हङकङ प्रमुख जोन लीले स्वास्थ्य क्षेत्रमा दशकयताकै ठूलो परिवर्तनको घोषणा गर्ने तयारी गरेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सार्वजनिक अस्पतालमाथिको दबाब कम गर्न प्राथमिक स्वास्थ्य निकाय स्थापनाको तयारी गरिएको हो।
स्वतन्त्र बजेटमा स्थापना गरिने यस किसिमको स्वास्थ्य निकाय हङकङको लागि दशकयताकै ठूलो स्वास्थ्य सुधार भएको स्वास्थ्य विशेषज्ञहरुले बताएका छन्।
स्वास्थ्य क्षेत्रमा सुधारको योजना गत अक्टोबर १९ मा जोन लीले आफ्नो पहिलो सम्बोधनको क्रममा अघि सारेका थिए। सोहीअनुसार महत्वपूर्ण सुधारको योजना ल्याउने तयारी गरिएको स्रोतले बताएको छ।
यसले आगामी दिनमा सामुदायिक नर्सलाई थप सहयोग पुग्नेछ भने मेडिकल र सामाजिक स्याहारका अधिकारीहरुबीचको समन्वय बढाउन पनि यसले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
लामो समयदेखि हङकङले सामुदायिक स्वास्थ्य केन्द्रहरुमा भन्दा पनि अस्पतालमा लगानी गर्दै आएको थियो। यस्तो अवस्थामा अहिले ल्याइएको योजनाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप सुधार हुन सक्ने जानकारहरुको भनाइ छ।
कोभिड–१९ को संक्रमणपछि अस्पतालमा देखिएको दबाबसँगै स्वास्थ्यक्षेत्रमा व्यापक सुधारको माग उठ्दै आएको थियो। सोही मुद्दालाई मध्यनजर गर्दै जोन लीले पनि निर्वाचनमा स्वास्थ्य क्षेत्रमा सुधारको एजेन्डालाई अघि सारेका थिए।
Shares
प्रतिक्रिया