हङकङका सांसदहरुले पूर्व प्रमुख क्यारी लामको नयाँ कार्यालयको मर्मत सम्भारको लागि ८७ लाख हङकङ डलर छुट्याइएको विषयमा सरकारसँग जवाफ मागेका छन्।
लामका पूर्ववर्ती लेउङ चुन–यिङले सन् २०१७ मा पद त्याग गरेपछि दुई अन्य पूर्व कार्यकारी तुङ चि–ह्वा र डोनाल्ड त्साङ याम–कुएनसँगै एउटै भवनमा कार्यालय चलाउँदै आएका छन्।
उनीहरुको कार्यालय केनेडी रोडमा अवस्थित ऐतिहासिक भवन ग्रेड प्रथममा छ। यो भवन सन् १९०० को दशकमा निर्माण गरिएको थियो।
तर, क्यारी लामको लागि भने छुट्टै कार्यालयको व्यवस्था गर्ने तयारी गरिएको छ। गत महिना अधिकारीहरुले लामको लागि एडमिरल्टीस्थित शपिङ सेन्टर तथा अफिस टावर कम्प्लेक्स प्यासिफिक प्लेसमा क्यारी लामको छुट्टै कार्यालय व्यवस्था गर्न लागिएको बताएका थिए।
एक विज्ञप्ति जारी गर्दै अधिकारीहरुले हङकङकी चौथो प्रमुख कार्यकारीका लागि प्रचारात्मक तथा प्राटोकलसम्बन्धी कार्यका लागि यो कार्यालय स्थापना गर्न लागिएको उल्लेख गरेका थिए। यो कार्यालय निर्माणको काम जुलाईको अन्तिममा कार्यालय तयार हुने उनीहरुको भनाइ छ।
प्रशासन शाखाका अनुसार लामको नयाँ कार्यालय २ हजार ८७४ स्क्वायर फिटमा रहेको छ। यसको मर्मतसम्भारको लागि ८७ लाख हङकङ डलरबराबरको खर्च लाग्ने अनुमान छ।
तीन वर्षको भाडा सम्झौतामा प्रतिमहिना ३ लाख ७७ हजार डलर खर्च हुनेछ।
नयाँ कार्यालयको वार्षिक भाडा नै ४५ लाख हङकङ डलर रहनेछ।
मर्मतसम्भार सहित आगामी तीन वर्षमा यसमा २ करोड २३ लाख डलर खर्च हुनेछ। सांसदहरुले नयाँ कार्यालयको खर्च कम नरहेको र ग्रेड १ भवन नै कार्यालयको लागि उपयुक्त रहेको भन्दै यस विषयमा सरकारसँग जवाफ माग गरेका हुन्।
प्रतिक्रिया