हङकङमा हरेक वर्ष आयोजना हुने गरेको गोरखा ट्रेलब्लेजर दौड प्रतियोगिता आगामी फेब्रुअरी ४ मा हुने भएको छ।
हङकङमा लोकप्रिय उक्त प्रतियोगिताको चौथो संस्करण यसपटक निकै उत्साहपूर्ण हुने आयोजकले जनाएको छ। गत वर्ष कोरोनाका कारण भर्चुअल रेस गर्न परेको थियो।
आयोजक संस्थाका प्रवक्ता देवराज राईका अनुसार १२ र २६ किलोमिटर दूरीको दौडमा दर्ता धमाधम भइरहेको नेपालखबरलाई बताए।
करिब ५ सय जना धावकले भाग लिन सक्ने उक्त प्रतियोगिता कोरोना महामारीकै कारण ३ सयजतिले मात्र इन्ट्री पाउने प्रवक्ता राईले बताए।
‘प्रतियोगितामा नेपालीहरूको सहभागिता कस्तो छ’ भनी नेपालखबरले राखेको जिज्ञासामा राईले भने ‘हरेक वर्ष नेपालीहरूको उल्लेख्य सहभागिता रहँदै आएकोमा यो पटक कम हुने आकलन गरिएको छ, किनकि यो प्रतियोगिता आइतबार हुने गरेको थियो, जुन दिन नेपालीहरूको छुट्टी हुन्छ तर यो पटक सबै आइतबार रेस कोर्स प्याक भएकाले शनिबार गर्न बाध्य भयौँ, जसले गर्दा नेपालीहरूको सहभागिता तुलनात्मक रूपमा कम हुने सम्भावना छ।’
साथै हरेक वर्ष ‘भोजपुर रेस’का विजेतालाई नेपालबाट ट्रैलब्लेजरमा सहभागी गराउने परम्परा छ।
विश्व शान्ति स्थापनार्थ विभिन्न युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरूको सम्झना र सम्मानमा गोर्खा ट्रेलब्लेजर सन् २०१८ देखि हङकङमा आयोजना गर्न थालिएको हो। उक्त दौड हङकङको न्यु टेरिटोरिजअन्तर्गत लाउ शुइ हेउङ रिजर्भियर कन्ट्री ट्रैलबाट सुरु भएर क्लाउडी हिल हुँदै विल्सन ट्रैल, निडल हिलको उकालो छिचोल्दै हङकङको भौगोलिक सुन्दरताको आनन्द उठाउन सकिन्छ।
गोर्खा ट्रैलब्लेजरले गनरनिङ हङकङ द्वारा ‘बेस्ट न्यु रेस र बेस्ट रेस’को अवार्डसमेत प्राप्त गरिसकेको प्रवक्ता राईले बताए।
गोर्खा सेमेस्ट्री ट्रस्ट र चाइल्ड वेल्फेर स्किमको संयुक्त आयोजनामा हरेक वर्ष उक्त प्रतियोगिता आयोजना हुने गरेको छ।
प्रतिक्रिया