हङकङले बिहीबारबाट आफ्नो विमान उडानमा प्रतिबन्धको संयन्त्रलाई थाती राख्ने भएको छ।
यससँगै अब कोभिड–१९ संक्रमित यात्रु ल्याएको कारण कुनै पनि विमानको उडानमा प्रतिबन्ध लाग्ने छैन।
साउथ चाइना मर्निङ पोस्टका अनुसार कुनै निश्चित उडानलाई प्रतिबन्ध लगाउने नियमले सामाजिक हिसाबमा पनि नोक्सानी पुगेको र बिस्तारै सामान्य जनजीवनमा फर्किने नीतिअनुसार नै उक्त प्रतिबन्धको नियम तत्कालैदेखि लागू हुने गरी हटाइएको हो।
यससँगै अहिले प्रतिबन्ध लगाइएको चार रुटमा सम्बन्धित विमानले उडान भर्न सक्नेछन्।
बिहीबार हङकङ सरकारले एक विज्ञप्ति जारी गर्दै बाहिरबाट आउने मानिसले अब थप एउटा कोरोना परीक्षण गर्नुपर्ने हुन्छ। यो परीक्षण हङकङ आएको तेस्रो दिन गर्नुपर्ने हुन्छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यो नियम ल्याइएको सरकारले बताएको छ।
पछिल्लो केही समययताको विवरण अध्ययन गर्दै सरकारले यस्तो कदम चालेको हो।
यो विदेशी विद्यार्थी हङकङ आउने सिजन भएकाले उनीहरुलाई मध्यनजर राख्दै सरकारले उडानमा थप सहज गर्ने निर्णय गरेको हो। त्यस्तै बाहिर रहेका हङकङका नागरिकलाई पनि राहत पुग्ने अधिकारीहरुले बताएका छन्।
बाहिरबाट आउने मानिसहरुबाट हङकङमा कोरोना फैलिने सम्भावना पनि कम देखिएकाले हङकङले उडानमाथिको प्रतिबन्धको संयन्त्र हटाउने निर्णय गरेको हो।
प्रतिक्रिया