हङकङमा सकियो नयाँ वर्ष उत्सव : एलजी, एभरेष्ट र रोधी साँझमा रमाए नेपाली

हङकङमा सकियो नयाँ वर्ष उत्सव : एलजी, एभरेष्ट र रोधी साँझमा रमाए नेपाली

एभरेष्ट नाइटकी होस्ट दीपमाला ढकाल


नेपालखबर
फागुन २, २०८० बुधबार २१:१६, हङकङ

चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)मा झुमेको हङकङ भोलिदेखि नियमित काममा फर्कनेछ।

चिनियाँहरू नयाँ वर्षलाई धुमधामका साथ मनाउने गर्छन्।

पछिल्लो समय चीनमा एक हप्ता तथा हङकङ र मकाउमा तीन/तीन दिन नयाँ वर्षको बिदा हुने गरेको छ।

यस पटक भने नियमित बिदा समेत थपिएकोले चार दिन बिदा भयो।

यो बिदा आज सकिँदैछ। नयाँ वर्षलाई धुमधामका साथ मनाउने चिनियाँ परम्पराअनुसार स्थानीय प्रकृतिका विभिन्न कार्यक्रम त भएकै थिए।

हङकङमा रहेका नेपालीले पनि यसलाई विभिन्न कार्यक्रम गरी विशेष बनाएका छन्।

खासगरी नेपालबाट कलाकार बोलाई तीन ठूला कार्यक्रम भए। जसले हङकङका नेपालीलाई आफ्नो संस्कृतिसँग साक्षात्कार गराए।

एलजी नाइट–१६
फेब्रुअरी ११ मा लालीगुराँस एसोसिएसनले एलजी नाइट–१६ को आयोजना गर्‍यो।

प्रत्येक वर्ष चिनियाँ नयाँ वर्षको अवसरमा पारेर कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनले यस पटक १६औँ संस्करण पस्केको हो।

कार्यक्रमका लागि नेपालबाट आएका २२ जना कलाकारले प्रस्तुति दिएका थिए।

युनलङ थिएटरमा भएको कार्यक्रममा दर्शक खचाखच भएको आयोजकमध्येका एक चेतन गुरुङले नेपालखबरलाई बताए। कतिपय दर्शक टिकट नपाएर फर्केको उनी बताउँछन्। गुरुङका अनुसार १ महिना अगावै टिकट बिक्री भइसकेको थियो। युनलङ थिएटरको क्षमता पुगनपुग हजार मात्रै हो।

नेपालबाट आएका कलाकार जितु नेपालले सञ्चालन गरेको कार्यक्रममा मनोज गजुरेल, प्रमोद खरेल, प्रकाश सपुत, चिज गुरुङ, देवी आले, समर्पण लामा, कविता नेपाली, साजन सिंह लगायतका कलाकारले प्रस्तुति दिएका थिए।

एलजी नाइट हङकङमा नेपालका चर्चित कलाकार बोलाई कार्यक्रम गरिने भने परिचित छ। यसैले त यसको टिकट झन्डै एक महिना अगाडि नै बुक भइसक्छ भने नेपालका कलाकार पनि यो कार्यक्रममा जानका लागि लालायति हुन्छन्।

लालीगुराँस एसोसिएसनका संस्थापकमध्येका एक चेतन गुरुङ एलजी नाइटमा अहिलेसम्म नेपालका चर्चित अनुहारहरू ९० प्रतिशत आइसकेको दाबी नै गर्छन्।

एभरेष्ट नाइट
नेपाल हङकङ सोसाइटीले आयोजना गरेको एभरेष्ट नाइट पनि ११ फेब्रुअरीकै दिन भएको थियो।

क्विन एलिजाबेथ स्टेडियममा भएको कार्यक्रममा प्रस्तुति दिनका लागि नेपालबाट कलाकार आएका थिए।

तीन हजारभन्दा बढी दर्शकको क्षमता रहेको स्टेडियम राजेश पायल राई, सुशान्त केसी, समीर श्रेष्ठ, नोगेन लिम्बू, दिक एस तामाङ, कमेडियन विकी अग्रवाल लगायतका कलाकारले प्रस्तुति दिएका थिए।

रोधी साँझ
तमु ट्हो ह्युलले आयोजना गरेको रोधी साँझ फेब्रुअरी १२ मा भएको थियो।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवारले तमु संस्कृति झल्कने विभिन्न नाच र कार्यक्रम सहित हङकङेली नेपालीलाई मनोरञ्जन दिएको थियो।

युनलङ थिएटरमा भएको कार्यक्रममा नेपालबाट आएका हिमाली सांस्कृतिक परिवारका कलाकारले घाटु, सोरठी, कौरा लगायतका गुरुङ संस्कृति झल्कने नाच प्रस्तुत गरेका थिए।  कार्यक्रमका लागि संस्थाका २२ जना कलाकार हङकङ आएका थिए।

गुरुङ जातिको भाषा, संस्कृति, परम्परा, भेषभूषा, धर्म, संस्कार, रीतिथिति, कला र मौलिकतालाई संरक्षण एवं संवर्धन गर्ने उद्देश्यले संस्थाले सन् २००० देखि रोधी साँझ आयोजना गर्दै आइरहेको छ।

विदेशमा रहेर पनि आफ्नो कला संस्कृति नमरोस् भन्ने उद्देश्यले हरेक कार्यसमितिको पालामा कार्यक्रम गर्ने संस्थाले उद्देश्य राखेको आयोजक संस्था तमु ट्हो ह्युलका अध्यक्ष विजयकुमार गुरुङले नेपालखबरलाई बताए।

त्यसैको निरन्तरता स्वरुप नवौँ रोधी साँझ भएको हो।

कार्यक्रमलाई साढे पाँच सय जति दर्शकले प्रत्यक्ष हेरेर मनोरन्जन लिएको भए पनि यो संख्या आफूहरूले सोचेको भन्दा कम भएको अध्यक्ष गुरुङ बताउँछन्।

‘नयाँ वर्षको अवसरमा हङकङमा अन्य कार्यक्रम पनि भएकोले दर्शकको उपस्थितिमा असर गर्‍यो,’ अध्यक्ष गुरुङ भन्छन्, ‘कार्यक्रम राति थियो। जाडोको समय, त्यसैले पनि कम भयो होला।’

रोधी साँझका लागि नेपालबाट आएका कलाकार १७ फेब्रुअरीमा नेपाल फर्कनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .