हङकङका नेपालीहरूले अन्तर्राष्ट्रिय सगरमाथा दिवस ‘एभरेस्ट डे’ मनाएका छन्।
हरेक मे २९ तारिखका दिन नेपाल र नेपाल बाहिर विश्वका विभिन्न स्थानहरुमा मनाउँदै आएको एभरेस्ट डे गत आइतबार हङकङमा विविध कार्यक्रम गरी मनाइएको छ।
‘मिक्स एन्ड म्याच’ संस्थाले हाइकिङ र समुद्रिक तट सरसफाइ गरेर दिवस मनाएको हाे।
उनीहरूले आइतबार लान्ताउ टापुको सेक पिक प्रहरी स्टेसनबाट हाइकिङ सुरु गरि सरसफाइ गर्दै लो कि वान समुद्री तटसम्म पुगी सरसफाइ गरेका थिए। उनीहरुको कार्यलाई हङकङ सरकारले धन्यवाद ज्ञापन गरेका छ।
मिक्स एन्ड म्याच नेपाली पुरुषहरुले हङकङका चिनियाँ महिलाहरुसँग घरजम गरी हङकङमा मै बसोबास गर्दै आइरहेका नेपालीहरुको संस्था हो।
एभरेस्ट डे मनाउने क्रममा संस्थाका अध्यक्ष दिना बगालेले नेपालखबरलाई भने ‘विदेशी भूमिमा हाईक र सरसफाई गरेर सगरमाथामा फोहर गर्नुहुन्न, त्यसको सरसफाइ गर्नु पर्छ भन्ने हाम्रो सांकेतिक सन्देश हो, अहिले सगरमाथा आरोही टोलिहरुले फोहर मैला गरेर वातावरण प्रदुषित भएको छ। जसले सगरमाथा को सुन्दरता र पर्यावरण नष्ट हुँदै गएको छ।’
उनले थपे, ‘यो क्रम रोकिएन भने भविष्यमा संकट आउन सक्छ। फेरि हाम्रो श्रीमतीहरु चिनियाँ भएकोले हाम्रा बालबालिकालाई नेपालको भौगोलिक र संस्कृति बारे बुझाउन, सिकाउन र जानकारी गराउन पनि एभरेस्ट डे यसरी मनाएका हौँ।’
त्यसै गरी नेपाली महावाणिज्यदूत हङकङले चिम सा सुई स्थित रोयल गार्डेन होटलमा अन्तर्रास्ट्रिय एभरेस्ट डे तथा १५ औँ गणतन्त्र दिवस मनाएको छ। कार्यक्रम महावाणिज्यदूत उदय बहादुर राना मगरले सम्बोधन गरेका थिए। एनआरएनए हङकङ सह आयोजक रहेको थियो।
सन १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गरेको सम्झनामा अन्तर्राष्ट्रिय रुपमा एभरेस्ट डे मनाउन थालिएको हो।
प्रतिक्रिया