कालो धनलाई सेतो बनाउन सक्रिय समूहका २ सय ८३ जनालाई हङकङ प्रहरीले पक्राउ गरेको छ। यो महिना दिन लामो कारबाहीमा २ करोड ७० लाख डलर बराबरको सम्पत्ति पनि कब्जा गरिएको प्रहरीले शुक्रबार जनाएको छ।
उनीहरुले १.८ अर्ब डलर अवैध धनलाई वैध बनाएको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेहरुमा २ सय पुरुष र ८३ जना महिला छन्। उनीहरुले हङकङ र विदेशमा पनि ठगीमार्फत कमाएको पैसा समेत वैध बनाएको बताइएको छ।
यो वर्षको पहिलो ६ महिनामा ठगीधन्दा ४२ प्रतिशतले बढेर १२ हजारभन्दा बढी ठगीका घटना भएपछि सो कारबाही थालिएको थियो।
सो कारबाहीमा प्रहरीले २३० भन्दा बढी स्थानमा छापा मार्नुका साथै गिरफ्तारी गरेको थियो।
प्रहरीका अनुसार ८ सय ५० ब्यांक खातामार्फत कालो धनलाई सेतो बनाइएको थियो।
लगानी गर्न भन्दै गरिएको ठगी, अनलाइनमार्फत प्रेम सम्बन्ध गर्ने भनेर गरिएको ठगी र टेलिफोनमार्फत गरिएको ठगीमार्फत सो कालो धन जम्मा गरिएको थियो। यस्ता घटना २७० वटा भएको प्रहरीको भनाइ छ।
कालो धनको वास्तविक स्रोत अझै खोजी भइरहेको प्रहरीको भनाइ छ। एससीएमपी
प्रतिक्रिया