हङकङ विमानस्थलको तेस्रो धावनमार्ग निर्माण परियोजनामा घुस लेनदेनको आरोपमा हङकङको भ्रष्टाचार नियन्त्रण एजेन्सीले ३० जनालाई पक्राउ गरेको छ। समातिएकामध्ये हङकङ विमानस्थल प्राधिकरणका चार वरिष्ठ म्यानेजर पनि छन्।
उनीहरुले ठेक्का पारिदिन नगद, विलासी घडी, वाइन र सुनको सिक्का घुस लिएको आरोप छ।
पक्राउ परेकामा एक जनरल म्यानेजर, एक प्रिन्सिपल म्यानेजर, एक सिनियर म्यानेजर र एक प्रोजेक्ट इन्स्पेक्टर रहेको इन्डिपेन्डेन्ट कमिसन अगेन्स्ट करप्सनले जनाएको छ।
बाँकी ठेकेदार कम्पनीका कर्मचारीहरु भएको जनाइएको छ।
आयोगका अनुसार पछिल्लो वर्षहरुमा प्रिन्सिपल म्यानेजरको खातामा दसौँ लाख डलर जम्मा गरिएको थियो।
ठेकेदारहरुले यी चार जनालाई रेस्टुराँ र नाइट क्लबहरुमा भोज दिने गरेको पनि खुलासा भएको छ।
आयोगले उनीहरुको घर र कार्यालयमा तलासी लिएर घुसवापत लिइएको केही रकम पनि बरामद गरेको छ। त्यसमा नगदका अलावा विलासी घडी, वाइन र सुनको सिक्का रहेको बताइएको छ।
तेस्रो धावनमार्ग परियोजना २०१६ मा सुरु भएको हो। यी चार जना परियोजनामा छोटो समयका लागि नियुक्त भएका थिए। उनीहरुलाई परियोजनासम्बन्धी ठेक्का सम्हाल्ने जिम्मा दिइएको थियो। एससीएमपी
प्रतिक्रिया