हङकङमा करिब ९० लाख हङकङ डलरबराबरको घडी र गहना चोरी भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार कोरियाली बैंकरको घरमा सोमबार राति उक्त चोरी भएको हो। घर मालिकको दम्पती शपिङका लागि गएको बेला उक्त घटना घटेको हो।
कालो हुडी लगाएका र पहेँलो झोला बोकेका चोर घरमा काम गर्ने सहयागीले देखेपछि भने उनी त्यहाँबाट भागेका थिए।
घर फर्किँदा सहयोगीले हुडी लगाएका मानिस सिंँढीबाट तल झर्दै गरेको देखेकी थिइन्। चोरले सहयोगीलाई देखेपछि घरबाट भागेका थिए भने महिलाले प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरी प्रवक्ताले दिएको जानकारीअनुसार घरबाट करिब ८० लाख हङकङ डलरको छवटा घडी र करिब १० लाख हङकङ डलरको गहना चोरी भएको छ। चोरी भएका घडी रोलेक्स, औडेमार्स पिगुएट र रिचार्ड मिले ब्राण्डलगायतका थिए।
प्रहरीका अनुसार हङकङको शा टिनस्थित काउ टो शान क्षेत्रमा रहेको उक्त घरको बेडरुमको स्लाइडिङ डोरबाट चोर भित्र छिरेका थिए।
प्रहरीले घरको सीसीटीभी चेक गरेर प्रमाण संकलन गरेको छ। यस विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले करिब ६ लाख डलरको दुईवटा घडी र गहना भने फेला पारेर फिर्ता गरिदिएको उल्लेख गरेको छ।
यस वर्षको सुरुवाती ६ महिनामा प्रहरीमा ३८१ चोरीका उजुरी परेका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ४८.६ प्रतिशत कम हो।
Shares
प्रतिक्रिया