हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित तेस्रो रनवे निर्माणमा खटिएका कामदारहरुबीच चक्कु हानाहान भएको छ।
दुईजना आक्रमणकारीले निर्माणमा खटिएका मजदुरमाथि चक्कु आक्रमण गरेको स्थानीय प्रहरीले बताएको छ। शुक्रबार साँझ ५ बजे भएको उक्त आक्रमणमा परी घाइते भएका १० जना मजदुरलाई नर्थ लाटताउ अस्पतालमा भर्ना गरिएको छ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। आईसीयूमा राखेर उनको उपचार भइरहेको छ। त्यस्तै अर्को एक मजदुरको आँखामा गम्भीर चोट लागेको छ।
ती दुई आक्रमणकारी नेपाली पुरुष रहेको सुरुको खबरमा बताइए पनि पछि उनीहरू भारतीय मुलका पन्जाबी रहेको खुलेको छ। प्रहरीले यो झडपमा संलग्न रहेको आरोपमा उनीहरुसहित कम्तीमा पाँचजनालाई पक्राउ गरेको छ। सार्वजनिक स्थानमा हानाहान गरेको आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको छ।
सामशिङतिर जानका लागि मजदुरहरु लाइनमा बसिरहेका थिए। सोही क्रममा दुई पन्जाबी आरोपितले लाइन मिचेका थिए।
सोही क्रममा सुरु भएको विवाद झडपमा परिणत भएको हो। घटनापछि दुई पन्जाबी पुरुष घटनास्थलबाट भाग्ने प्रयासमा थिए तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भाग्ने क्रममा घाइते भएका एकजनाको अहिले उपचार भइरहेको छ।
(सुरुको खबरमा यो घटनामा दुई नेपाली संलग्न रहेको स्थानीय सञ्चार माध्यमले जनाएपनि नेपालखबरले थप बुझ्दा उनीहरू पन्जाबी रहेको खुलेपछि क्षमायाचनासहित सच्याइएको छ।)
प्रतिक्रिया