अगष्टको पहिलो साता हङकङमा पछिल्लो दुई वर्षयताकै ठूलो घरजग्गाको कारोबार भएको छ। शनिबार हङकङमा दुई प्रोजेक्टका ६६६ युनिटहरु बिक्री भएका हुन्।
सन् २०२० को सेप्टेम्बरयता यति धेरै संख्यामा युनिटहरु बिक्री भएको यो पहिलोपटक हो। शनिबार हेन्डर्सन ल्याण्डले राखेको ३१८ मध्ये १०२ युनिट सुरुवाती दुई घण्टामै बिक्री भएको थियो।
यी सबै युनिट फानलिङस्थित वान इन्नोभेल–आर्कवेमा छन्। अपराह्न ५ बजेसम्ममा भने केवल एउटा युनिट मात्र बिक्री हुन बाँकी थियो।
यी युनिटहरु औसतमा १४ हजार हङकङ डलरमा बिकेका थिए। यो मूल्य नजिकैका क्षेत्रको युनिटको भन्दा ५ देखि १० प्रतिशतसम्म कम हो।
पछिल्लो समय हङकङमा बढ्दो व्याजदरका बीच घरजग्गाको कारोबारमा सकारात्मक नतिजा देखिएको हो। युनिटहरु खरिद गर्नेमा अधिकांश खरिदकर्ता २० देखि ३० को दशकका मानिस थिए।
वान इन्नोभेल आर्कवेको ६०३ युनिट निर्माण प्रोजेक्टको पहिलो चरण हो। पहिलो चरण आगामी मार्च महिनामा सम्पन्न हुनेछ। यो समग्र प्रोजेक्ट तीन चरणमा निर्माण हुनेछ। निर्माणपछि समग्रमा १६ सय युनिट हुनेछन्।
यो प्रोजेक्टका लागि इच्छा व्यक्त गर्ने मानिसको संख्या पनि उल्लेख्य देखिएको छ। शुक्रबार यो प्रोजेक्टको युनिट खरिदका लागि ७ हजार ८०२ जनाले नाम दर्ता गराएका थिए। जसअनुसार औसतमा प्रत्येक युनिटको लागि २५ जना खरिदकर्ता थिए।
त्यस्तै शनिबार नै उल्लेख्य कारोबार भएको अर्को प्रोजेक्ट टुएन मुनस्थित नोभो ल्याण्ड १ए डेभलपमेन्ट प्रोजेक्ट हो। यो प्रोजेक्ट भने सुन हुङ काइ प्रपर्टिज (एसएचकेपी)ले निर्माण गरेको हो। यो प्रोजेक्टमा ३४८ युनिट छन्। जसमध्ये दिनको समाप्तिसम्ममा ३३६ युनिट बिक्री भएका थिए।
यो प्रोजेक्टका युनिट पनि औसतमा १२ हजार ८४० हङकङ डलरको मूल्यमा बिक्री भएका थिए। यो प्रोजेक्टका युनिट खरिदका लागि पनि प्रतियुनिट ५५ खरिदकर्ताले नाम दर्ता गराएका थिए।
यी दुवै प्रोजेक्ट बिक्री भएको भए करिब ७ सय नयाँ युनिटको कारोबार अगष्टको पहिलो सातामा भएको छ।
विशेषगरी पछिल्लो समय बढेको ब्याजदरको कारण सम्पत्ति खरिदको बजारमा देखिएको आशंकाबीच ठूलो संख्यामा युनिटहरु बिक्री भएका हुन्।
Shares
प्रतिक्रिया