हङकङले आगामी दिनमा कोरोना संक्रमण नबढेको अवस्थामा अबको केही सातामा आन्तरिक पर्यटकलाई लगाइएको सबै किसिमको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरेको छ।
आगामी दिनमा आयातित संक्रमितको संख्या स्थिर रहेको र स्थानीय संक्रमण पनि नियन्त्रित अवस्थामा रहेमा सबै आइसोलेसनको नियम हट्न सक्ने संक्रामक रोग विशेषज्ञले बताएका छन्।
स्वास्थ्य अधिकारीहरुले शनिबार अब हङकङले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन्। समुदायबाट पूर्णरुपमा यसलाई निर्मुल पार्न निकै कठिन रहेको उनीहरुको भनाइ छ।
सरकारको महामारी सल्लाहकार इभान हुङ फान–न्गाईले भने आयातित संक्रमण पाँच प्रतिशतभन्दा कममा रहेको अवस्थामा सहरमा सबै किसिमको महामारीसँग सम्बन्धित प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका छन्।
पछिल्लो केही समययता हङकङमा निरन्तर कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ। शनिबार हङकङमा कोरोनाका ५ हजार १९० नयाँ संक्रमित थपिएका थिए। जसमध्ये १५२ जना बाहिरबाट आएका मानिसहरु थिए। कोरोना संक्रमणबाट सातजनाको मृत्यु भएको थियो।
सोमबारबाट हङकङमा बाहिरबाट आउने मानिसले घरमा वा होटलमा तीन दिन मेडिकल निरीक्षणमा बस्नुपर्ने हुन्छ। यद्यपि यो क्रममा उनीहरुलाई विभिन्न स्थानहरुमा जानबाट रोक लगाइनेछ।
अहिले बाहिरबाट आउने मानिसले ३ दिन होटल क्वारेन्टिन र ४ दिन होम आइसोलेसनमा बस्नुपर्ने नियम छ।
इभान हुङका अनुसार आगामी दिनमा संक्रमणको अवस्थामा सुधार आए यो प्रतिबन्ध पनि हट्न सक्छ।
प्रतिक्रिया