हङकङ सरकारले छिटोमा सेप्टेम्बरभित्रै होटल क्वारेन्टिन हटाउने घोषणा गर्ने तयारी गरेको छ।
सहरको अर्थतन्त्र र घट्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै हङकङमा होटल क्वारेन्टिनको नियम हटाउने तयारी गरिएको हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार सेप्टेम्बर महिनाभित्रै बाहिरबाट आउने मानिसहरुका लागि होटल क्वोरेन्टिनको नियम हटाउने घोषणा हुन सक्छ।
अहिलेको नियमअनुसार बाहिरबाट आउने मानिसले तीन दिन अनिवार्य होटल क्वारेन्टिन र बाँकी ४ दिन होम आइसोलेसनमा बस्नुपर्ने व्यवस्था छ।
नयाँ नियमअनुसार अब बाहिरबाट आउने मानिसले सात दिन होम आइसोलेसनमा बसे पुग्छ। अहिलेको नियमअनुसार आन्तरिक पर्यटकले पनि पछिल्लो ४८ घण्टामा गरिएको पीसीआर परीक्षणको नतिजा बुझाउनुपर्ने हुन्छ।
नयाँ नियममा भने उक्त व्यवस्था पनि परिवर्तन हुन सक्छ।
यसअघि नै हङकङका स्वास्थ्यमन्त्रीले होटल क्वारेन्टिनको नियम हट्न सक्ने संकेत गरेका थिए। यद्यपि उनले होटल क्वारेन्टिन हटे पनि मानिसहरु सतर्क हुनु जरुरी रहेको बताएका थिए।
उनले केही दिनको नतिजाको आधारमा यस विषयमा निर्णय लिइने उल्लेख गरेका थिए।
आइतबार हङकङमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमितको संख्यामा गिरावट देखिएको थियो।
आइतबार कोरोनाका ७ हजार ३२२ नयाँ संक्रमित थपिएका थिए भने २३ जनाको संक्रमणको कारण मृत्यु भएको थियो।
प्रतिक्रिया