हङकङको निर्माण क्षेत्रमा बढ्यो दुर्घटना, मंगलबार अर्को कामदारको मृत्यु

पछिल्लो ९ दिनमा मात्रै तीन जनाले ज्यान गुमाए
हङकङको निर्माण क्षेत्रमा बढ्यो दुर्घटना, मंगलबार अर्को कामदारको मृत्यु

क्वाइचिङ कन्टेनर टर्मिनलमा क्रेनको क्याबिनमा कामदार बेहोस भेटिएका हुन् (एससीएमपी)


नेपालखबर
पुस १७, २०८० मंगलबार २०:५५, हङकङ

हङकङको निर्माण क्षेत्रमा दुर्घटना तथा मृत्युका घटना बढिरहेका छन्। मंगलबार पनि एक ५८ वर्षीय कामदारको मृत्यु भएको छ।

क्वाइचिङ कन्टेनर टर्मिनलमा जमिनबाट २० फिटको उचाइमा रहेको क्रेनको क्याबिनमा बेहोस बनेका कामदारको मृत्यु भएको हो।

प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम एससीएमपीले जनाएअनुसार निर्माण क्षेत्रमा काम गर्ने अन्य सहकर्मीले उनलाई क्याबिनभित्र अचेत अवस्थामा फेला पारेका थिए।

सहकर्मीले खबर गरेपछि घटनास्थल पुगेका अग्निनियन्त्रकले उद्धार गरी पीडितलाई नजिकैको राजकुमारी मार्गरेट अस्पताल पुर्‍याएका थिए जहाँ उनलाई मृत घोषित गरियो।

मृतकमा मुटु रोगको समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि, मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी र श्रम विभागले घटनालाई औद्योगिक घटना भने भनेका छैनन्।

हङकङको निर्माण क्षेत्रमा नौ दिनको अवधिमा मंगलबार भएको  घटना तेस्रो हो।

गत बिहीबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कार्गो लोडरले किचेर ३३ वर्षीय कर्मचारीको मृत्यु भएको थियो।

त्यस्तै, क्रिसमसको दिन ताकु लिङको उत्तरपूर्वी न्यु टेरिटोरिज ल्यान्डफिलमा गार्बेज ट्रकले ठक्कर दिँदा एक कामदारको मृत्यु भएको थियो।

औद्योगिक दुर्घटना पीडितको पक्षमा वकालत गर्ने संस्था एसोसिएसन फर द राइट्स अफ इन्डस्ट्रियल एक्सिडेन्ट भिक्टिम्स (एआरआईएभी) लाई उद्धृत गर्दै एससीएमपीले उल्लेख गरेको छ, ‘गत वर्ष औद्योगिक दुर्घटनामा ज्यान गुमाउने २२ जनामध्ये १९ जना निर्माण उद्योगमा कार्यरत थिए।’

निर्माण क्षेत्रमा दुर्घटना बढ्दै जानुले सुरक्षा सतर्कता अपुग भएको बताउँदै एआरआईएभीले मजदुरलाई सुरक्षा तालिमको समयावधि बढाउनुपर्ने बताएको छ।

हाल ७.५ घण्टा मात्रै रहेको पूर्वरोजगार सुरक्षा तालिमको समयलाई बढाएर दुईदेखि तीन दिनसम्म पुर्‍याउनुपर्ने उसको सुझाव छ।

एआरआईएभीले प्रस्तुत गरेको श्रम विभागको तथ्याङ्कमा सन् २०२३ को पहिलो ६ महिनामा कामसँग सम्बन्धित १४५ जनाको मृत्यु भएको छ। यो संख्या २०२२ र २०२१ को सोही अवधिको तुलनामा बढी हो।

त्यस्तै, यसअघि भएका २० भन्दा बढी घातक दुर्घटनाको विश्लेषण गरेपछि निर्माण उद्योगका परिषद्का अध्यक्ष थोमस हो अनले उद्योगमा काम गर्ने कामदारको बानी र सुरक्षा संस्कृति प्रमुख कारक रहेको बताएका थिए।

सुरक्षा संस्कृतिमा सुधार हुनुपर्नेमा जोड दिँदै यसका लागि तीनदेखि पाँच वर्ष लाग्नसक्ने उनको धारणा थियो।

अध्यक्ष होले निर्माण क्षेत्रमा असल अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले फ्रन्टलाइनर म्यानेजर र कामदारलाई सुरक्षा व्यवस्थाप्रति सचेत रहे वापत् अंक दिने प्रणाली लागू गर्नेबारे निर्माण क्षेत्रसँग छलफल भइरहेको बताएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .