कोभिड–१९ को महामारी सुरु भएको दुई वर्ष पूरा भइसकेको छ। बिस्तारै विश्वका धेरै मुलुक सामान्य जनजीवनतर्फ फर्किएका छन्।
तर, हङकङमा भने अझै पनि कोरोना नियन्त्रणका प्रतिबन्धहरु कायमै छन्। यस्तोमा हङकङले पुनः विश्वको ‘उड्डयन हब’ बन्ने अवसर गुमाउँदै गएको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)ले बताएको छ।
आईएटीएका महानिर्देशक विली वाल्सले पछिल्लो समय अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरु हङकङ फर्किन चाहेको तर यसो गर्नु सहज नभएको बताएका हुन्। उनले अहिले हङकङको उडान भर्न नपाएका एयरलाइन्स कम्पनीहरुले अब अर्को बजारको खोजी गर्न थालेको बताए। यद्यपि उनीहरु अझै पनि हङकङलाई नै केन्द्र बनाएर उडान भर्ने चाहनामा भने रहेको वाल्सको भनाइ छ।
हङकङले केही कडा किसिमको भ्रमण प्रतिबन्ध हटाएको छ। तर, बाहिरबाट आउने मानिसको लागि सात दिनको अनिवार्य होटल क्वारेन्टिनको व्यवस्था गरेको छ।
अन्य एसियाली मुलुकले भने बिस्तारै बाहिरबाट आउने मानिसलाई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउन थालिसकेका छन्। सिंगापुर, मलेसिया र भियतनामजस्ता मुलुकले भने यसअघि नै बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टिनको व्यवस्था हटाइसकेका छन्।
महामारीपूर्वको अवस्थामा इमिरेट्स एयरलाइन्सले हङकङबाट दुबईको लागि दैनिक चारवटा उडान भर्थ्यो। तर, अहिले उसले एउटा मात्र उडान भरिरहेको छ त्यो पनि बैंकक हुँदै जाने गरेको छ।
कम्पनीले आगामी दिनमा हङकङमा थप विमान राख्ने योजना पनि बनाएको छैन।
त्यस्तै अन्य एयरलाइन्स कम्पनीले पनि हङकङ चीन र पश्चिमा मुलुक तथा एसिया अष्ट्रेलियालाई जोड्न महत्वपूर्ण भए पनि कोरोना प्रतिबन्धको कारण विकल्प खोज्नुपर्ने अवस्था रहेको बताएका छन्।
प्रतिक्रिया