एक दिनमा १० घण्टाभन्दा बढी काम गर्ने र महिनामा २० हजार हङकङ डलरभन्दा कम कमाउने २९ वर्षीय हङकङका नागरिक ड्यानियल वाङ आफू विवाह नगरी एकल बस्ने निर्णयमा पुगेका छन्। उनी विवाह गरेर परिवारको खर्च धान्न नसक्ने अवस्था रहेको बताउँछन्।
साताभरको कामले थाक्ने उनी आफ्नो बिदा पनि घरमा नै बसेर बिताउँछन्। विश्वविद्यालयको पढाइ पूरा गरेका उनी पछिल्लो ६ वर्षयता काम गर्दै आएका छन्। उनी आमाबुबा र भाइको साथमा बस्दै आएका छन्। उनी आफ्नो आम्दानीले मुश्किलले खर्च धान्ने गरेको बताउँछन्। उनी आफ्नो आम्दानीले विवाह गर्ने वा आफ्नो लागि छुट्टै घर खरिद गर्ने अवस्थामा नरहेको सुनाउँछन्।
‘यी निकै महँगा छन्, जुन मैले खरिद गर्न सक्दिनँ’, उनले भने, ‘मलाई के लाग्छ भने बरु विवाह नगरी बस्नु ठीक छ।’
उनले विवाह नगरी बस्दा जीवनमा खासै धेरै उतारचढाव नआउने र आफ्नो थोरै बचत पनि आफ्नो र अभिभावकको लागि खर्च गर्न सकिने उनको तर्क छ।
पछिल्लो आधिकारिक तथ्यांक हेर्ने हो भने पनि पछिल्लो समय विवाह गर्ने र बच्चा जन्माउनेको संख्यामा गिरावट आएको छ। बिहीबार हङकङको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक हजार जनसंख्यामा विवाह गर्नेको संख्या महिलामा ६.७ प्रतिशत र पुरुषमा यो संख्या ८ प्रतिशत थियो।
सन् २०१६ मा महिलामा यो संख्या १२.६ प्रतिशत थियो भने पुरुषमा १४.८ प्रतिशत थियो। सन् २०११ मा महिलामा विवाह गर्नेको दर १५.५ प्रतिशत थियो भने पुरुषमा १७.६ प्रतिशत थियो।
त्यस्तै पुरुष र महिला दुवैको विवाह गर्ने उमेर पनि पर सरेको छ। गत वर्ष महिलाको विवाहको औसत उमेर ३०.६ वर्ष पुगेको थियो भने पुरुषको ३२.२ वर्ष थियो। सन् २०१६ मा महिलामा विवाह गर्ने औसत उमेर २९.४ वर्ष थियो भने पुरुषमा ३१.४ वर्ष थियो। सन् २०११ महिलाको विवाहको औसत उमेर २८.९ वर्ष र पुरुषको उमेर ३१.२ वर्ष थियो।
हङकङमा गत वर्ष जन्मिनेको संख्या पनि ३० वर्षयताकै कम विन्दुमा झरेको छ। सन् २०१६ को तुलनामा गत वर्ष हङकङमा जन्मिनेको संख्या दुईतिहाइ घटेर ३६ हजार ९५३ मा झरेको छ। सन् २०१६ मा ६० हजार ८५६ शिशुहरु जन्मिएका थिए। सन् २०११ मा यो संख्या ९५ हजार ४५१ थियो।
त्यस्तै पहिलोपटक बच्चा जन्माउने आमाको औसत उमेर पनि बढेको छ। २०१६ मा पहिलोपटक बच्चा जन्माउने आमाको औसत उमेर ३१.६ वर्ष रहेकोमा गत वर्ष ३२.६ वर्ष पुगेको थियो। सन् २०११ मा पहिलोपटक बच्चा जन्माउने आमाको उमेर ३० वर्ष थियो।
विशेषज्ञहरुका अनुसार यस्तो अवस्था आउनुमा केही मात्रामा कोभिड–१९ को पनि हात छ। महामारीको कारण हङकङको आर्थिक अस्थिरता र भ्रमण प्रतिबन्धले धेरै मानिसको विवाह र बच्चा जन्माउने योजना रोकिएको उनीहरुको भनाइ छ। त्यसको असर गत वर्षको तथ्यांकमा देखिएको हुन सक्छ।
यद्यपि लामो समयदेखि निरन्तर विवाह गर्ने र बच्चा जन्माउनेको संख्यामा देखिएको गिरावटले भने हङकङको सामाजिक र आर्थिक स्थायित्वमा असर पार्न सक्ने उनीहरुले चेतावनी दिएका छन्। त्यसको लागि सरकारले तत्कालै आवश्यक कदम चाल्नुपर्ने उनीहरुको भनाइ छ।
हङकङ युनिभर्सिटीमा सामाजशास्त्रकी सहायक प्राध्यापक डा सु डुओडुओ लामो समयदेखि नै हङकङमा ढिलो विवाह गर्ने, विवाह नगर्ने र बच्चा नजन्माउनेको संख्या नियमितरुपमा लामो समयदेखि नै बढिरहेको बताउँछिन्।
पछिल्लो समय देखिएको प्रवृत्तिले हङकङ र अन्य विकसित अर्थतन्त्रको जनसंख्यीय परिवर्तनलाई प्रतिबिम्बित गरेको उनको भनाइ छ। विकसित अर्थतन्त्र भएको मुलुकमा एकल बस्न रुचाउनेको संख्या धेरै हुने गरेको छ भने महिलाको विवाह र बच्चा जन्माउने उमेर धेरै हुन्छ।
हङकङको महँगी पनि विवाह गर्ने र बच्चा जन्माउनेको संख्यामा गिरावट आउनुको अर्को कारण रहेको सुले बताइन्। विशेषगरी घरजग्गाको भाउले आकाश छुनाले धेरै मानिसहरु आफ्नो नयाँ परिवार सुरु गर्नबाट डराइरहेको उनको बुझाइ छ।
पछिल्लो समय मानिसहरुले विवाह गर्न हतार नगर्ने चलन बढेसँगै समाजमा पनि यो स्वीकार्य हुँदै गएको छ।
हङकङ युनिभर्सिटीका प्राध्यापक पाउल यिप सिउ फाइ अहिलेका युवाको लागि विवाह पहिलो प्राथमिकताको विषय नरहेको बताउँछन्। महामारीको कारण धेरैको रोजगारी गुमेको र आर्थिक अस्थिरता उत्पन्न भएकाले मानिसहरुमा नयाँ परिवार सुरु गर्ने र बच्चा जन्माउने आत्मविश्वास गुमेको उनको भनाइ छ। त्यस्तै सीमा पनि बन्द हुँदा हङकङ र मेनल्याण्ड चीनका नागरिकबीचको विवाह पनि रोकियो। त्यसैले यस्तो अवस्था आएको उनले बताए।
धेरै युवा जोडी विदेशिने क्रम बढेकाले पनि हङकङको जन्मदर घटेको उनले सुनाए। यसैबीच हङकङमा लैङ्गिक असमानता पनि बढेको तथ्यांकले देखाएको छ। हङकङमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ। लैङ्गिक अनुपातको हिसाबमा प्रतिहजार महिलामा पुरुषको संख्या गत वर्ष ८३९ मा झरेको थियो। सन् २०११ मा यो संख्या ८७६ थियो।
प्राध्यापक यिपका अनुसार हङकङका नागरिकले मेनल्याण्ड चीनका महिलासँग पनि विवाह गर्ने भएकाले हङकङमा महिलाको संख्या धेरै भएको हो। हङकङका महिलाहरु शिक्षा तथा आम्दानीको हिसाबमा आफूसरह वा आफूभन्दा राम्रो केटासँग मात्र विवाह गर्छन्।
जसको कारण उनीहरुको विकल्प सीमित बन्न पुगेको छ। तर, केटाहरुको विकल्प धेरै हुन्छ।
‘विवाह र जन्मदर घटिरहनु चिन्ताको विषय हो र लामो समयसम्म यो संख्या कम विन्दुमा नै रहनेछ’, उनले भने। यो संख्याले पछिल्लो समय सहरको वृद्ध जनसंख्या बढ्दो क्रममा देखाएको छ।
विवाह र जन्मदरमा देखिएको घट्दो संख्याले हङकङमा वित्तीय र सामाजिक स्थायित्वमा असर पार्न सक्ने यिपको भनाइ छ। उनले हङकङ सरकारले घरजग्गा सबैले खरिद गर्न सक्ने बनाउने र स्थायी रोजगारीको अवसर सिर्जना गरेर यो समस्याको सम्बोधन गर्नुपर्ने बताए। साउथ चाइना मर्निङ पोस्टबाट
प्रतिक्रिया