बोर्डिङ पासबिना हङकङको क्याथे विमानमा कसरी चढिन् महिला?

बोर्डिङ पासबिना हङकङको क्याथे विमानमा कसरी चढिन् महिला?

क्याथे प्यासिफिकको विमान टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा (सटरस्टक/एससीएमपी)


लाउरा वेस्टब्रुक
पुस १८, २०८० बुधबार १६:२६, हङकङ

हङकङको झन्डाबाहक क्याथे प्यासिफिक एयरवेजको जहाजमा जापानको टोकियाबाट एक महिला विनाबोर्डिङ पास चढेपछि सुरक्षा विषयलाई लिएर सर्वत्र चिन्ता देखिएको छन्।

सिंगापुरमा दर्ता रहेको कम्पनी एन्डाउ एनालिटिक्सका संस्थापक एवं उड्डयन विज्ञ सुकोर युसुफले यो घटनालाई गम्भीर सुरक्षा उल्लंघन र सोचाइभन्दा बाहिरको भनी टिप्पणी गरेका छन्।

क्याथे प्यासिफिकको २८ डिसेम्बरको उडानमा यस्तो अप्रत्यासित घटना घटेको हो।

के थियो घटना?
टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा गत बिहीबार एक महिला विनाबोर्डिङ पास हङकङको उडान ऋह्छद्दज्ञ मा चढिन्।

क्याथेले भन्यो कि विमानले अनधिकृत रूपमा जहाजमा चढ्ने उक्त महिलालाई लिएर उडान गरेन र जापानी प्रहरीलाई बोलाएर उनलाई जिम्मा लगाइयो। यसका कारण विमान उड्न करिब एक घण्टा ढिलो भयो।

के छ पूर्व-बोर्डिङ प्रक्रिया?
एयरपोर्टमा सुरक्षा प्रोटोकल हुन्छन्। ग्राउन्ड स्टाफ, सुरक्षा गार्ड र अन्य टोलीको स्पष्ट दिशानिर्देश पालना गरेर यात्रु विमानसम्म आइपुग्छन्।

उडानका लागि चेक इन गरेपछि यात्रुहरूको ट्राभल डकुमेन्ट र बोर्डिङ पास निरीक्षण गरिन्छ। र, उनीहरू प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्नुअघि नै शरीरको खानतलासी र सामानको स्क्यान सहितको सुरक्षा जाँच हुन्छ।

कागजातहरू अध्यागमन काउन्टरमा पनि जाँच गरिन्छ। प्रत्येक यात्रुलाई उडान हुने समय तालिकाभन्दा कम्तीमा आधा घण्टा अगाडि बोर्डिङ गेटमा आइपुग्न सल्लाह दिइन्छ।

बोर्डिङ गेटमा फेरि एक पटक यात्रुहरू विमान चढ्नुअघि राहदानी र बोर्डिङ पास लगायत कागजात जाँच गरिन्छ।

उड्डयनका विज्ञ युसुफले गेटमा बोर्डिङ पास जाँच गर्ने ग्राउन्ड स्टाफ क्याथेका कर्मचारी हुने बताए।

‘उनीहरूले बोर्डिङ पास स्क्यान गर्नुअघि यात्रुको राहदानी हेर्छन्, उनीहरूलाई नियाल्छन् अनि मात्र भित्र पास गराउँछन्,’ युसुफले भने, ‘बिजनेस क्लासकै टिकट भए पनि उनीहरूले यो विधि पूरा गर्छन्।’

बिहीबारको घटना मानवीय त्रुटि भएको बताउने युसुफ क्याथेले घटनाको अनुसन्धान गर्ने आशा व्यक्त गरे।

‘क्याथेजस्तो एयरलाइन्सको लागि यस्तो कहिल्यै हुनुहुँदैन,’ उनी भन्छन्, ‘दोस्रो वा तेस्रो स्तरको एयरलाइन्सको हकमा यस्तो हुनसक्ला तर क्याथेमा यस्तो हुनु आश्चर्यजनक छ।’

कमजोरी के हो?
क्याथेका एक कर्मचारीले भनेअनुसार विगतमा क्याबिन क्रुले विमानको ढोकामा बोर्डिङ पास पनि जाँच गर्थे तर यो प्रक्रिया महिनौँदेखि हटेको छ।

यता क्याबिन क्रुका एक सदस्य भने बोर्डिङ गेटमा जाँच गरिने हुनाले विमानको ढोकामा पुनः जाँच गर्न जरुरी नरहेको बताउँछन्। नाम नबताउने सर्तमा उनी भन्छन्, ‘ग्राउन्ड स्टाफले गेटमा बोर्डिङ पास स्क्यान गरेपछि मात्र यात्रुहरू विमानमा जान सक्छन्। त्यसैले यात्रुहरूबीच सिट र डबल बुकिङको विवाद नभएसम्म थप जाँचको आवश्यकता पर्दैन।’

‘मेरो विचारमा यथास्थितिमा अब विमानको ढोकामा जाँच हुँदैन,’ उनी थप्छन्।

अर्कोतर्फ, उड्डयनका विज्ञ युसुफ बिहीबारको घटनामा कम्तीमा दुई तहमा असफलता भएको बताउँछन्। यात्रु गेटमा आइपुग्नुअघि राहदानी जाँच र बोर्डिङ पासपछि मात्र त्यहाँ पुग्ने हुनाले त्यतै असफलता देखिएको उनको धारणा छ।

‘ठूलो भए पनि नारितालाई प्रभावकारी विमानस्थलको रूपमा चिनिन्छ। टोकियोमा भएको घटना रहस्य हो,’ युसुफ भन्छन्।

यद्यपि, आफ्नो विमानमा सवार यात्रुका लागि गेटहरूमा जाँच गर्ने जिम्मेवारी एयरलाइन्सकै भएको उनी बताउँछन्।

यात्रुको कागजात जाँच गरिँदै (एससीएमपी)

हङकङमा इ–बोर्डिङ गेटले ११ वर्ष वा सोभन्दा माथिका यात्रुका लागि अनुहार पहिचान (फेसियल रिकग्निसन) टेक्नोलोजीको प्रयोग गर्दछ।

अब के होला?
हङकङको नागरिक उड्डयन विभागले आइतबार क्याथेलाई घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न भनेको छ।

यता क्याथेले भने उडान ढिलाइ र घटनाबाट पर्न गएको असुविधाप्रति यात्रुहरूसँग माफी मागेको छ।

हङकङ विमानस्थलमा पनि भएका थिए यस्ता घटना?
सन् २०१६ मा हङकङमा यसप्रकारका घटना धेरै भएका थिए।

२०१६ को अप्रिलमा, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको बोर्डिङ गेटमा रोकिनुअघि एउटी महिलाले बोर्डिङ पास/पासपोर्टविना तीन वटा सुरक्षा जाँच पार गरिन्।

त्यस्तै अर्को घटनामा, हङकङ एयरलाइन्समा उडान गर्ने ट्रान्जिट यात्रुले एयर ब्रिजको प्रतिबन्धित क्षेत्रमा ढोका खोलेका थिए।

यस्तै अर्को चाहिँ अप्रिलमै भएको हाइप्रोफाइल घटना थियो। जसमा तत्कालीन प्रमुख कार्यकारी लिउङ चुनले आफ्नी छोरीको झोला गैर–प्रतिबन्धित क्षेत्रबाट बन्द प्रस्थान क्षेत्रमा पुर्‍याउन एयरलाइन्सका कर्मचारीलाई दबाब दिएको आरोप लगाइएको थियो। यद्यपि, विमानस्थल प्राधिकरण र लेउङ दुवैले यसको खन्डन गरेका थिए।

यस्तै, सन् २०१८ मा सिंगापुर एयरलाइन्सका पाँच जना चालक दलका सदस्य सुरक्षा क्लियरेन्सविना प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका थिए। जसको कारण उडान लगभग तीन घन्टा ढिलो भएको थियो। (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .