हङकङमा होटल क्वारेन्टिन पूर्णरुपमा हटाउने तयारी

हङकङमा होटल क्वारेन्टिन पूर्णरुपमा हटाउने तयारी

नेपालखबर
असोज २, २०७९ आइतबार ९:५९, हङकङ

हङकङ सरकारले बाहिरबाट आउने मानिसहरुका लागि होटल क्वारेन्टिनको नियम हटाउने विषयमा छलफल थालेको छ।

हङकङका स्वास्थ्यमन्त्रीले सरकारले होटल क्वारेन्टिन हटाउने विषयमा ‘सक्रिय छलफल’ गरिरहेको बताएका छन्। पछिल्लो समय बिस्तारै कोभिड–१९ को संक्रमण पनि घटिरहेको समयमा सरकारले यस्तो तयारी गरेको हो। 

स्वास्थ्यमन्त्री लो चुङ–माउले शनिबार एक रेडियो कार्यक्रममा बोल्दै पछिल्लो समयको संक्रमणको अवस्था र नमुनाहरुले देखाएको संकेत सकारात्मक रहेको तर सतर्कता भने बढाउनु जरुरी रहेको बताएका हुन्।

उनले हङकङमा चाडपर्वको मौसम आउन लागेकाले ठूलो पारिवारिक जमघटले आगामी दिनमा जोखिम बढाउन सक्ने बताएका हुन्। यस्तो अवस्थामा क्वारेन्टिन हटाउने विषयमा निर्णयको लागि अझै बलियो आधार आवश्यक पर्न सक्ने बताएका हुन्। 

कोरोना संक्रमण घट्न थालेको भए पनि अझै पनि संक्रमणको खतरा भने टरिसकेको छैन। अझै पनि हङकङमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या आठ हजारको हाराहारीमा छ। 

हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनका डाक्टर अल्बर्ट औ का–विङका अनुसार कोरोना संक्रमणको अबको केही दिनको नतिजाको आधारमा क्वारेन्टिनको विषयमा निर्णय हुन सक्छ। अहिलेसम्मको नतिजाले महामारी अब कुन दिशामा जान्छ भन्ने विषयमा स्पष्ट हुन नसकिएको उनको भनाइ छ। 

क्वारेन्टिन हटाउन लागेको विषयमा भने स्वास्थ्यमन्त्री लोले कोरोना संक्रमणको अहिलेको अवस्थालाई आधार बनाएर सरकारले प्रतिबन्ध हटाउन सक्ने तर यसको लागि आइपर्न सक्ने समस्याबाट भने सतर्क रहनु जरुरी रहेको बताए। 

यसअघि हङकङले बाहिरबाट आएका मानिसहरुका लागि तीन दिन अनिवार्य होटल क्वारेन्टिन र ४ दिनको होम आइसोलेसनको नियम अघि सारेको थियो।

यस्तोमा अब भने सातै दिन होम आइसोलेसनको नियम आउन सक्ने अपेक्षा गरिएको छ।

सातै दिन होम आइसोलेसनको नियम ल्याउन लागिएको हो? भन्ने प्रश्नमा लोले आफूहरुको प्रमुख उद्देश्य हङकङलाई विश्वसँग जोड्नु रहेको र त्यसको लागि अहिले सरकार सकारात्मक दिशातर्फ अघि बढिरहेको बताए। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .