हङकङको पिक ट्राम शनिबारदेखि खुल्दै, ७० प्रतिशत महंगियो टिकट

हङकङको पिक ट्राम शनिबारदेखि खुल्दै, ७० प्रतिशत महंगियो टिकट

नेपालखबर
भदौ ८, २०७९ बुधबार १८:१७, हङकङ

हङकङको पिक ट्राम यही शनिबारदेखि सेवामा फर्किने भएको छ। तर, यसको टिकट भने पहिलेको भन्दा निकै महंगो हुने भएको छ। 

टिकटमा ७० प्रतिशत वृद्धि हुने जनाइएको छ। कोरोना महामारीपछि यसको स्तरोन्नति गर्न करिब ८० करोड हङकङ डलर खर्च भएकाले ट्रामको भाडा वृद्धि गर्नुपरेको सञ्चालकले जनाएको छ।
१३४ वर्ष पुरानो यो ट्राम सेवाको छैटौँ पुस्ता हो। यसको रङ तेस्रो र चौथो पुस्ताको जस्तै हरियो हुने भएको छ। 

नयाँ ट्राममा एक पटकमा २१० जनासम्म यात्रु चढ्न सक्छन्। यो अघिल्लो पुस्ताको ७५ प्रतिशत ज्यादा हो।

एक जना वयष्कको टिकट अब ८८ डलर पर्ने भएको छ। यसअघि टिकटको मूल्य ५२ डलर थियो। २०१८ मा पनि टिकटको मूल्य वृद्धि गरिएको थियो। त्यतिबेला ४५ डलरबाट ५२ डलर पुर्याइएको थियो।

जुन २०२१ मा मर्मतका लागि ट्राम सेवा बन्द गरिएको थियो। ६ महिनामा मर्मत पुरा हुने भनिए पनि महामारीका कारण सेवा खुल्ने मिति पछि सरेको थियो।

ट्राम सञ्चालक कम्पनी पिक कम्प्लेक्सका महाप्रबन्धक मे साङ यिङ मेइले महामारीका कारण अत्यधिक खर्च भएको बताए।

‘महामारीले निर्माण, खरिद र बन्दोबस्तीमा निकै ढिलाइ गरिदियो। त्यही खर्च टिकटको नयाँ मूल्यमा प्रतिबिम्बित भएको छ,’ साङले भने।

टिकटको मूल्य बढे पनि अपग्रेड गरिएको पिक ट्रामले स्थानीय र विश्वव्यापी पर्यटकलाई आकर्षित गर्नेमा साङ ढुक्क छन्। खासगरी मुख्यभूमि चीनसँगको सीमा खुलेपछि पर्यटक बढ्ने उनको भनाइ छ।

‘बाहिरबाट हाउनेभन्दा पनि हङकङेहरु नै यो एकदम नयाँ ट्रामको मजा लिन आउनेछन् भन्ने आशा हामीलाई छ। यात्रुको पैसापैसा असुल हुनेछ,’ साङले भने। 

ट्राममा तल फर्केका २२ सिट थपिएका छन्। जसले गर्दा पिकबाट तल झर्दै गर्दा यात्रुहरु भिक्टोरिया हार्बरतिर फर्किएका हुनेछन्। अपाङ्गता भएका तथा केटाकेटीलाई लक्षित गर्दै ह्विल चेयर र बेबी क्यारिजका लागि पनि ठाउँ थपिएको छ।

यात्रुलाई दृश्यावलोकनको मजा दिलाउन ट्रामको झ्याल फराकिलो पारिएको छ। स्टेसनबारे सूचना दिन स्क्रिन जडान गरिएको छ। यात्रुको सुरक्षाका लागि ध्यान दिइएको छ।

ट्रामकारको मर्मत र स्तरोन्नतिका अलावा सेन्ट्रल टर्मिनसमा पनि सुधार गरिँदैछ। जहाँ १३ सय यात्रु अट्नेगरी प्रतीक्षालय बनाइँदैछ।

ट्राममा चढ्न सजिलो होस् भनेर ट्रामको ढोकामा रहेका सिँढी हटाएर लिफ्ट सिस्टम राखिएको छ।

पिक ट्राम पहिलो पटक मे १८८८ मा खुलेको थियो। १९९० मा यसको पाँचौँ पुस्ताका रुपमा रातो ट्राम कार सञ्चालनमा ल्याइएको थियो। जसले तीन दशकसम्म यात्रुको सेवा गरेपछि यसको स्तरोन्नति गरिएको हो। एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .