हङकङमा नक्कली खोप कार्ड बनाउने ३७० सरकारी कर्मचारी निलम्बित

हङकङमा नक्कली खोप कार्ड बनाउने ३७० सरकारी कर्मचारी निलम्बित

नेपालखबर
असोज १६, २०७९ आइतबार ९:४८, हङकङ

हङकङको सार्वजनिक सेवा ब्युरोले नक्कली खोप कार्ड लिएको आरोपमा ३७० सरकारी कर्मचारीलाई निलम्बन गरेको छ।

साथै ब्युरोले गलत कार्यमा संलग्न हुने सबैलाई आवश्यक कानुनी कारबाही गरिने बताएको छ। ब्युरोले सरकारी कर्मचारीमा अनुशासन र एकता निकै महत्वपूर्ण हुने बताएको छ।

स्थापित संयन्त्रलाई आधार मानेर  कुनै पनि कानुनको उल्लंघन गर्ने कर्मचारीलाई सरकारले गम्भीरताका साथ कारबाही गर्ने ब्युरोले उल्लेख गरेको छ। 

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको कडा किसिमको नियमका बाबजुद पनि सहरमा व्यापक मात्रामा संक्रमण फैलिएको थियो। अहिले पनि दैनिक चार हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमित थपिइरहेका छन्। 

अहिलेको खोप कार्डको योजनाअनुसार मानिसहरुले कुनै पनि सार्वजनिक स्थान र रेष्टुरेन्टमा प्रवेश गर्नुका साथै कुनै पनि सरकारी कर्मचारी काममा जानुभन्दा पहिला तीन डोज खोप लगाएको प्रमाण पेश गर्नुपर्छ। अन्यथा उनीहरुले मेडिकल छूटको लागि चिकित्सकले दिएको प्रमाण पेश गर्नुपर्छ। 

गत महिना प्रहरीले नक्कली खोप कार्डमा छूट दिएको आरोपमा ६ जना डाक्टरलाई पक्राउ गरेको थियो। उनीहरुले आवश्यक परीक्षण नगरी मानिसहरुलाई खोप कार्ड दिने गरेको प्रहरीको आरोप छ। थप एकजना डाक्टरलाई प्रहरीले अहिले खोजिरहेको छ। तिनै डाक्टरहरुले अहिले निलम्बनमा परेका कर्मचारीहरुलाई खोप कार्ड दिएका थिए। 

ब्युरोले खोप मेडिकल छूट लिएका ८५० जनाको खोप कार्ड परीक्षण गर्दा ३७० जनाको कार्ड नक्कली पाएको हो। त्यस्तै ७० जना गैरसरकारी सेवाका कर्मचारीले पनि नक्कली खोप कार्ड लिएका थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .