराएको थियो भने डिभिजन बीतर्फ धन र भीष्मको जोडीले मोती र बुद्धिको जोडीलाई पाखा लगाएको थियो।

प्रतियोगितामा कूल ६७ खेलाडी सहभागी भएका थिए। 

विजेता खेलाडीलाई क्लबका अध्यक्ष हर्क गुरुङले ट्रफी प्रदान गरे। क्लबले आगामी जुलाई ९ का दिन कोल्चेस्टरस्थित ग्रास कोर्टमा समर टुर्नामेन्ट आयोजना गर्ने जानकारी गराएको छ।

क्लबले हरेक वर्ष विन्टर, स्प्रिङ, समर र औटम गरी ४ प्रतियोगिता सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .