मोडल डेनिस लाम यस वर्षको मिस हङकङ बनेकी छिन्। आइतबार उनले अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिमा कब्जा जमाएकी हुन्।
कोरोना संक्रमण र विभिन्न किसिमको प्रतिक्रियाको कारण चर्चामा रहेको यो प्रतियोगितामा इन्भेस्टमेन्ट बैंककी विश्लेषक २५ वर्षीया सेका सु दोस्रो भइन्। त्यस्तै जोए लेउङ तेस्रो भइन्।
अक्सफोर्ड र क्याम्ब्रिज युनिभर्सिटिजमा अध्ययन गरिसकेकी सु मिस इन्टरनेशनल गुडविल बनिन् भने लेउङले मिस फोटोजेनिकको उपाधि जितिन्।
मिस हङकङकी विजेता २७ वर्षीय लामले आफूले उपाधि जितेको पत्याउन आफैंलाई गाह्रो भइरहेको बताइन्। ‘मेरो प्रस्तुती वास्तवमा नै राम्रो थिएन’, उनले भनिन्, ‘मलाई धेरै आश्चर्य लाग्यो।’
सन् १९४६ देखि सुरु हुँदै आएको सौन्दर्य प्रतियोगिता सुरु भएको थियो। यो प्रतियोगिताको अधिकार सन् १९७३ मा टीभीएसले किनेको थियो। यद्यपि यसपटकको प्रतियोगिता भने कोरोना संक्रमणको कारण विवादमा पनि परेको थियो।
कम्तीमा पाँच प्रतिस्पर्धी कोरोना संक्रमित बनेका थिए। जसको कारण सेप्टेम्बर ४ को लागि तय भएको सेमिफाइनल स्थगित भएको थियो।
यसअघि टीभीबीले पछिल्लो दुई वर्षमा प्रतिबन्धको विभिन्न नियम तथा मास्क र भौतिक दूरीको प्रयोग गरेर सौन्दर्य प्रतियोगिता सञ्चालन गरेको थियो।
प्रतिक्रिया