११ हजार डलर फर्काउन हङकङका दलालसँग यस्तो लडाइँ

११ हजार डलर फर्काउन हङकङका दलालसँग यस्तो लडाइँ

टीका राना
असार ३१, २०७९ शुक्रबार २२:२८, हङकङ

गएको डिसेम्बरमा बज्यैलाई घुमाउन हङकङ ल्याउँदै थियौँ। फुपू र पुसाइँ पनि सँगसँगै आउँदै हुनुहुन्थ्यो। उहाँहरुको लागि क्वारेन्टिन होटल बुकिङ गर्न मैले होटलहरुसँग कुराकानी गरिरहेकी थिएँ। हङकङ सरकारले ४० वटा (हाल ६७ वटा) होटललाई क्वारेन्टिन होटेलको रुपमा छुट्याएको र त्यसभित्रबाट कोठा खोज्नुपर्ने हुनाले ती होटलहरुमा सम्पर्क गरिरहेकी थिएँ। म यता होटल खोजिरहेकी थिएँ, उता मेरो अर्का पुसाइँले युङलुङस्थित युवराज ज्ञवालीको पसल पशुपति स्टोर्समा गई टिकट र होटल क्वारेन्टिन मिलाइदिन भनिसक्नुभएको रहेछ। 

आफ्नो १२ घण्टे ड्युटीमा व्यस्त हङकङका नेपालीलाई ‘अफिसियल’ काममा धाइराख्न फुर्सद हुँदैन। त्यसैले हङकङमा अधिकांशले नेपाली दलालहरुलाई महँगो रकम तिरी आवश्यक कागजपत्र बनाउने अभ्यास छ। यस्तो प्रक्रियामा सर्वसाधारण नेपालीलाई उल्लु बनाई ठूलो रकम फुत्काउने केही दलालका कारण नेपाली समुदाय लामो समयदेखि हायलकायल छ। 

सन २०१९ देखि फैलिएको कोभिड महामारीका कारण नेपाली समुदायले यस्तो सास्ती झन् बढी भोग्नु परिरहेको छ। कोभिड रोकथामका लागि हङकङ सरकारले निकै कडा नियम लागू गर्यो। उसले मुख्यभूमि चीनमा झैँ अन्तर्राष्ट्रिय उडान सबै बन्द गर्यो। विदेशबाट फर्किएका आफ्ना नागरिकलाई पनि निश्चित मापदण्ड पुरा गरेर मात्र चार्टर्ड उडानमार्फत हङकङ छिराउने नियम बनायो। यसको मारमा अरुजस्तै हङकङमा बसोबास गरिरहेका करिब ३० हजार नेपाली पनि पर्न गए। अत्यावश्यक कामले मातृभूमि गएका नेपालीलाई हङकङ फर्कन लामो कष्टसाध्य प्रक्रियाबाट गुज्रनुपर्यो। यस्तो अभ्यास चलिरहेको हङकङमा मेरो पुसाइँ अपवाद हुनुहुन्थेन, वहाँ पनि त्यही बाटोबाट हिँड्नु भयो। 

ज्ञवालीले ३ जनाको हवाई टिकट र क्वारेन्टिन होटलको ४३ हजार हङकङ डलर (करिब र७ लाख रुपैयाँ) लाग्छ भनेपछि वहाँले पैसा पनि दिइसक्नुभएको रहेछ। एकतर्फी हवाई टिकटको १५ हजार र होटलको २८ हजार लिइएको रहेछ। ज्ञवालीले भ्यु नर्थ पोइन्टमा अवस्थित रामदा हङकङ ग्रान्ड फ्यामिली होटलमा रुम बुक गरिदिएका रहेछन्। त्यो बजेट (सस्तो) होटल हो। त्यत्रो पैसा लाग्ने होटल नै होइन। त्यसको केही समयअघि मेरी कान्छी बहिनी निशा नेपालबाट आफैँले अनलाइन बुकिङ गरेर त्यही होटलमा बसेकी थिइन्। त्यति पैसा तिरेर पुसाइँले टिकट र होटल बुकिङ गरेँ भन्दै आउनुभएपछि मैले रामदा होटलको अनलाइनमा राखिएको कोठाको दररेट हेरेँ। त्यहाँ एक दिनको ८१० हङकङ डलर र ३ हप्ता प्याकेजको १७ हजार १० हङकङ डलर उल्लेख गरिएको रहेछ। 

करिब ११ हजार बढी लिइएको देखेपछि मलाई औडाहा भयो। यो त अति भयो भन्दै मैले ज्ञवालीलाई फोन गरी ‘१० हजार ९९० डलर केको लिएको हो?’ भनी प्रश्न गरेँ। उनले ‘काम गरेको पारिश्रमिक चाहिँदैन? यो कमिसन हो’ भनेपछि मलाई भाउन्न भयो। बज्यैलाई हङकङ ल्याउन परिवारका सदस्यहरुले मरिमरी कमाएको पैसा उठाएका थियौँ। दलालले यसरी दिनदहाडै लुटेको देख्दा रिस उठ्नु स्वाभाविक थियो। 

टिकट र होटलको पैसा तिरिसकिएको थियो, म कराएर के हुन्थ्यो र! तैपनि मैले कुरा उठाउन छाडिनँ।

झञ्झटिलो प्रक्रिया पुरा गरेर निर्धारित समयमा तीन जना हङकङ एयरपोर्ट हुँदै रामदा होटलको क्वारेन्टिनमा आइपुग्नु भयो। उहाँहरु क्वारेन्टिनमा बसेको एक सातामा तीनै जनामा कोभिड संक्रमण देखियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले वहाँहरुलाई अस्पतालमा स्थानान्तरण गरिदियो। एक साता मात्र होटलको बास भएकोले हामीले होटलमा कल गरेर बाँकी दुई साताको पैसा फिर्ता माग्यौँ। होटल प्रशासनले ‘हामीले एजेन्टमार्फत बुक गरेकोले एजेन्टसँगै कुरा गर’ भन्यो। मैले फेरि ज्ञवालीलाई कल गरेँ। उनले पैसा फिर्ता हुँदैन भनी जवाफ फर्काएपछि केहीबेर उनको र मेरो फोनमै भनाभन भयो। मैले फेसबुकमा स्टाटस लेखेर हालिदिएँ।

मैले स्टाटस लेखेपछि त्यसको असर जताततै परेछ। धेरै पीडित थिए, ती बोल्न सकिरहेका थिएनन्। मैले लेखिसकेपछि के थाहा भयो भने ठगिएको हामी मात्र रहेनछौँ। थुप्रै नेपालीले यसरी ठगिएको अनुभव सँगालेर बसेका रहेछन्। तिनले आफ्नो पीडा पोखेर कमेन्ट गरे। मेरो स्टाटस सेयर गरे। त्यो स्टाटस देखेपछि ज्ञवालीले फोन गरेर भने, ‘किन यस्तो लेखेर मलाई बदनाम गर्यौ?’ स्थानीय ट्राभल एजेन्टहरुले आफ्नो खाइपाइ आएको धन्दामाथि असर पर्ने डरले होला लेखेरै मेरो विरोध पनि गरे। तर मलाई त्यसको कुनै मतलब थिएन। मैले आफ्नो आवाज उठाइरहेँ। 

सामाजिक सञ्जालमा भएको बहसले के फाइदा भएछ भने हाम्रो जस्तो केसमा पैसा माया मारेर बसेका कतिपयले पैसा फिर्ता मागेछन्। एजेन्टले बाध्य भएर पैसा फिर्ता पनि गरिदिएछन्। तर ज्ञवालीले चाहिँ मसँग निकै निहुँ खोजिरहे। सामाजिक सञ्जालमा नलेखेको भए दिन्थेँ, लेख्यौ अब होटलले झन् दिँदैन भन्ने आशयका कुरा गर्दै पैसा फर्काउन आनाकानी गरिरहे। तर मैले अडान मरिगए छाडिनँ। 

करिब दुई सातापछि बज्यैहरु कोभिड नेगेटिभ भएर घर फर्किएपछि होटेलले दुई साताको पैसा फर्काइदियो। ज्ञवालीले लिएको एजेन्ट शुल्क चाहिँ ८ हजार मात्र फिर्ता गरिदिए। म सार्वजनिक रुपमै त्यसरी लड्दा पनि ३ हजार डलर पचाइदिए। मजस्तो पढेलेखेको र निर्धक्क बोल्नेको त उपेक्षा गर्ने दलालले नबोल्ने र थाहा नपाउनेहरुको पैसा के गर्दा होलान्, तिनको के अवस्था होला?

मैले त ठगीबारे कुरा उठाउन सकेँ। तर जो पढेलेखेका छैनन्, सहयोग गरिदिने कोही मान्छे छैनन्, तिनलाई त दलालले लुट्नसम्म लुटिरहेका होलान्। सेवा शुल्कको नाममा एउटा होटल बुकिङ गरिदिएको मात्र १० देखि २० हजार डलर (करिब ३ लाख २५ हजार रुपैयाँ) सम्म लिएको उदाहरण थुप्रा छन्। मान्छे अत्यावश्यक काम परेर केही साताको छुट्टी लिएर नेपाल गएका हुन्छन्, तिनलाई समयमै काममा फर्कनुपर्ने भएकोले ती जति पैसा तिर्न पनि विवश छन्। खुनपसिना नभनी रातदिन मरिमेटेर कमाएको पैसा दलालले कुम्ल्याइदिँदा कसको मन नरोला?

महामारीको फाईदा उठाई सर्वसाधारणलाई ठगिरहेका दलालहरुको विरोधमा काम गरिरहेकै बेला म अकस्मात नेपाल जानुपर्ने भयो। १७ जुनमा सिङ्गापुर एयरलाइन्सबाट हङकङ–सिंगापुर ट्रान्जिट हुँदै काठमाडौं पुगियो। काम सकाएर मलाई तुरुन्त हङकङ फर्कनु थियो। तर, हङकङ जान साताको एकचोटि चल्ने नेपाल एयरलाइन्सको टिकट र क्वारेन्टिन होटल पाउन फलामको च्युरा चपाए सरह हुन्छ। टिकट र होटल जति सबै दलालले बुक गरेर राखिदिने हुनाले महंगो शुल्क नतिरी त्यो पाउन सास्ती रहेको माथि नै उल्लेख गरिसकेकी छु।

तैपनि मैले हार मानिनँ। हामी सबै परिवारका सदस्य मिलेर आ–आफ्ना ल्यापटप भिरेर भएभरका क्वारेन्टिन होटलमा पत्राचार गर्यौँ। क्वारेन्टिन होटल सम्बन्धी जानकारी दिन भनी खोलिएको ‘सपोर्ट फर एचके क्वारेन्टिन होटल रिजर्वेसन्स’ फेसबुक पेजमा पनि कसैले टिकट रद्द गरेर होटल छाडेका छन् कि भन्दै धुइँपत्ताल खोज्यौँ। नभन्दै त्यहाँ केही होटलका कोठा खाली रहेको जानकारी पाइयो। महँगो रहेछ। तर, सस्तो होटल पाउन लगभग असम्भव रहेकोले मैले दिनको २ हजार पर्ने कोठा बुक गराएँ।  त्यसो गर्दा न कुनै दलाललाई एक पैसा दिनुपर्यो, न कसैलाई हात नै जोर्नु पर्यो। ठगिने त कुरै भएन, आफ्नो आत्मसम्मान पनि उँचो हुने भयो। 

तर, सर्वसाधारणलाई यी सबै कुरा थाहा छैन। थाहा भएकाहरु पनि झञ्झटिलो प्रक्रियाभित्र छिर्न चाहँदैनन् र दलालको शरणमा पुग्दछन्।  यस्तो कमजोरी बुझेका दलालले पनि भरपुर फाइदा उठाइरहेकोले सर्वसाधारणले तिनलाई महँगो रकम खर्चनुपर्ने बाध्यता छ। त्यसैले पढेलेखेका र समाजलाई राम्रो दिशा दिन खोज्ने तपाईंहामी जस्ता सचेत जमातले समाजका बेथितिका बारेमा बोल्न डराउनु हुँदैन। यदि आँखा चिम्लिएर नदेखेझैँ गरी बस्यौँ भने हङकङेली नेपाली समाज झन् बढी दलालको दलदलमा फस्दै जानेछ। तपाईंहामीले परिकल्पना गरेको हङकङेली नेपाली समाजको अनुहार यस्तो पक्कै होइन होला। 

(एनआरएनए हङकङकी पूर्वसचिव टीका राना पोलिटेक्निक युनिभर्सिटी हङकङबाट नर्सिङमा पीएचडी गर्दैछिन्)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .