चिनियाँ नयाँ वर्षमा हङकङका नेपालीलाई सौगात : ‘एलजी नाइट १६’

नेपालबाट आउँदैछ २२ जना कलाकारको ‘जम्बो टोली’
चिनियाँ नयाँ वर्षमा हङकङका नेपालीलाई सौगात : ‘एलजी नाइट १६’

विपेन्द्र घिमिरे
माघ १५, २०८० सोमबार १३:२६,

चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को छेको पारेर हङकङमा ‘एलजी नाइट १६’ हुने भएको छ।

हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले आयोजना गर्न लागेको उक्त कार्यक्रम फेब्रुअरी ११ मा हुनेछ।

कार्यक्रममा मनोज गजुरेल, जितु नेपाल, प्रमोद खरेल, प्रकाश सपुत, चिज गुरुङ, देवी आले, समर्पण लामा, कविता नेपाली, साजन सिंह लगायत २२ जना कलाकारको टोली सहभागी हुने आयोजक चेतन गुरुङले नेपालखबरलाई बताए।

विशाल गुरुङ, चेतन गुरुङ, हिमाल राना लगायत हङकङका जुझारु नेपाली युवाले सन् २००४ मा हङकङमा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए।

संस्थाले स्थापनापछि हरेक वर्ष चिनियाँ नयाँ वर्षको अवसर पारेर हङकङमा ‘लालीगुराँस नाइट’ आयोजना गर्दै आइरहेको छ।

कोभिड–१९ महामारीका कारणले बीचमा चार वर्ष भने कार्यक्रम हुन सकेन। अन्तिम पटक सन् २०१९ मा १५औँ एलजी नाइट सम्पन्न गरेको संस्थाले यसपटक १६औँ संस्करण प्रस्तुत गर्दैछ।

महामारीबाट बाहिर निस्कँदै गरेको अवस्थामा यस पटकको कार्यक्रम पनि विगतमा झैँ भव्य रूपमा सम्पन्न गर्ने तयारीमा आयोजक संस्था जुटेको छ।

यसको छनक देखिइ पनि सकेको आयोजक गुरुङ बताउँछन्। ‘कार्यक्रम हुन करिब एक महिना बाँकी छँदै सबै टिकट बिक्री भइसक्यो,’ गुरुङ भन्छन्, ‘यो भनेको हङकङका नेपाली एलजी नाइटको व्यग्र प्रतीक्षामा छन् भन्ने शुभ संकेत हो।’

विदेशी भूमिमा आफ्नो कला–संस्कृतिलाई जोगाइराख्ने संस्थाले मूल ध्येय राखेको छ। चिनियाँ नयाँ वर्षमा हुने लामो बिदामा चिनियाँहरू आफ्नो संस्कृतिमा रमाइरहँदा नेपालीले पनि आफ्नै संस्कृतिमा रमेर बिदा मनाऊन् भन्ने उद्देश्य संस्थाले राखेको छ।

‘नेपाली कला, संस्कृति, भेषभूषा तथा परम्परालाई विदेशी भूमिमा प्रचारप्रसार गर्ने संस्थाको मूल लक्ष्य हो,’ आयोजक गुरुङले भने, ‘नयाँ वर्षमा यहाँ तीन दिन सार्वजनिक बिदा हुन्छ। चिनियाँहरू नयाँ वर्षलाई धुमधामका साथ मनाउँछन्। यही अवसरमा हङकङका नेपाली दाजुभाइ, दिदीबहिनीलाई मनोरञ्जन होस् र नयाँ पुस्तामा हाम्रो कला–संस्कृति विस्तार होस् भन्ने संस्थाले उद्देश्य राखेको छ।’

कार्यक्रमबाट भएको अर्थोपार्जन नेपालका परोपकारी संस्थामार्फत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको उनी बताउँछन्।

यस्तो रकम स्थापना कालदेखि नै नेपालमा रहेका दीनदुःखीलाई सहयोग गर्नेदेखि लिएर ठूला–ठूला विपत्तिमा सहयोग गर्ने गरेको  गुरुङ स्मरण गर्छन्।

२०७२ सालको भूकम्पको बेला धेरै प्रभावित क्षेत्र गोरखा, धादिङ तथा सिन्धुपाल्चोकमा संस्थाले राहत वितरण गरेको थियो। त्यस्तै, पोखरा तथा दमौलीमा उपचाररत भूकम्पपीडित घाइतेलाई औषधोपचारको व्यवस्था गरेको थियो।

त्यतिखेर विभिन्न शीर्षकमा संस्थाले २ करोड रुपैयाँ खर्च गरेको गुरुङ बताउँछन्। त्यो रकममध्ये केही कार्यक्रमबाट बचेको पैसा र बढी मात्रामा चन्दामार्फत जुटाइ सहयोग गरेको उनको भनाइ छ।

यस पटक पनि संकलित रकमबाट सबै खर्च कटाइ बचेको पैसा परोपकारी संस्थालाई सहयोग गर्ने योजना रहेको उनले बताए।

लालीगुराँस नाइटमा नेपालको कलाकारिता क्षेत्रमा चर्चा कमाएका साथै, भारतबाट ख्याति कमाउन सफल नेपाली कलाकारलाई पनि समेट्ने गरिएको गुरुङ बताउँछन्।

यसपटकको कार्यक्रममा आउने २२ जना कलाकारको टिममा भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामा र इन्डिया डान्सबाटै चर्चामा आएका साजन सिंह पनि सहभागी हुनेछन्।

साजनको एलजी नाइटमा यो तेस्रो आगमन हुनेछ। त्यस्तै, चितवनको रत्ननगर नगरपालिका–१३ निवासी समर्पण लामाले गत असोजमा ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ को उपाधि हात पारेका थिए।

त्यस्तै, नेपाली कलाकारहरू कविता नेपाली र प्रगति पुनको नृत्य पनि दर्शकले हेर्न पाउनेछन्। टेलिभिजन रियालिटी शो ‘बुगीवुगी’को पहिलो सिजनकी विजेता कविताले यसअघिका दुईवटा कार्यक्रममा पनि हङकङका दर्शकसामु आफ्नो नृत्य देखाइसकेकी छन्। ‘बुगीवुगी’को पहिलो सिजन सन् २०१८ (वि.सं.२०७५)मा भएको थियो।

त्यसो त नेपालमा चर्चामा रहेका करिब ९० प्रतिशत कलाकारले एलजी नाइटमा आफ्नो प्रस्तुति दिइसकेको आयोजक गुरुङ बताउँछन्।

चर्चित ब्यान्ड नेपथ्य, मह जोडीले तीन पटकसम्म यसै कार्यक्रममार्फत हङकङेली नेपालीलाई मनोरञ्जन दिइसकेका छन्। मनोज गजुरेल र प्रकाश सपुतको पनि यो दोस्रो प्रस्तुति हुनेछ।

कार्यक्रममा कलाकारहरूद्वारा दोहोरी, आधुनिक, पप गीत गुन्जनेछन्। हास्यकलाकारको व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शकलाई हँसाउनेछ।

युनलङ थिएटरमा हुने कार्यक्रम बेलुका साढे सात बजेबाट सुरु हुनेछ। प्रवेश शुल्क साधारणतर्फ तीन सय हङकङ डलर रहेको छ भने भीआईपी पाँच सय र भीभीआईपीको एक हजार हङकङ डलर छ।

जितु नेपालले गर्नेछन् कार्यक्रम सञ्चालन
यसअघिका कार्यक्रममा झैँ यसपटक पनि कार्यक्रम सञ्चालनको जिम्मेवारी जितु नेपालले नै बहन गर्नेछन्।

उनले सन् २००५ देखि निरन्तर रूपमा कार्यक्रम होस्ट गर्दै आइरहेका छन्।

हङकङलाई आफ्नो ‘दोस्रो घर’को संज्ञा दिने नेपाल विदेशमा हुने कार्यक्रमहरूमध्ये यो उत्कृष्ट रहेको बताउँछन्।

महामारीका कारण केही वर्ष रोकिएर फेरि कार्यक्रम हुन लाग्दा आफू अति नै उत्साहित भइरहेको बताउने उनी अबको कार्यक्रममा नयाँ प्रकारका सामग्री प्रस्तुत गर्ने तरखरमा छन्।

‘कार्यक्रमको होस्ट हुनुका नाताले प्रोग्राम सेडुअल बनाउने, प्रस्तुत गर्ने, समय निर्धारण गर्नेदेखि लिएर सबै जिम्मेवारी मैले नै निर्वाह गर्ने गरेको छु,’ नेपाल भन्छन्, ‘यसैले पनि आगामी कार्यक्रमको लागि म अति नै उत्साहित छु।’

हङकङ जान नपाउँदा आफू ‘सिक’ हुने गरेको बताउने उनी यहाँका हरेक बाटो याद रहेको बताउँछन्।

हङकङका दर्शकले आफूलाई एकदम माया गर्ने गरेको सुनाउने नेपाल युनलङका कर्मचारीले समेत आफूलाई चिन्ने गरेको स्मरण गर्छन्।

‘यतिसम्म कि, एमसी जितु नै होला भनेर माइकको उचाइ मेरै साइजमा बनाएर राखिदिएका हुन्छन्,’ जितु भन्छन्, ‘माइकमा ‘एमसी जितु’ भनेर लेखिदिएको हुन्छ। यो मेरो जीवनको ठूलो उपलब्धि हो।’

एलजी नाइटमा हाँसो, पपगीत, लाइभ ब्यान्ड, आधुनिक गीत, दोहोरी गीत लगायत भारतीय रियालिटी शोहरूमा उत्कृष्ट नेपालीमूलका प्रतिभा पनि समेटिने भएकोले यो कार्यक्रमले संसारभरमै सकारात्मक सन्देश दिने उनको धारणा छ।

तस्बिर : जितु नेपालको फेसबुक पेज

यतिखेर अमेरिकाको लस भेगासमा रहेका उनी अब कोभिडबाट उठेर आर्थिक/सामाजिक क्षेत्र लयमा फर्कन थालेको अनुभूति भएको  बताउँछन्। यसैको प्रतिफलस्वरुप एलजी नाइटले निरन्तरता पाउन लागेको उनलाई लाग्छ।

एलजी नाइटमा सहभागी कलाकारहरूले सम्मानित भएर फर्कन पाउने भएकोले पनि यो स्टेज कलाकारहरूका लागि एकदम महत्त्वपूर्ण रहेको उनको बुझाइ छ।

यसका लागि आयोजक राम्रा हुनुपर्ने र ‘राम्रा’ आयोजक भएकैले एलजी नाइट विश्वमै ‘उत्कृष्ट ब्रान्ड’ हुन सकेको उनको ठहर छ।

एउटा कलाकारले ब्रान्डेड मञ्चमा स्थान पाउनु भनेको कलाकारका लागि अर्थपूर्ण रहने नेपाल बताउँछन्।

हङकङमा मात्रै सीमित छैन ‘एलजी नाइट’
एलजी नाइट १६ का लागि कलाकारहरू १० फेब्रुअरीमा हङकङ आइपुग्नेछन्। ४ दिनसम्म हङकङमा रहने कलाकारको पारिश्रमिकदेखि आउजाउ र हङकङमा रहँदाको खर्च ४ लाख हङकङ डलर हुने अनुमान गरिएको आयोजक चेतन गुरुङ बताउँछन्।

स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय हङकङमा मात्र सीमित छैन।

केही वर्षदेखि अस्ट्रेलिया, यूके, मकाउ, जापान लगायतका देशमा पनि ‘एलजी नाइट’ हुँदै आएको छ।

दुई महिनाअगाडि यूकेमा भयो। आगामी वैशाख १ गते नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलिया र वैशाख १ मै लालीगुराँस एसोसिएसन र एनआरएनए मकाउको संयुक्त आयोजनामा ‘एलजी नाइट’ हुने तय भएको संस्थाका संस्थापक गुरुङले बताए।

त्यस्तै, यसै वर्ष जापानमा पनि कार्यक्रम हुनेछ। अमेरिकाको लागि पनि तयारी भइरहेको गुरुङ बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .