हङकङ प्रमुख जोन लीले समग्र विश्वको लागि हङकङ थप खुला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कोरोना महामारी सुरु भएयता अन्तर्राष्ट्रिय सीमामा लागेको प्रतिबन्ध कायमै रहेको अवस्थामा हङकङ प्रमुखले यस्तो बताएका हुन्।
यसअघि नै शीर्ष अधिकारीले हङकङ कोरोनासँग सम्बन्धित सबै किसिमको प्रतिबन्ध हटाउने निर्णयमा पुगेको बताएका थिए। यद्यपि यस विषयमा राम्रो तयारी नहुँदासम्म यसबारे घोषणा भने हुने छैन।
मंगलबार सरकारका सल्लाहकार युएन क्वोक–युङले पछिल्लो समय कोरोना विध्वंसकारी महामारीबाट कम क्षति पु¥याउने किसिमको रोगको रुपमा परिवर्तन भएको बताएका थिए।
हङकङ प्रमुख लीले नियमितरुपमा भ्रमणको नियम खुकुलो बनाउँदै कोरोनाकाल पूर्वको अवस्थामा फर्किनुपर्ने बताए।
मंगलबार प्रेस ब्रिफिङमा लीले अहिले कोरोना संक्रमणलाई पनि नियन्त्रण गर्ने र हङकङको गतिविधि पनि अधिकतम पार्नुपर्ने अवस्थामा रहेको बताए। विश्व समुदायसँगको सञ्जाल बढाउँदै हङकङलाई थप प्रतिस्पर्धात्मक बजार बनाउनुपर्नेमा उनको जोड थियो।
यद्यपि लीले क्वारेन्टिनको नियम कहिले हटाइन्छ? भन्ने विषयमा भने कुनै जानकारी दिएनन्। उनले जोखिम पनि न्यून राख्दै थप गतिविधिलाई अनुमति दिने आफूहरुको चाहना रहेको बताए।
अहिलेको नियमअनुसार बाहिरबाट आउने मानिसले हङकङमा तीन दिन अनिवार्य होटल क्वारेन्टिन र चार दिन होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ।
प्रतिक्रिया