हङकङको स्वास्थ्य नियामकले सहरका पाँच वर्षभन्दा माथिका सबै बालबालिकालाई खोप कार्ड आवश्यक पर्ने नियम अघि सारेको छ। यसअघि १२ वर्षभन्दा माथिका मानिसहरुलाई मात्र खोप कार्डको व्यवस्था गरिएको थियो।
खोप लगाउने मानिसहरुको संख्याको आधारमा सहरको गतिविधि बढाउने उद्देश्यका लागि बालबालिकालाई पनि खोप कार्ड अनिवार्य गर्ने नियम अघि सारिएको हो। यससँगै अब पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाले रेष्टुरेन्ट र सार्वजनिक स्थलमा प्रवेशको अनुमति पाउन कोभिड–१९ को कम्तीमा एक डोज खोप लगाउनुपर्ने हुन्छ। यो नियम आगामी नोभेम्बरबाट कम्तीमा दुई डोजमा बढाइनेछ।
बढ्दो दैनिक नयाँ कोरोना संक्रमितको संख्या घटाउने प्रयासमा रहेको हङकङले बालबालिकाबाट पनि संक्रमण सर्ने सम्भावनालाई ध्यानमा राख्दै खोप कार्डको नियम अघि सारेको हो। यद्यपि यो नियमबारे अभिभावक र चासो राख्ने समूहले भने आपत्ति जनाएका छन्। सरकारले भने यो नियम बालबालिकाहरुलाई बचाउन ल्याइएको बताएको छ।
५ देखि ११ वर्षका बालिबालिकालाई अब के आवश्यक पर्छ?
सरकारले बिहीबार गरेको निर्णयअनुसार अब ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले कम्तीमा एक डोज कोरोना खोप लगाएको हुनुपर्नेछ। यो व्यवस्था सहरका धेरैजसो रेष्टुरेन्ट, सिनेमा हल, लाइब्रेरी, स्पोर्ट्स भेन्यु, पार्क तथा धार्मिक स्थलमा पनि लागू हुनेछ। यद्यपि विद्यालयमा भने यो नियम लागू हुनेछैन।
सेप्टेम्बर ३० देखि सुरु हुने पहिलो चरणमा उक्त उमेर समूहका बालबालिकाले पछिल्लो तीन महिनाभित्र कम्तीमा एक डोज खोप लिएको हुनुपर्छ। उक्त समयभन्दा अगाडि नै एक डोज खोप लिइसकेको भए दोस्रो डोज खोप उपयुक्त समयमा लिनुपर्ने हुन्छ।
दोस्रो चरण नोभेम्बर ३० देखि सुरु हुनेछ। यो चरणमा भने दुई डोज खोप लिएको हुनुपर्छ। हेल्थ अन्डरसेक्रेटरी डाक्टर लिब्बी ली हा युनका अनुसार दुई डोज पूरा गर्ने क्रममा बायोएनटेकको खोप लिँदा अक्टोबर ४ भित्रै पहिलो डोज लिइसक्नुपर्ने हुन्छ भने चिनियाँ सिनोभ्याक खोप लिँदा भने यो समयसीमा नोभेम्बर १ सम्म तोकिएको छ। सिनोभ्याकको दोस्रो डोज लिने समय २८ दिन र बायोएनटेकको ५६ दिन भएकाले यो अन्तर देखिएको हो।
बालबालिकासँग स्मार्टफोन नभए के हुन्छ?
अभिभावक र बालबालिकाले आफ्नो क्युआर खोप कार्ड देखाउन विभिन्न तरिकाको प्रयोग गर्न सक्छन्। उनीहरुले क्युआर कोड प्रिन्ट गरेर पनि देखाउन सक्छन्। त्यस्तै अभिभावकले सरकारले उपलब्ध गराएको ईहेल्थ मोबाइल एप्लिकेसनबाट पनि बालबालिकाको खोप कार्डको प्रयोग गर्न सक्छन्। त्यस्तै सरकारले लिभ होम सेफ मोबाइल एप पनि अपडेट गर्ने तयारी गरिरहेको छ।
यसअघि नै कोरोना संक्रमित भएको बालबालिकालाई के हुन्छ?
यसअघि नै कोरोना संक्रमित भइसकेको र कुनै पनि खोप नलिएका बालबालिकाले संक्रमण निको भएको ६ महिनामा कोरोना खोपको पहिलो डोज लिनुपर्ने हुन्छ। त्यस्तै कोरोना खोपको पहिलो डोज खोप लगाएको ६ महिना नबित्दै संक्रमण भएका बालबालिकाले भने दोस्रो डोज खोप लिनु पर्दैन।
त्यस्तै कोरोना संक्रमणबाट ६ महिना वा सोभन्दा धेरै समयअघि नै निको भएका वा ६ महिनाअघि पहिलो डोज खोप लिएकाले भने दोस्रो डोज खोप लिनुपर्छ।
दुई डोज खोप लिइसकेका र संक्रमण निको भएको पनि ६ महिना पूरा भइसेकेका बालबालिकाले तेस्रो डोज खोप लिनुपर्छ। तर, बायोएनटेकको खोप लिनेको हकमा भने तेस्रो डोज लिनु जरुरी हुँदैन।
अहिलेसम्म कति बालबालिकाले खोप लगाए?
बिहीबारसम्मका तथ्यांकअनुसार हङकङमा ५ देखि ११ वर्ष उमेर समूहका ८३ प्रतिशतले कोरोना खोपको कम्तीमा एक डोज लगाएका छन्। ७० प्रतिशत वा सोभन्दा धेरैले दुई डोज खोप लिइसकेका छन्।
अर्थात अझै पनि ६८ हजारले अझै पनि कोरोना खोप लिन बाँकी छ। अहिले हङकङमा ६ महिनादेखि माथिको सबैलाई कोरोना खोप लगाउने अनुमति दिइएको छ। यद्यपि बायोएनटेकको खोप भने पाँच वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिइँदै आएको छ।
नयाँ नियमको आवश्यकता किन?
हङकङका प्रमुख कार्यकारी जोन ली का–चिउले बिहीबार अघि सारिएको कदमले बालबालिकामा कोरोनाको गम्भीर लक्षण देखिनबाट बचाउने विश्वास व्यक्त गरेका छन्।
हङकङमा कोरोना संक्रमणको पाँचौं लहर सुरु भएयता संक्रमणको कारण ३ देखि ११ वर्ष उमेर समूहका ३८ बालबालिका गम्भीर बिरामी वा नाजुक अवस्थामा पुगेका छन्। जसमध्ये ३१ जनाले कोरोना खोप लगाएका थिएनन्। अहिलेको लहरमा आठजना बालबालिकाको मृत्यु भएको छ। उनीहरुमा खोप नलगाएका वा एक डोज मात्र खोप लिएका मानिसहरु थिए।
नयाँ नियममा किन भइरहेको छ विवाद?
बाल अधिकारकर्मीहरुले सरकरको नीतिको आलोचना गरेका छन्। यस किसिमको नीतिले बालबालिकाको विकासमा असर गर्न सक्ने उनीहरुको भनाइ छ। हङकङ कमिटि अन चिल्ड्रेन्स राइट्सले गत शुक्रबारदेखि खोप कार्डको नियम परिवर्तनको माग गर्दै १६ सयभन्दा धेरै म्यासेज आएको बताएको छ।
जसमा धेरै अभिभावकले आफ्ना सन्तानलाई कोरोना खोपको पहिलो डोज लगाउँदा बिरामी पर्ने समस्या देखिएको र दोस्रो डोजमा यो समस्या झनै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
Shares
प्रतिक्रिया