हङकङमा मेस्सीको ‘नो शो’ : यसरी पाइनेछ टिकटको रकम फिर्ता

हङकङमा मेस्सीको ‘नो शो’ : यसरी पाइनेछ टिकटको रकम फिर्ता

गत महिनाको खेलमा दर्शकको भीड (एससीएमपी), इन्सेटमा मेस्सी


नेपालखबर
चैत ५, २०८० सोमबार १७:४०, हङकङ

गत महिना हङकङमा भएको खेलमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी नखेलेकोप्रति निराश समर्थकले अन्ततः टिकटको ५० प्रतिशत फिर्ता पाउने भएका छन्। केही दर्शकले प्रतिटिकट ४ हजार आठ सय ८० हङकङ डलरसम्म तिरेका थिए।

खेलको आयोजक ट्याटलर एसियाले सोमबार घोषणा गर्दै रकम प्राप्त गर्ने सर्त र नियमबारे अवगत गराएको हो।

टिकट खरिदकर्ताले भविष्यमा यस सम्बन्धमा अन्य कुनै कानुनी उजुरी गर्न नपाउने सर्तमा आधा रकम फिर्ता पाउने भएका हुन्।

आयोजक ट्याटलरले जानकारी गराएअनुसार आधिकारिक च्यानलमार्फत टिकट किन्नेहरूले कसरी फिर्ताको दाबी गर्ने भन्ने विवरण इमेलमा प्राप्त गर्नेछन्।

आधिकारिक प्लेटफर्म क्लोकमार्फत टिकट खरिद गर्नेहरूले इमेलको जवाफ दिन र फिर्ताको लागि नियम र सर्तहरू स्वीकार गर्न अप्रिल १२ सम्मको समय पाउनेछन्।

आयोजकका अनुसार यो ‘डेडलाइन’को ३० दिन प्रशोधनको समय रहनेछ भने खरिदकर्ताले पैसा फिर्ता पाउने मिति उनीहरूको बैंकको नीतिअनुसार फरक पर्न सक्नेछ।

त्यस्तै, ट्याटलर एसियासँग टिकट खरिद गर्ने ग्राहक, अन्य कार्यक्रम प्रायोजक र साझेदारहरूलाई खाता प्रबन्धकले नै सिधा सम्पर्क गर्नेछन्।

आयोजकले राखेको एउटा सर्तमा यो पनि छ कि– जसले पहिले नै क्लोकसँग दाबी, उजुरी वा भुक्तानी रिभर्सल सुरु गरिसकेका छन्, उनीहरूले त्यो रद्द नगरेसम्म यो स्किमअनुसार रकम प्राप्त गर्ने छैनन्।

फेब्रुअरी ४ मा हङकङमा भएको खेल हेर्न मेस्सीका समर्थक मुख्यभूमि चीन, अस्ट्रेलिया लगायतका ठाउँबाट आएका थिए। तर, तिघ्राको चोटका कारण हङकङमा खेल्न नसकेको जानकारी गराइएका मेस्सी त्यसको केही दिनपछि जापानमा भएको खेलमा सहभागी भएपछि प्रशसंकहरू थप क्रोधित बनेका थिए।

रकम फिर्ता गर्दा आयोजक ट्याटलरले कार्यक्रमबाट कमाइ भएको अलावा थप ४३ अर्ब हङकङ डलर थप आर्थिक भार बेहोर्ने आँकलन गरिएको स्रोतलाई उद्र्धत गर्दै स्थानीय मिडिया आउटलेट एससीएमपीले लेखेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .