खोप लगाउनेको संख्या नबढेसम्म हङकङ पूर्णरुपमा खुल्दैन– वित्तमन्त्री

खोप लगाउनेको संख्या नबढेसम्म हङकङ पूर्णरुपमा खुल्दैन– वित्तमन्त्री

नेपालखबर
भदौ २७, २०७९ सोमबार ११:४२, हङकङ

हङकङका वित्तमन्त्री ले कोरोना खोप लगाउनेको संख्या नबढेसम्म सहर पूर्णरुपमा नखुल्ने बताएका छन्। उनले स्थानीय अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन प्रभावकारीरुपमा कोभिड–१९ को महामारी नियन्त्रण गर्नु जरुरी रहेको बताएका हुन्।

हङकङका वित्तमन्त्री पाउल चान मो–पोले आइतबार कोरोना महामारीको विषयमा आशंका व्यक्त गरेका हुन्। यद्यपि हङकङका स्वास्थ्य अधिकारीले भने पछिल्लो समय संक्रमण घट्दो क्रममा रहेको बताउँदै आएका छन्। त्यस्तै सरकारका महामारी विशेषज्ञले पनि आगामी साताबाट बिस्तारै संक्रमण घट्दै जान सक्ने बताएका छन्। 

वित्तमन्त्री चानले आधिकारिक ब्लगमार्फत महामारी नियन्त्रण र भ्रमण खुकुलो पार्ने विषयमा सन्तुलन राख्न जरुरी रहेको बताएका हुन्।

उनले आगामी दिनमा भ्रमण थप खुकुलो पार्ने एउटै उपाय खोप लगाउनेको संख्या बढाउनु रहेको उल्लेख गरेका छन्। खोप लगाउनेको संख्या बढेको अवस्थामा मात्र  अन्तर्राष्ट्रिय भ्रमण पुनः पुरानै अवस्थामा सुरु गर्न सकिने, अर्थतन्त्रलाई स्थायित्व दिन सकिने र आर्थिक वृद्धिदर अधिकतम बनाउन सकिने उनको भनाइ छ। 

हङकङ सरकारका अनुसार ९३ प्रतिशत मानिसहरुले अहिलेसम्म कोरोनाको कम्तीमा पहिलो डोज खोप लगाएका छन्। त्यस्तै ९१ प्रतिशतले दोस्रो डोज खोप लिएका छन्। त्यस्तै ७४ प्रतिशतले सबै तीन डोज पूरा गरिसकेका छन्।

यद्यपि अझै पनि  ८० वर्ष वा सोभन्दा धेरै उमेरका मानिसमा दुई डोज खोप लिनेको दर भने केवल ६७ प्रतिशत मात्र छ। यो उमेर समूहमा तीन डोज पूरा खोप लिने मानिसको संख्या ५१ प्रतिशत मात्र छ। 

पछिल्लो केही सातामा हङकङमा कोरोना संक्रमण पुनः बढेको छ। आइतबार मात्र हङकङमा ९ हजार ३३ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १२९ नयाँ संक्रमित आयातित हुन्। आइतबार कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भएको थियो। 

युनिभर्सिटी अफ हङकङका प्राध्यापक लाउ यु–लङ भने संक्रमण पछिल्लो समय घट्ने क्रममा देखिएको बताउँछन्। खोप लगाउने ज्येष्ठ नागरिकको संख्या कम्तीमा ८० प्रतिशत पुगेको अवस्थामा सरकारले प्रतिबन्धको नियम पनि खुकुलो पार्न सक्ने उनको भनाइ छ।

गत साता मात्र हङकङ सरकारले अधिकांश स्थानमा प्रवेशको लागि बालबालिकाको लागि पनि खोप कार्ड आवश्यक पर्ने नियम ल्याइन लागेको घोषणा गरेको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .