उच्च शिक्षाको लागि हङकङबाट अमेरिका जानेको संख्या सन् २०२२ मा उल्लेख्यरुपमा घटेको छ।
यस वर्षको सुरुवाती सात महिनाको अवधिमा सन् २०१९ को सोही अवधिको तुलनामा हङकङबाट अमेरिका जाने मानिसको संख्या ३० प्रतिशतले घटेको हो।
यद्यपि हङकङ र मकाउका लागि अमेरिकी महावाणिज्यदूत भने अमेरिका उच्च शिक्षाको लागि जान हङकङमा उच्च माग आएको बताउँछन्।
हङकङका एक शैक्षिक परामर्शदाताका अनुसार पछिल्लो समय विभिन्न मुलुकले छोटो समयमा स्थायी बसोबासको अनुमति पाउने व्यवस्था गरेकाले पनि विद्यार्थीहरुको अमेरिकाप्रतिको आकर्षण घटेको हो।
अमेरिकी सरकारको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा समग्रमा १ हजार ३८५ हङकङका विद्यार्थीलाई भिसा दिइएको छ। यो संख्या कोरोना महामारीअघिको तुलनामा ३० प्रतिशत कम हो।
सन् २०१९ को सोही अवधिमा हङकङका १ हजार ९६२ विद्यार्थीले भिसा पाएका थिए। सन् २०२० मा ३०४ र २०२१ मा १ हजार ६२१ जनालाई भिसा दिइएको थियो।
गत मार्च महिनामा नै अमेरिकाको वाणिज्य मन्त्रालयले हङकङबाट आउने विद्यार्थीको संख्यामा उल्लेख्य गिरावट आएको विवरण सार्वजनिक गरेका थिए। कोरोना महामारी तथा अमेरिकामा आम नागरिकको सुरक्षाको कारण अमेरिका आउने मानिसको संख्यामा पनि गिरावट देखिएको हो।
हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिएको भन्दै बेलायत क्यानडा र अष्ट्रेलियाजस्ता मुलुकले हङकङका नागरिकलाई आफ्नो मुलुकमा स्थायी बसोबासको अनुमति दिने विभिन्न योजना अघि सारेका छन्। जसको कारण विदेश अध्ययनका लागि जान चाहने हङकङका विद्यार्थी पनि उक्त मुलुकप्रति धेरै आकर्षित भएका छन्।
प्रतिक्रिया