जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
कस्तो जुनी दियौ आमा, धन्य कोटीकोटी
अब यौटा मनको खोला तर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ!
विसं २०५६/५७ सालतिर लोकप्रिय गीतकार क्षेत्रप्रताप अधिकारीद्वारा रचित यो गीत खासमा उनले स्वर सम्राट नारायण गोपालका लागि लेखेका थिए रे। गीत गाउन नपाउँदै उनको मृत्यु भएपछि रचनाकारको दोस्रो रोजाइमा अरुणा लामा परेकी रहिछन्। उनी पनि रेकर्डिङ सुरु हुनु अगावै बितिछन्।आफूले सङ्गीत भरेको यो गीत गाउन चन्दन श्रेष्ठको सिफारिसमा तेस्रो रोजाइमा शिष्य रामकृष्ण ढकालको नाम आएछ।
आफ्ना सङ्गीत गुरूले यी माथिका भूमिका बाँध्दै गीत दिँदा आफूलाई पनि केही भइहाल्ने वा मरिहाल्ने पो हो कि भन्ने शङ्का र डरमै ढकालले यो गीत रेकर्डिङ गराएका रहेछन्। त्यतिबेलाको उत्कृष्ट रचनाको पुरस्कार पाएको यो गीतलाई कालो गीत पनि भनिन्थ्यो रे। साहित्यिक विश्लेषकहरू भने यसलाई यथार्थवादी शाश्वत सत्य गीत मान्छन्।
मानिस लगायत पृथ्वीका सबै जीवात्माहरू जन्मपछि मृत्युतर्फ अगाडि बढिरहेका हुन्छन्।
जीवनको अन्तिम विन्दु मृत्यु हो।
ओशोले भनेका थिए, ‘तुम्हारी मृत्युका कारण कोइ दुर्घटना या बिमारी नहीँ है। जन्म लेना ही तुम्हारा मृत्युका कारण है।’
यो कुरा ध्रुवसत्य हुँदाहुँदै पनि जब अकालमा, अल्पायुमा वा दुर्घटनामा कसैको मृत्यु वा हत्या हुन्छ, परिवार, आफन्त, शुभचिन्तक वा प्रशंसकहरूलाई त्यो स्वीकार्न अत्यन्तै गाह्रो हुन्छ, बज्रपात, पीडा वा नरमाइलो महसुस हुन्छ।
जापान र विश्वकै इतिहासमा ८ जुलाई २०२२ शुक्रबारको दिन यस्तै एउटा अकल्पनीय दुःखद घटना घट्यो।
त्यो दिन हङकङमा लामै बर्खेझरी र ताइफुनपछि निलो र सफा आकास देखिएको थियोे। यही मौका छोपेर लामै पदयात्रा गर्ने योजनामा थियौँ। तुङचुङबाट नौ डाँडा हुँदै सनसेट पिकमा बसेर बेलुकीको सूर्यास्त हेर्ने कल्पना गर्दै उकालो लागियो। बाह्र बजेको मध्य घाम, ठाडो उकालो बिस्तारबिस्तार उक्लँदै तुङचुङका गगनचुम्बी घरका बुँइगलभन्दा निकै माथि रुखको छहारीमा बसेर पच्चीस वर्षमा कायापलट भएको तुङचुङको पूर्वाधार निर्माण हेर्दै केहीबेर सुस्तायौँ। मौसम सफा भएकाले समुद्रमाथि बनेको पचपन्न किमि लामो पुलको केही भागसहित मकाउ, चुहाइ र मूलभूमि चीनको सेन्जेन सहरका गगनचुम्बी घरसम्म प्रष्ट देखिन्थे।
सहयात्री प्रितमजीले नेपालमा यस्तै ढुङ्गा छापेको वरपिपलको चौतारीमा सुतेको अतीतमा मलाई पनि पुर्याउँदै गर्दा अर्का सहयात्री मित्र प्रवीन किशोर भाइले भने, ‘हैन के हो दाइ, सिन्जो आबेलाई गोली लाग्यो पो भन्छन् त?’
मैले भनेँ, ‘आजकाल धेरै अनलाइनले हावादारी शीर्षक राखेर समाचार लेख्छन् बिकाउनको लागि, भित्र गुदी अर्कै हुन्छ।’
‘हैन दाइ यो त नेपालखबरले पो देखायो त,’ उनले थपे।
मैले फोन कोट्याएँ। अनलाइनको शीर्षमै तस्बिरसहित ‘जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हानियो’ भन्ने शीर्षक रहेछ।
६७ वर्षीय आबेलाई चुनावी प्रचारको क्रममा नारा सहरमा भाषण गर्दैगर्दा पछाडिबाट गोली हानिएको खबरमुनि उनको संक्षिप्त राजनीतिक परिचय पनि रहेछ।
सिनेमाका अभिनेताजस्तै देखिने अग्लो कद, कालो बाक्लो कपाल, चुस्त देखिने आबेको आकर्षक र शालीन व्यक्तित्व आँखाअगाडि आयो। मैले जानेदेखि जापान नेपाल र नेपालीको असल मित्र, विकास प्रविधिको ठूलो दाता थियो र छँदैछ। अझ लामो समय शासनको बागडोर सम्हालेका आबेको शासनकालमा नेपालले इतिहासमै सबैभन्दा धेरै अनुदान सहयोग प्राप्त गर्यो भनिन्छ।
जापानमा लामै समय बसेर भाषा अध्ययन गरेका प्रितम श्रेष्ठले यो कुनै ग्याङ वा राजनीतिक प्रतिशोधले गरिएको हुनसक्ने अड्कल काटे। जे होस् घाइते भनिएकोले आधुनिक प्रविधिको अगुवा मानिने जापानमा आबे बाँच्लान भन्ने आश गर्दै अलि गह्रौँ पाइला लिएर नौ डाँडातिर उकालो लाग्यौँ।
अब्राहम लिङ्कन, जोन एफ केनेडी, महात्मा गान्धीदेखि इन्दिरा, राजीव गान्धी, जिया उल हक, बेनजीर भुट्टो, मदन भण्डारी, जीवराज आश्रित, अमर लामा र कृष्णमोहन श्रेष्ठसम्मका हत्याका घटनाबारे आआफ्नो बुझाइ छाँट्दै हिँड्दा बाटो काटेको पत्तै भएन।
जङ्गबहादुर राणाको कोतपर्वदेखिको षड्यन्त्र र हत्याको श्रृङ्खला रहस्यमय ढङ्गले राजा वीरेन्द्र वंशनाससम्मका घटना हाम्रै देशमा भए। आमूल परिवर्तन गर्ने भनेर हजारौँ नेपाली जनताको रगत बगाएर अहिलेसम्म आइपुग्दा देश झनझन् डगमगाउँदै, लरबराउँदै कमजोर र शिथिल भएको छ। देशभित्र नेपाली कमै भेटिन थालेका छन् आजकल, बरु पार्टीका मान्छे भेटिन्छन्, धर्मका भेटिन्छन्, जात र क्षेत्रका भेटिन्छन्। सुशासन र समृद्धि नेताहरूको भाषणमा बाहेक अन्यत्र कतै देख्न, भोग्न हाम्रो पुस्ताले पाउलाजस्तो लाग्दैन।
सिन्जो आबेबाट सुरू भएको विचार मन्थन संसार घुमेर बिट मार्नै लाग्दा करिब तीन घण्टामा नाम सान र पाक कुङ आउको दोबाटो आइपुगिएछ।
लहलह घाँस र बुट्यान वनस्पति झुलेका हरियो पहाडको भञ्ज्याङलाई स्पर्श गर्दै आकास र जमिनभरि मडारिएको सेतो कुइरोले स्वदेशमै पुर्यायो केहीबेर हामी सबैलाई। मुइ ओ र चाङचाउ आइल्यान्डको मानव बस्ती परपरसम्म फैलिएको निलो दक्षिण चीन सागर र बीचबीचका हरिया टापुहरुलाई मनभरि हेरेर दायाँपट्टि सन सेट पिकतिरको तेर्पायँतेर्पायँ उकालो लाग्यौँ फेरि।
बाटोभरि सबैले पटक पटक फोन भने कोट्याइ रह्यौँ, आबेको स्वास्थ्य अवस्था बुझ्न।
बिहानको सफा आकास सेतो बादलले ढाकिसकेकोले सूर्यास्त हेर्न पाइने सम्भावना न्यून हुँदै आयो। पृथ्वीको सतहमाथि हरियो घाँसका बीचमा कतै चिम्टयाइलो माटो, कतै ढुङ्गैढुङ्गाको गोरेटो पार गरेपछि करिब एक घण्टामा सनसेट पिक आइपुगियो।
लान्ताउ पिक र ताइओमाथि बादलभित्र अस्ताउँदै गरेको मलिनो सूर्यलाई भिडिओमा कैद गरे प्रितमजीले। फेरि प्रवीन भाइले भने, ‘ए दाइ! लौ आबे बाँचेनछन् बिचरा!’
उनले खबर देखाए फोनमा, ‘गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन।’
हामी सनसेट पिकबाट पाक कुङ आउतर्फ लाग्यौँ। करिब एक घण्टाको ओरालो बाटोमा आँखाभरि प्रकृति भए पनि विचार मन्थनको विषय भने विश्व राजनीति, जापान र सिन्जो आबे रहे।
हजुरबा, बाउ र मावलीका हजुरबाको जापानी राजनीतिको खन्दानी विरासत पछ्याउँदै दोस्रो विश्वयुद्धपछि जन्मेकामध्ये आबे (सन् १९५४) उच्च ओहोदामा पुग्ने पहिलो व्यक्ति थिए। सन् १९९३ देखि सक्रिय राजनीतिमा होमिएका र सन् २००५ मा जुनिचिरो कोइजुमीको मन्त्रीमन्डलमा सामेल भएका उनले २००६ मा जापानको सबैभन्दा कान्छो प्रधानमन्त्रीको कीर्तिमान राखे। स्वास्थ्यको कारण देखाउँदै एक वर्षमै राजीनामा दिएका आबे सन् २०१२ मा पुनः प्रधानमन्त्री बने।
उनी दोस्रो विश्वयुद्धमा गिरेको जापानी सेनाको साखलाई पुनः ब्युँताउन चाहन्थे। ७० वर्ष पुरानो जापानको रक्षा नीति बदल्दै जापानी सेना दोस्रो मुलुकमा राख्न पाउने कानुनको वकालत गर्ने आबेले जनताबाट निकै विरोधको सामना गर्नुपर्यो।
निकै गम्भीर अवस्थाको जापानी अर्थतन्त्रलाई आफ्नो कार्यकालमा सुदृढ गरेका उनको भिजन आबेनोमिक्स भनेर चर्चित रह्यो।
विदेश सम्बन्धमा अमेरिका र पश्चिमासँग अझै बढी सामीप्य र उनको ताइवान नीतिका कारण चीनसँग भने सम्बन्ध सुमधुर कहिल्यै हुन पाएन।
आफ्नो चुनाव प्रसारको सिलसिलामा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाकाहाकी ‘हामी जापान, कोरिया र नेटो गठबन्धनको रक्षा गरिरहेका छौँ। हाम्रो सेना तैनाथीका लागि उनीहरुले थप पैसा तिर्नुपर्ने हुन्छ, अन्यथा सेना हटाउँछौँ’ भनेर धम्की दिएका थिए। राष्ट्रपतिको चुनाव जितेर शपथ नलिँदै ट्रम्पलाई बधाई दिन पुग्ने पहिलो विदेशी नेता थिए आबे। जापानका ‘किङमेकर’ उपनाम पाएका आबेले जापानमा सबैभन्दा लामो शासन गर्ने कार्यकारी प्रमुखको कीर्तिमान राख्दै स्वास्थ्यको कारण सन् २०२० मा राजीनामा दिए। उनले चाहेको भए सायद अहिलेसम्म प्रधानमन्त्री बनिरहन सक्थे र यसरी उनको मृत्यु नहुन पनि सक्थ्यो।
देशलाई बर्बादी र चरम सङ्कटको भूमरीमा पुर्याएर पनि सत्ता छोड्न नमान्ने हाम्रै नजिकको श्रीलंकाका राजापाक्षे खानदानले देशको हालत कहाँबाट कहाँ पुर्यायो? त्यत्रो महासङ्कटमा पनि पार्टीको नभई देशको झण्डा बोकेर आन्दोलनमा होमिएका श्रीलंकाली जनताको राष्ट्रप्रेम मान्नै पर्छ।
मृत्युपर्यन्त सत्ता वा राजनीतिको केन्द्रविन्दुमा रहिरहने हाम्रै देशका नेताहरूको सद्बुद्धि कहिले पलाउने! अक्सिजन मास्क लगाएरै भए पनि बालुवाटारमा मन्त्रिमण्डल र पार्टीको बैठक बोलाएको हेर्ने भुक्तभोगी पुस्ता हौँ हामी। यो मानेमा २५० वर्ष पुरानो पैत्रिक सत्ता हस्तान्तरण गरेर सामान्य नागरिक बनेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई मान्नै पर्छ। मेरो भनाइको तात्पर्य राजतन्त्रको पुनर्स्थापना भने पटक्कै होइन।
सत्तालिप्सा भन्दा राष्ट्रहित ठूलो भन्दै प्रजातान्त्रिक संस्कारको पर्याय बनेका आबेको लोकप्रियता पछिल्लो समय अझै चुलियो। स्वास्थ समस्याबाट राजीनामा दिएका आबे मृत्युपर्यन्त आफ्नै लिबरल पार्टीको प्रचारप्रसारमा सक्रिय रहे।
अमेरिकामा जस्तै घरघरमा हतियार राख्ने कानुनको चाहना राख्ने आबेको इहलिला घरेलु हतियारले नै समाप्त भयो।
कुनैपनि मान्छे सर्वगुणसम्पन्न हुँदैन। राजनीतिमा लाग्नेहरूको त झनै पक्षविपक्ष भइहाल्छ। समग्रमा हेर्दा सिन्जो आबे जापान र जापानी जनताको सर्वोपरि हित सोच्ने एक असल राजनेता थिए। त्यो सबैलाई मान्य नहुन पनि सक्छ।
उनको मृत्युपछि देशविदेशमा राष्ट्रिय झण्डा झुकाउनेदेखि समवेदनाका ओइरो देख्दा थाहा भयो, उनले जीवनमा नामजत्तिकै मलामी कमाएका रहेछन्। जुन मानव जीवनको जुगजुगसम्म नमासिने सबैभन्दा ठूलो अमूल्य सम्पत्ति हो।
त्यसैले त ओशो भन्छन्, ‘जिन्दगी तो उसने जिया है जिसकी मौत पर जमाना अफसोस करे, बरना जन्म तो हर किसीका मरने के लिए ही होता है।’
सिन्जो आबेलाई हार्दिक श्रद्धाञ्जली!
प्रतिक्रिया