हङकङमा प्रहरीलाई झुटो सूचना दिने महिलाले पाइन् जेल सजाय

हङकङमा प्रहरीलाई झुटो सूचना दिने महिलाले पाइन् जेल सजाय

तस्बिर स्रोत : फोरस्क्वायर


नेपालखबर
माघ ४, २०८० बिहिबार १८:५४, हङकङ

हङकङमा ‘फायर अलार्म’को झुटो सूचना दिने एक महिलालाई चार हप्ताको जेल सजाय सुनाइएको छ।

झुटो सूचना दिई प्रहरीको अमूल्य समय बर्बाद गरेको आरोपमा ली यु-चिङ नामकी ३४ वर्षीया महिलालाई उक्त सजाय तोकिएको हो।

घटना १७ मे २०२३ को हो। त्यस दिन लीले ट्याक्सीबाट धुँवा निस्किरहेको रिपोर्ट साउकेइ वान फायर सर्भिस डिपार्टमेन्टमा गरेकी थिइन्।

उनको रिपोर्टपछि घटनास्थल पुगेको फायर फाइटरको टोलीले विनाघटना साढे पाँच घण्टा समय व्यर्थै खेर फाल्नुपरेको थियो।

झुटो सूचना दिएको पाइएपछि थालिएको अनुसन्धानबाट सूचना दिइएको फोन नम्बर लीको नाममा दर्ता भएको खुलेको थियो।

त्यसपछि उनीविरुद्ध झुटा सूचना दिई प्रहरी स्रोतको समय बर्बाद गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भयो।

अदालतसमक्ष लीले झुटो रिपोर्ट गरेको स्वीकार गरेपछि उनलाई चार हप्ताको जेल सजाय तोकिएको डिमसम डेलीमा समाचार छ।

मुद्दाको विवरणअनुसार लीका श्रीमान् साउकेइ वान फायर स्टेसनको फायर सर्भिस डिपार्टमेन्टको स्टाफ क्वार्टरमा बस्छन्।

१६ मे २०२३ को राति करिब १ बजे लीका श्रीमान्‌ले फायर स्टेसन बाहिर आफ्नो कार पार्क गरे। त्यहाँ अन्य कार पनि पार्किङ गरिएको थियो।

एक इन्टर्न फायर अफिसरले अनधिकृत पार्किङ देखेपछि उजुरी दिए। त्यसको केही समयपछि उजुरी गर्ने इन्टर्न अफिसरलाई एक अपरिचित महिलाको चेतावनीयुक्त फोन आयो। फोनमा उनले भनिन्, ‘यो खेल नखेल्नुहोस्। अन्यथा तपाईँको टोली समस्यामा पर्नेछ।’

भोलिपल्ट मध्यरातमा फायर कन्ट्रोल रुमलाई एक महिलाले फोन गरेर याचवोङ युन रोडमा ट्याक्सीबाट धुवाँ निस्किरहेको रिपोर्ट गरेकी थिइन्।

उनकै रिपोर्ट अनुसार उक्त स्थानमा पुगेका फायर फाइटरहरूले त्यहाँ कुनै घटना भेटेनन्। यसपछि झुटो रिपोर्ट गर्नेको खोजीमा प्रहरी जुटेको थियो।

महिलाले अघिल्लो दिनको प्रतिशोधस्वरुप झुटो रिपोर्ट दिएको देखिन्छ। जसको फन्दामा उनी आफैँ परेकी छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .