हङकङको नेपाल फाइनान्सले ल्यायो ‘लगानी अफर’

६ देखि १७ प्रतिशतसम्म ब्याज प्रस्ताव
हङकङको नेपाल फाइनान्सले ल्यायो ‘लगानी अफर’

नेपालखबर
माघ ६, २०८० शनिबार १२:५३, हङकङ

हङकङका नेपालीमाझ प्रिय रहेको नेपाल फाइनान्स लिमिटेडले विभिन्न शीर्षकमा लगानी अफर ल्याएको छ।

फाइनान्सकै भाषामा ‘पदोन्नति प्रस्ताव’ अनुसार सापटी कर्जा ६ देखि १७ प्रतिशतसम्म ब्याज आउने गरी लगानी गर्न सकिनेछ।

पाँच बुँदामा विभिन्न अफर सार्वजनिक गरेको फाइनान्सले ‘डिमान्ड लोन इन्भेस्टमेन्ट’ शीर्षकअन्तर्गत ६ प्रतिशत ब्याजदरमा एक हजारदेखि एक लाख हङकङ डलरसम्म लगानी गर्न सकिने प्रस्ताव ल्याएको छ। यसको अर्को फाइदा लगानीकर्ताले जुनसुकै समयमै आफ्नो खातामा रहेको रकम विनाअतिरिक्त शुल्क झिक्न सक्नेछन्।

त्यस्तै अर्को अफरमा ‘मन्थ्ली इन्फो इन्भेस्टमेन्ट’ रहेको छ। यो शीर्षकमा लगानीकर्ताले ८ प्रतिशत ब्याजदरमा ५० हजारदेखि पाँच लाख हङकङ डलर लगानी गर्न सक्नेछन्।

यो लगानीअन्तर्गत खातामा राखिएको रकम झिक्नुपरेमा फाइनान्सलाई आधिकारिक जानकारी गराएको एक महिनापछि झिक्न पाइने फाइनान्सका अध्यक्ष एवं सीईओ धिरजकुमार राईले नेपालखबरलाई बताए।

‘जस्तै, तपाईं एक महिनाका लागि काठमाडौँबाट धरान जाँदै हुनुहुन्छ। तपाईँसँग भएको रकम लगानी गरेर जाऊँ भन्ने सोच्नुभयो भने ‘मन्थ्ली इन्फो इन्भेस्टमेन्ट’ योजना अन्तर्गत फाइनान्समा राखेमा तपाईँलाई ८ प्रतिशत ब्याज आउनेछ र एक महिनापछि काठमाडौँ फर्केर विनाअतिरिक्त शुल्क आफ्नो सम्पूर्ण रकम झिक्न पाउनुहुनेछ,’ योजनाको बारेमा अर्थ्याउँदै अध्यक्ष राईले भने, ‘अझ यसरी पनि बुझ्न सकियो- तपाईँले यो योजना अन्तर्गत राखेको रकम एक महिनाको पूर्वजानकारी दिएर विनाअतिरिक्त शुल्क झिक्न पाउनुहुनेछ।’

यदि एक महिनाको पूर्वसूचना नदिई बीचैमा रकम झिक्नुपरेमा भने निश्चित शुल्क तिर्नुपर्ने अध्यक्ष राईले बताए।

तेस्रो नम्बर अफरमा मासिक किस्ता लगानी (मन्थ्ली इन्स्टलमेन्ट इन्भेस्टमेन्ट) रहेको छ।

यो अफरअन्तर्गत १० प्रतिशत ब्याजदरमा १ वर्षसम्मका लागि न्यूनतम एक लाख हङकङ डलर लगानी गर्न सकिनेछ।

यसको आकर्षक पक्ष भनेको लगानीकर्ताले मासिक रूपमा रकम भुक्तानी गर्न पाउनेछन्।

अध्यक्ष राई प्रष्ट्याउँछन्, ‘जस्तै, एक वर्षको लागि एक लाख लगानी गर्दा मासिक रूपमा ८ हजार ३३३ हङकङ डलर जम्मा गर्न सकिन्छ।’

चौथो नम्बरमा मासिक ब्याज लगानी (मन्थ्ली इन्टेरेस्ट इन्भेस्टमेन्ट) रहेको छ। यसको ब्याजदर १२ प्रतिशत रहेको छ भने लगानीकर्ताले मासिक रूपमा ब्याज पाउनेछन्।

यो अफरको लगानीयोग्य रकम एक वर्षका लागि न्यूनतम एक लाख हङकङ डलर रहेको छ।

त्यसैगरी पाँचौँ नम्बर बुँदामा निश्चित अवधिको लगानी (फिक्स्ड टर्म इन्भेस्टमेन्ट) रहेको छ।

जसअन्तर्गत ६ महिना वा सोभन्दा माथि र एक वर्षभन्दा कम अवधिको लागि लगानी गर्नेले १३ प्रतिशत ब्याज पाउनेछन्।

१ वर्ष वा सोभन्दा माथि र २ वर्षभन्दा कम अवधिको लागि लगानी गर्नेले १४ प्रतिशत ब्याज पाउनेछन्।

त्यस्तै, २ वर्ष वा सोभन्दा माथि र ३ वर्षभन्दा कम अवधिको लागि लगानी गर्नेले १५ प्रतिशत ब्याज पाउनेछन्।

३ वर्ष वा सोभन्दा माथि र ४ वर्षभन्दा कम अवधिको लागि लगानी गर्नेले १६ प्रतिशत ब्याज पाउनेछन्।

त्यसैगरी, ४ वर्ष वा सोभन्दा धेरै अवधिको लागि लगानी गर्नेले १७ प्रतिशत ब्याज पाउनेछन्।

बजारमा छरिएर रहेको लगानीयोग्य रकमलाई एकत्रित गर्ने उद्देश्यले संस्थाले यस्तो योजना ल्याएको अध्यक्ष राई बताउँछन्।

यसका साथै, लगानी गर्न इच्छुक ग्राहकलाई पनि थोरै रकम लगानी गरेर आकर्षक ब्याज आउने हुँदा संस्था र ग्राहक दुवैलाई फाइदा पुग्ने विश्वास रहेको राईले बताए।

सन् २००७ मा केही नेपालीको सक्रियतामा नेपाल ग्रोथ फन्ड नामबाट आर्थिक कारोबार थालेको नेपाल फाइनान्सले सन् २०११ मा व्यावसायिक लाइसेन्स प्राप्त गरी गतिविधि सञ्चालन गरिरहेको छ।

घरजग्गा, रेमिट्यान्स, रेस्टुरेन्ट, विविध कर्जा प्रवाह लगायत कारोबार गरिरहेको फाइनान्सको व्यवसाय विस्तार गर्ने क्रममा नेपालमा समेत शाखा खोलिएको अध्यक्ष राईले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .