हङकङमा चट्याङ लागेर हाइकिङ गएका एक युवकको मृत्यु भएको छ।
शनिबार हाइकिङ गएका २३ वर्षीय युवाको मृत्यु भएको हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार शनिबार बिहान सवा ९ देखि सवा १० बजेको बीचमा हङकङमा तीन हजारभन्दा धेरैपटक चट्याङ गएको थियो।
शनिबार स्थानीय समयअनुसार पौने १० चट्याङ लागेर शा टिन स्थित नुई पो शानमा ती युवा ढलेका थिए। हेलिकोप्टरको सहयोगमा उनको उद्धार गरिए पनि स्थानीय अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
समाचारमा उल्लेख गरिएअनुसार ती युवासहित चारजना साथीहरु शेक मुन एमटीआर स्टेसनबाट हाइकिङमा हिँडेका थिए। त्यसको ३० मिनेटपछि ती युवालाई चट्याङ लागेको थियो। अन्य तीनजना भने घाइते भएका थिए। उनीहरुको अहिले प्रिन्सेस अफ वेल्स हस्पिटलमा उपचार भइरहेको छ।
साउन १५, २०७९, आइतबार
प्रतिक्रिया