सन् २०२० मा ताइवानतिर भाग्न खोज्दैगर्दा समातिएकी एक महिलालाई मुख्यभूमि चीनले सोमबार हङकङलाई हस्तान्तरण गरेको छ। दुई वर्षअघि उनीसहित १२ जनालाई ताइवानतिर भाग्न खोज्दै गर्दा चिनियाँ तटरक्षकले समातेका थिए।
मुख्यभूमिमा दुई वर्ष जेलमा बसेकी ३५ वर्षीया क्विन मुनलाई हङकङ प्रहरीको जिम्मा लगाइएको हो।
सोमबार बिहान सीमामा उनलाई स्थानीय अधिकारीले बुझेका थिए। त्यसपछि उनलाई तिन सुइ वाइ प्रहरी चौकी पुर्याइएको थियो।
कालो ज्याकेट र सुरुवाल लगाएकी उनलाई मुख छोपेर हत्कडी लगाई प्रहरी कारमा चौकी लगिएको थियो।
उनीमाथि २०१९ को अशान्तिको समयमा बम बनाउने काममा संलग्न रहेको आरोप छ। त्यसै विषयमा गुप्तचरहरुले उनीसँग सोधपुछ गरिरहेका छन्।
त्यसबेला पक्राउ परेका १२ मध्ये उनी एक्ली महिला थिइन्। २३ अगस्ट २०२० मा उनीहरु डुंगा चढेर ताइवानतिर भाग्दै गरेका थिए।
ती सबै जना सरकारविरोधी प्रदर्शनताका शान्ति भंग गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए।
प्रतिक्रिया