स्त्रीद्वेषी टिप्पणी गरेपछि चीनका एक चर्चित बास्केटबल स्टारले माफी मागेका छन्। दसौँ लाख चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको चर्को आलोचना पनि गरेका छन्।
त्यसअघि चाङ तियानयी नामक ती बास्केटबल स्टारले विपक्षी खेलाडीलाई ‘तिमीभन्दा धेरै केटीसँग म सुतेको छु’ भन्दै गरेको भिडिओ भाइरल बनेको थियो।
विपक्षी खेलाडीले आफूले ज्यादा उपाधि जितेको बताएपछि जवाफमा चाङले त्यसो भनेका थिए। उनले त्यसो भन्दै गर्दा वरिपरि उपस्थित दर्शकले ताली बजाएर उनको प्रशंसा गरेका थिए।
तर, भिडिओ भाइरल भएपछि उनको चर्को आलोचना भयो। त्यसपछि उनले माफी मागेका छन्। चाङ चिनियाँ सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय छन्।
‘म जनतासँग माफी माग्छु। मैले त्यो वाक्य बोल्दा महिलाहरुलाई अपमानित गर्ने मेरो उदेश्य थिएन,’ २३ वर्षीय ती खेलाडीले भनेका छन्, ‘म त विपक्षी खेलाडीलाई चुप लगाउन मात्र चाहन्थेँ।’
उनको माफीपछि चिनियाँ सामाजिक सञ्जालमा स्त्रीद्वेष र लैंगिक विभेदका विषयमा चर्को बहस भएको छ।
चाङलाई उनको कम्पनीले जरिवाना गरेको छ भने सो टिप्पणीका लागि खेलबाट प्रतिबन्ध पनि लगाएको छ। एससीएमपी
प्रतिक्रिया